कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बीपी राजमार्गमा थपिँदै होटल–रेस्टुरेन्ट

सिन्धुली — सिन्धुलीगढीको फनफनी घुम्ती होस् या भकुण्डेको पटयारलाग्दो सडक, दुवैतिरबाट आउजाउ गर्नेलाई थकाइ मार्ने ठाउँ मुलकोट, रातमाटा र खुर्कोट हुन थालेको छ । 

बीपी राजमार्गमा थपिँदै होटल–रेस्टुरेन्ट

यात्रुहरू राजमार्गको छेउमा खोलिएका सामान्यदेखि सुविधा सम्पन्न रिसोर्टसम्मका पाहुना हुन थालेका हुन् । ‘पहिले केही थिएन राजमार्ग पट्यारलाग्दो थियो,’ काठमाडौंबाट निजी सवारीसाधन लिएर विराटनगर जान थालेका लोकबहादुर खत्रीले भने, ‘अहिले खोजेको सुविधा पाइन्छ, चिया खाजा र आराम गर्ने ठाउँ प्रशस्त छन् ।’


जापान सरकारको सहयोगमा बीपी राजमार्ग निर्माण भएपछि पूर्वी नेपालतर्फको आउजाउ बढेको छ । दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्न थालेपछि राजमार्ग छेउमा यात्रुलाई ध्यानमा राखेर होटल र रेस्टुराँ खोल्ने क्रम पनि बढेको हो ।


पछिल्लो पटक राजमार्गका यात्रु मात्र हैन बाह्य देशका पर्यटक लक्षित रिसोर्टसमेत खुल्न थालेका छन् । मुलकोटमा हालै खुलेको ताज रिभरसाइड रिसोर्टका सञ्चालन दिनेश श्रेष्ठ भन्छन्, ‘सुनकोसीमा र्‍याफटिङसहितको सुविधा दिएर रिसोर्ट सञ्चालनमा ल्याएका हौं ।’


थोरै लगानीका सुविधा सम्पन्न होटल तथा रेस्टुराँसमेत मुलकोटमा धेरै नै खुलेका छन् । सुनकोसीको नेपालथोकदेखि सुनकोसीमा र्‍याफटिङ चलाउँदै मुलकोटसम्म पुग्ने र रिसोर्टमा बसेर फर्कने काम सुरु भइसकेको छ । सरकारले नेपालका पर्यटन गन्तव्यको सूचीमा रामेछापबाट सुनकोसी र्‍याफटिङ समावेश गरेकोले पनि मुलकोटमा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको हो ।


राजमार्ग छेउका होटल तथा रेस्टुराँ धेरै महँगा पनि छैनन् । सामान्य मूल्य लिएर राम्रो सुविधा दिनका लागि सबैको ध्याउन्न छ । एक होटल सञ्चालक चन्द्र माझी भन्छन्, ‘पैसाभन्दा गुणस्तर र सुविधा दिन प्रतिस्पर्धा छ ।’ पृथ्वी राजमार्गमा गुणस्तरहीन बासी खाना खुवाउने गरेको सन्देश सुनेका बीपी राजमार्ग छेउका होटल तथा रेस्टुराँ सञ्चालकहरू त्यसप्रति सहज रहेको बताउँछन् ।


बीपी राजमार्गमै पर्ने खुर्कोटलाई सरकारले नयाँ सहरको रूपमा विकास गरिरहेको छ । खुर्कोटमा एकसेएक होटल खुलेका छन् । करोडौं लगानी गरेर खुलेका त्यस्ता होटल र लज भरिभराउ हुने गरेका स्थानीय अमोल कार्कीले बताए ।


कार्कीले करोडभन्दा बढी लगानी गरेर खोलेको होटल सधैं भरिभराउ भएपछि अर्को थप्ने योजना बनाएका छन् । खाल्टे, रातमाटा, बोहोरेटार, दुम्जा, रामकोट, मुलकोटमा दर्जनौं होटलहरू थपिने क्रममा छन् । त्यसमा बसका यात्रुहरूलाई लक्षित गरी खोलिएका स्टाफ होटल पनि उत्तिकै छन् ।


राजमार्गका होटलमा थप आकर्षणको परिकार सुनकोसीको माछा हुने गरेको छ । सुनकोसीको माछाको लोभमा निजी सवारी साधन लिएर आउने अधिकांशको बसाइ हुने गरेको छ । सबैमा स्थानीय माछा भने पाइँदैन ।


सुनकोसी र तामाकोसीमा करेन्ट लगाएर माछा मार्न दिएकाले स्थानीय माछा दुर्लभ बनेका छन् । धेरैले तराईको माछा ल्याएर सुनकोसीको भन्दै बिक्री गर्छन् । त्यसमा भने यात्रु ठगिने क्रम बढेको छ ।


बीपी राजमार्गकै विभिन्न स्थानमा अस्थायी ठेलावाला व्यवसायीले समेत यात्रुलाई सुविधा दिइरहेका छन् ।

प्रकाशित : पुस ३, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?