१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गिठ्ठाले तान्यो ग्राहक

प्रताप विष्ट

मनहरी — विशेषगरी चेपाङले मात्र खाने गिठ्ठा यसरी बिक्ला भनेर उनले सोचेकै थिएनन् । आयोजकहरूले मेलामा बिक्रीका लागि उसिनेको गिठ्ठा राख्न अनुरोध गरे ।

गिठ्ठाले तान्यो ग्राहक

मकवानपुर मनहरीका पूर्णबहादुर चेपाङले २ हजार रुपैयाँ लगानी गरेर राक्सिराङ गाउँपालिकास्थित काँकडाको दुर्गम बस्तीबाट २ बोरा गिठ्ठा ल्याएका थिए । आइतबारदेखि उनले उसिनेको गिठ्ठा मनहरीमा सञ्चालित मेलामा बिक्रीका लागि राखे ।


‘पहिलो दिनमै ३५ सयको उसिनेको गिठ्ठा बिक्री गरे । सोमबार ४५ सयको बिक्री गरे । मंगलबार ५ हजार रुपैयाँ बिक्री भयो, वुधबार पनि ५ हजारको हाराहारीमा बिक्री हुने छाँटकाँट छ,’ पूर्णले भने ।


घरमा गिठ्ठा ताछेर चाना बनाएर खरानी हालेको तातोपानीमा उसिनेर बिक्रीका लागि ल्याउने गरेका छन् । एक प्लेट गिठ्ठा उनले सय रुपैयाँमा बिक्री गरेका छन् । मनहरी महोत्सवमा छिर्ने बितिक्कैको स्टलमा उसिनेको गिठ्ठासहित चेपाङले उत्पादन गरेका मह, जाबी झोला, मास, गहत राखिएका छन् । उसिनेको गिठ्ठाले मेलाका अवलोकनकर्ताहरूलाई आकर्षित गरेको छ ।


‘गिठ्ठा भनेर सुनिएको थियो, तर खाइएको थिएन, मेलामा खाइयो,’ हेटौंडा नवलपुरका सुन्दर नगरकोटीले भने, ‘गिठ्ठा मीठो हुने भएर चेपाङहरूले खाएका रहेछन् ।’


चार दिनमा २ बोरा गिठ्ठा सकिन लागेको सुनाउँदै अब फेरि गाउँबाट झिकाउनुपर्ने उनले बताए । यसरी उसिनेका गिठ्ठा बिक्री होला भन्ने उनले सोचेकै थिएनन् । ‘गिठ्ठाले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ, खानुहोस्’ भन्दै स्टलमा आएकाहरूलाई उनी अनुरोधसमेत गर्छन् । चेपाङ निरोगी भएको गिठ्ठा खाएर हो भन्दै अरूलाई पनि खान आग्रहसमेत गर्छन् । मेलामा आएकाहरूले आफूले मात्र खाँदैनन्, परिवारलाई किनेर घरमा पनि लैजाने गरेका छन् । अधिकांश चेपाङ समुदाय वर्ष दिनमा ९ महिना गिठ्ठा लगायत कन्दमूल खाएर प्राण धान्ने गर्छन् ।


मनहरी महोत्सव आयोजक समितिका संयोजक गोविन्द रिजालले महोत्सवको महत्त्वपूर्ण आकर्षण उसिनेको गिठ्ठा भएको बताए । स्थानीय उत्पादित वस्तुहरू उपभोक्तामाझ पहिचान गराउने उद्देश्यले शुक्रबारदेखि आयोजित महोत्सवमा स्थानीय उत्पादित वस्तुहरूको केही स्टल छन् । पुस २ गतेसम्म सञ्चालन हुने उक्त मेलामा २ सय १५ वटा स्टल छन् । मेलाको एक लाखले अवलोकन गर्ने र ७ करोड बराबरको व्यापार हुने आयोजकको अनुमान छ ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?