कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीलाई माग नै माग

काभ्रे — चौरीदेउरालीस्थित स्वर्णिम सरस्वती युवा क्लबको कार्यक्रममा पुगेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्थानीय सरस्वती माविले ज्ञापनपत्र बुझायो ।

ज्ञापनपत्रमा कक्षाकोठा भवन अपुग भएकाले १० कोठे भवन निर्माणमा सहयोग, विद्यार्थी र शिक्षकका लागि आवासको व्यवस्था, प्राविधिक शिक्षाको कक्षा सञ्चालनका लागि प्रयोगशालाको माग रहेका छन् । विद्यालयले एक सय वटा कम्प्युटर, हाइस्पिड इन्टरनेट र मन्त्रालयमार्फत प्रविधि तालिमको पनि माग गरेको छ ।


कार्यक्रममा आयोजकदेखि जनप्रतिनिधिसम्मले मन्त्री बाँस्कोटासँग विभिन्न मागहरू राखे । आयोजक क्लबका अध्यक्ष दीपक गौतमले बाटो दुरावस्था चित्रण गर्दै पिच गरिदिन अनुरोध गरे । ‘मन्त्रीहरू आउने भनेर २ दिनअघि मर्मत गरेको बाटोको अवस्था यहाँ आउने मन्त्री लगायतका अतिथिले देखिहाल्नुभयो होला,’ उनले भने, ‘गाउँपालिकाको कमान्डरलाई साक्षी राखेर भनेको छु, यहाँको बाटोका लागि संघीय सरकारले केही गरोस् ।’ ४ नं वडा अध्यक्ष सुरेश लामाले पनि बाटोको नै समस्या राख्दै समाधान गरिदिन मन्त्रीलाई अनुरोध गरे ।


चौरीदेउराली गाउँपालिका अध्यक्ष दीनानाथ गौतमले आफ्नो पालिकाका सबै स्थानमा मोबाइल नेटवर्क नदिने भन्दै समस्या समधान गरिदिन अनुरोध गरे । ‘गाउँपालिकाका सबै होचोअग्लो स्थानमा मोबाइल टिप्दैन,’ उनले भने, ‘टावर थपेर सहज गराइदिन र विद्यालयहरूमा ई–क्लासको व्यवस्था गरिदिन अनुरोध गर्दछु ।’


सबै वक्ताले केही न केही अपेक्षा गरेपछि काभ्रे क्षेत्र नं २ का सांसदसमेत रहेका मन्त्री बाँस्कोटाले आफ्नो मन्तव्यमा तिनलाई सम्बोधन गरे ।


‘१ वर्षभित्रमा भवन बन्नेछ, २४ वटा कम्प्युटर यो विद्यालयले पाउँछ,’ मन्त्रीले आश्वासन दिए, ‘अरू स्थानमा पनि इन्टरनेट विस्तार गर्दा यो विद्यालयमा पनि पाउँछ ।’ उनले बाटोका लागि बजेट छुट्टिएको भन्दै क्रमश: विकास हुँदै जाने बताए । ‘काभ्रेका धेरै योजनामा बजेट छुट्टिएर आएका छन्,’ मन्त्री बाँस्कोटाले भने, ‘विकास एकैपटक फ्याट्ट हुने कुरा पनि हैन, यो विस्तारै हुने कुरा हो ।’


प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ र प्रदेशसभा सदस्य रत्न ढकालले पनि बाटो, खानेपानी लगायका योजनामा संघ र प्रदेशबाट बजेट छुट्टिएको भन्दै क्रमश: विकास हुने दाबी गरे ।

प्रकाशित : पुस १, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?