कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कालोपत्रे गरिँदै तीन सडक

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्लामा कार्यालय स्थापना भएको साता नबित्दै प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय रामेछापले जिल्लाका महत्त्वपूर्ण ३ वटा सडकको निर्माण प्रक्रिया अघि बढाएको छ ।

वर्षाैंदेखि चुनावी एजेन्टा बन्दै आएका जिल्लाका प्रमुख २ वटा सडकसहित ३ वटा सडक कालोपत्रे गर्न उक्त कार्यालयले बोलपत्र आहान गरेको हो ।

प्रदेश सरकारको चालू आर्थिक वर्षको कार्यक्रमबाट उक्त सडकहरूको सुधार प्रक्रिया अघि बढेको हो । तीमध्ये मन्थली गाल्वा र भीरपानी पकरवास धुलेबेंसी सडक महत्त्वपूर्ण सडकको रूपमा रहेका छन् । त्यसैगरी सानीमदौ हुँदै सालु जोड्ने सडक तयार भएपछि पूर्वी रामेछापतर्फको दूरी छोट्टिनेछ ।

पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख जयराम श्रेष्ठका अनुसार मन्थली–सानीमदौ– रालटार–सामलिस्थान–सालु सडक, सित्खा–पकरवास–धुलेबेंसी सडक र मन्थली–गाल्वा सडकको कालोपत्रे हुन लागेको हो । चालू आर्थिक वर्षमा उक्त तीन वटा सडकका लागि ५१ करोड रुपैयाँ विनियोजित भएको छ ।

डीबीएसटी प्रविधिमा कोलोपत्रे हुने तीनवटै सडक करिब ७.२५ मिटर चौडा हुने छन् । त्यसमा कालोपत्रेको भाग साढे ५ मिटर रहने छ । कार्यालयले आहान गरेको बोलपत्र स्वीकृत भएपछि निर्माण प्रक्रिया थालनी गरी आगामी दुई वर्षभित्र उक्त सडकहरूको करिब २५ किलोमिटर भाग कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । उक्त योजना क्रमागत हो । आगामी वर्षमा आउने बजेटले थप काम गर्दै सडक पूरा गर्ने श्रेष्ठले जनाएका छन् ।

उक्त कार्यालयले जिल्लाका अन्य ३ वटा सडक र ३ वटा पुलको निर्माण कार्यमा पनि प्रक्रिया थालेको छ । योजनाहरूको भने विस्तृत परियोजना तयार भइसकेको छैन । ‘मन्त्रालयले डीपीआर तयार गर्दै छ, त्यो पूरा भएपछि उक्त योजनाहरूसमेत कार्यान्वयनको चरणमा जाने छन्,’ श्रेष्ठले भने ।

रामेछाप जिल्लामा हालसम्म जिल्ला सदरमुकाम जोड्ने ३५ किलोमिटर र मन्थलीदेखि रामेछाप सम्मको १३ किलोमिटर सडक मात्र कालोपत्रे भएका छन । जिल्लामा झन्डै ५ हजार किलोमिटर कच्ची सडक रहेको तथ्यांक छ । हिउँद याममा प्राय: सबै सडकमा यातायातका साधन गुडे पनि वर्षायाममा रामेछापका दर्जनभन्दा बढी सडकमा यातायातका साधन गुडाउन सकिँदैन ।

स्थानीय सरकारका रूपमा रहेका नगरपालिका र गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सडकहरूको सुधार गर्ने नाममा माटो खन्ने र पुर्नेबाहेक अन्य कार्य गर्न सकेका छैनन् । सडक सुदृढीकरणका नाममा चौडा पार्ने काम र माटो पुरपार गर्ने काममा स्थानीय सरकारको दुई वर्षको बजेट सकिएको छ ।

संघीय सरकारअन्तर्गतको सडक विभागले कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएका दुई प्रमुख सडकको काम अलपत्र परेको छ । मन्थली नाटिला गेलु र खिम्ती बेताली चुचुरे सडक ठेक्का लागेर पनि काम हुन नसकेको हो । संघ र प्रदेशको अधिकार क्षेत्र बाँडफाँडले उक्त दुवै सडकमा यो आर्थिक वर्षमा बजेट विनियोजन हुन नसकेकाले काम रोकिएको हो ।

यस्तै, प्रदेश सरकारकै घरेलु विकास समिति र सिँचाइ विकास डिभिजनले पनि पूर्वाधारको काम सुरु गरेका छन् । जिल्लामा वन डिभिजन, खानेपानी र स्वास्थ्य कार्यालसमेत प्रदेश सरकारले स्थापना गरेको छ । सुक्खा क्षेत्रमा पर्ने रामेछापमा खानेपानीको काम भने सुरु भइसकेको छैन ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?