हेटौडा — सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै हेटौंडा उपमहानगरपालिकाका कर्मचारीहरूले सोमबार कामकाज ठप्प पारेर कार्यालय अगाडी धर्ना दिएका छन् । कर्मचारीको धर्नाले गर्दा सेवाग्राहीहरु प्रभावित भएका छन् ।
पेसागत स्थायित्वका लागि कर्मचारी समायोजनमा सबै सेवा र समूहबिच समान व्यवहार नभएकाले विभिन्न माग राखी स्थानीय तहका संघसंगठन युनियन, एसोसिएसनहरु संयुक्त रूपमा आन्दोलनमा उत्रेका हुन् ।
हेटौडा उपमहानगरका १ सय ८० कर्मचारीले कार्यालयको प्राङ्गणमा बसेर कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका हुन् । मङ्गलवार १० बजे देखि १२ बजेसम्म कामकाज ठप्प पारेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसन एकाई कार्य समिति हेटौडा उपमहानगरपालिका कार्यालयका अध्यक्ष आमोदप्रसाद मैनालीले बताए ।
जिल्लाभर करिब ४ सयको हाराहारीमा कर्मचारी रहेको उनले बताए । जिल्लामा रहेका सबै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् । पुस ११ गतेसम्म पहिलो चरणको आन्दोलनका घोषणा गरेका छन् ।
प्रकाशित : पुस २, २०७५ १५:३०