कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राष्ट्र बैंक पुरानै स्वरूपमा

पुरानो भवनअगाडिको खाली ठाउँमा अन्डरग्राउन्ड पार्किङ हुनेछ भने त्यसमाथि गार्डेन बनाइनेछ
विमल खतिवडा

काठमाडौँ — नेपाल राष्ट्र बैंकको थापाथली र बालुवाटारमा बन्ने नयाँ भवनको अघिल्लो भाग पुरानै स्वरूपमा बनाइने भएको छ ।

राष्ट्र बैंक पुरानै स्वरूपमा

असोजमा निर्माण सुरु भएको थापाथली भवनको फाउन्डेसनको काम भइरहेको छ भने ठेक्काको निर्णय हुन नसकेपछि बालुवाटार भवनको निर्माण अन्योलमा छ ।


थापाथलीमा पहिला २ तला रहेकामा अब ४ तलाको हुनेछ । ‘झट्ट हेर्दा भवन पहिलाजस्तै देखिनेछ,’ बैंकका कार्यकारी निर्देशक मुकुन्द क्षत्रीले भने, ‘पुरानो भवनअगाडिको खाली ठाउँमा अन्डरग्राउन्ड पार्किङ हुनेछ भने त्यसमाथि गार्डेन बनाइनेछ ।’ उनका अनुसार भवन अपांगमैत्री बन्नेछ । भवन परिसरमा फूल, रूख र दुबोले हरियाली बनाइनेछ ।


पुरानो भवनमा रहेका विसं १८९३ मा बनेका इँटा पुरातत्त्व विभागसँग स्वीकृति लिएर बिक्री गरिसकिएको छ । तिनमा मासको दाल, माटो र ढुंगाको धुलो प्रयोग गरिएको थियो । ‘पहिलाको प्रविधि प्रयोग गरेर अहिले बनाउन सक्ने अवस्था देखिएन,’ क्षत्रीले भने, ‘त्यो प्रविधि अहिले उपलब्ध पनि छैन ।’


नयाँ बन्ने भवन बैंककै लागि मात्र प्रयोगमा ल्याइनेछ । थापाथलीमा सर्वसाधारणसँग प्रत्यक्ष जोडिने बैंकिङ कारोबार तथा विदेशी मुद्रा सटहीको काम हुनेछ । सरकारीे चेकको भुक्तानी पनि यहीँबाट हुन्छ । मुद्रा, बैंकिङ, बैंकर ट्रेनिङ सेन्टर, राष्ट्र बैंक व्यवस्थापन विभाग थापाथलीमा रहनेछ । अहिले थापाथली र बालुवाटारमा गरेर करिब ८ सय कर्मचारी छन् । निर्माणमा बाधा पुग्न नदिन हाल थापाथलीबाट हुँदै आएको काम बालुवाटार सारिएको कार्यकारी निर्देशक क्षत्रीले बताए ।


बालुवाटार भवनको प्रवेशद्वारमै रहने पानीको फोहोराले सबैलाई आकर्षित गर्नेछ । यसमा गभर्नर, डेपुटी गभर्नर बस्नेदेखि लिएर तालिम हल, राष्ट्र बैंकको सुरक्षामा खटिने सेनाका लागि छुट्टै ब्लक बन्नेछन् । सेनाका लागि पहिला छुट्टै भवन थिएन । ‘हरेक देशमा केन्द्रीय बैंक भन्नेबित्तिकै छुट्टै किसिमको भवन हुन्छ,’ उनले भने, ‘पहिलाको पुरानो भवन हेरेर विदेशी दंग पर्दै तारिफ गर्थे ।’


बैंकको थापाथलीमा ४२ र बालुवाटारमा ६१ रोपनी जग्गा छ । ‘निर्माणका लागि ३० महिनाको समय दिएका छौं,’ क्षत्रीले भने, ‘यो समयभित्र भवन निर्माणको काम सकेर हामीलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।’ भवन बनेपछि आवश्यकताअनुसार कोठाको विभाजन गरिनेछ । राष्ट्र बैंकमा देशभर १ हजार कर्मचारी छन् । ३० वर्षे उमेर हदबन्दीले गर्दा जनशक्ति घटेका कारण लोकसेवामार्फत कर्मचारी थप्ने तयारी गरिएको छ ।


विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, पोखरा र धनगढीमा पनि बैंकका कार्यालय छन् । ‘जनमानसमा राष्ट्र बैंक भन्नेबित्तिकै पुरानै भवनको झल्को छ,’ उनले भने, ‘त्यसैले नयाँ बन्ने भवन पुरानैजस्तो देखिनेछ ।’ यस्तै, तालिम केन्द्रका रूपमा सानोठिमीमा छुट्टै भवन बन्नेछ । बैंकका कामु निर्देशक डिलाराम सुवेदीका अनुसार ४० रोपनी क्षेत्रफलमा जनक शिक्षा सामग्रीको जग्गाको पछाडि भवन बनाउने तयारी थालिएको छ ।


‘ड्रइङ र डिजाइनको काम सकियो,’ उनले भने, ‘यही आर्थिक वर्षभित्र टेन्डर गरेर निर्माण अगाडि बढाउने तयारीमा छौं ।’ यहाँ ट्रेनिङ सेन्टर, गभर्नर तथा डेपुटी गभर्नरको आवास र टक्सार (सिक्का छाप्ने) को काम हुनेछ ।


सुन्धारामा टक्सारको काम भए पनि प्रदूषणले गर्दा बन्द गरिएको बैंक स्रोतले जनायो । बैंकले सिक्का बनाउन दिएर आयात गर्दै आएको छ । ‘बालुवाटार तथा थापाथली दुवै भवन एकैपटक बनोस् भन्ने थियो,’ क्षत्रीले भने, ‘तर त्यस्तो हुन सकेन, थापाथलीमा काम सुरु भए पनि बालुवाटार भवन निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।’


उनले बालुवाटारको भवन बनाउन थालेपछि अन्यत्र भाडामा भवन लिएर सर्ने बताए । ‘भवन बनाउन सुरु गर्नेबित्तिकै हामीले यो ठाउँ छाड्नुपर्छ, नबनुन्जेल भाडामा बस्नुको विकल्प छैन,’ उनले भने, ‘भवन निर्माण समयमा नहुँदा भाडामा बस्नुपर्ने र खर्च बढ्नेछ ।’ थापाथलीको वैशाखमा टेन्डर आह्वान गरिएको भवनको ठेक्का बिलिल कन्टेक जेभीले पाएको छ । ३० महिनाभित्र सक्ने गरी १ अर्ब ८७ करोड रुपैयाँमा ठेक्का लागेको हो ।


बालुवाटारको भवन निर्माण अन्योलमा

बालुवाटार भवनको निर्माणका लागि गत असारमा टेन्डर आह्वान भएको थियो । विवादास्पद पप्पु कन्स्ट्रक्सनले चिनियाँ कम्पनी एसआरबीसीसँग मिलेर २ अर्ब ६ करोड रुपैयाँमा ठेक्का हालेको थियो । तर यो भवन निर्माण भने अन्योलमा छ ।


ठेक्का पप्पुले पाउने निश्चित भएकामा अन्तिम समयमा आएर रोकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आफूले निक्र्योल नसकेपछि निर्णय गरिदिन आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाएको छ ।


यसको निर्णय अझै भइसकेको छैन । बालुवाटारका कर्मचारी नयाँ भवन बन्ने छाँट नदेखेपछि निराश छन् ।

प्रकाशित : मंसिर २९, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?