जोखिम बन्दै मोटरसाइकल यात्रा

पाँच महिनाको विवरण हेर्दा मोटरसाइकलबाट ज्यान गुमाएकाहरू सबैभन्दा धेरै छन् ।

चितवन — पूर्वी चितवनको रत्ननगर–१० मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा राप्ती नगरपालिका–८ का अनिस तमाङको घटनास्थलमै मृत्यु भयो ।

जोखिम बन्दै मोटरसाइकल यात्रा

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अनमोल तमाङ गम्भीर घाइते भए । बिहीबार राति साढे ११ बजे पूर्वी चितवनकै राप्ती–५ मा मोटरसाइकल दुर्घटना हुँदा सुदीप डल्लाकोटीको ज्यान गयो ।


शनिबार दिउँसो भरतपुरमा भएको मोटरसाइकल दुर्घटनमा परेर पछाडि बसेकी भरतपुर १२ की शारदा वाग्लेको निधन भयो । शनिबार मध्यरातमा गीतानगर वीरेन्द्रचोकमा स्कुटर पोलमा गएर ठोक्किँदा भरतपुर १४ का बुद्धिबहादुर विकले ज्यान गुमाए । लगभग तीन दिनभित्र लगातार भएका यी घटनाले मोटरसाइकल यात्रा असुरक्षित देखिएको छ ।


चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम भन्छन्, ‘साउनयता पाँच महिनाको विवरण हेर्दा मोटरसाइकलबाट ज्यान गुमाएकाहरू सबैभन्दा धेरै छन् ।’ पछिल्लो समय मोटरसाइकलको प्रयोग अत्याधिक बढेको छ । सडकमा लहरै मोटरसाइकल देखिन्छन् । तर चलाउने बेलामा सजग र सावधान नभई चलाउँदा दुर्घटना पनि बढेको गौतम बताउँछन् ।


प्रहरी निरीक्षक गौतमका अनुसार साउनयता मंसिरसम्म पाँच महिनामा चितवनमा भएका दुर्घटनामा ७४ जनाको निधन भएको छ । जसमा मोटरसाइकल चलाउने र त्यसमा बस्नेहरू सबैभन्दा धेरै २८ जना छन् ।


यसका साथै मोटरसाइकलले साइकल र पैदलयात्रीलाई पनि ठक्कर दिएर ज्यान गुमाउनेहरू रहेका छन् । गौतमका अनुसार मोटरसाइकलले ठक्कर दिँदा पाँचजना पैदल यात्री र तीनजना साइकल यात्रीको मृत्यु भएको छ । त्यसैले मोटरसाइकल दुर्घटना गम्भीर समस्या बन्न थालेको उनले बताए ।


‘ठूलो गाडी दुर्घटना भए चर्चा हुन्छ तर चितवनमा ठूला दुर्घटनामा परेर साउनयता बसका १७ जना, ट्रक टयांकरका चारजना र जिपका तीनजनाले ज्यान गुमाएका छन् । यी सबैखाले ठूला गाडीबाट भएको मृत्युभन्दा मोटरसाइकल दुर्घटनामा परेर मर्नेहरू धेरै छन्,’ प्रहरी निरीक्षक गौतमले भने । महिनामा पाँचजनाभन्दा धेरैको मृत्यु मोटरसाइकलका कारणले नै हुने गरेको हुँदा यसमा सबै गम्भीर हुनुपर्ने उनले बताए ।


‘रातमा दुर्घटना हुने गरेको छ । ४० प्रतिशतभन्दा धेरै घटनामा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको देखिन्छ,’ ट्राफिक प्रहरी निरीक्षक गौतमले भने । ३० वर्षभन्दा कम उमेरका व्यक्तिहरूले चलाएको मोटरसाइकल धेरै नै दुर्घटनामा परेको विवरणहरूले देखाएको उनले बताए । स्कुलको शिक्षा पूरा गरेर कलेज जान सुरु भएपछि नै मोटरसाइकल किनेर चलाउन दिने परिपाटी बढेको छ ।


‘कसरी चलाउने, कहाँ सजग हुने जस्ता कुराहरू ध्यानै नदिई एकोहोरो मोटरसाइकल हुँइक्याउँदा यस्तो हुने गरेको हो,’ गौतमले बताए । प्रहरीले ठाउँ ठाउँमा चेकिङ गरे पनि साध्य नलागेको उनले सुनाए । जाडो समयमा झनै दुर्घटना बढ्ने खतरा रहन्छ । चिसोमा मोटरसाइकल चलाउँदा हात कठयांग्रिएर राम्रोसँग समाउन गाह्रो हुन्छ । कुहिरो लाग्ने हुँदा नदेख्ने समस्या हुन्छ ।


‘त्यसैले यस्तो बेलामा निकै सावधानी अपनाएर आवश्यकता परेमा मात्रै मोटरसाइकल चलाउने हो । तर यो कुरा कसले हेक्का राख्ने ?’ प्रहरी निरीक्षक गौतमले भने । अदालतमा सवारी ज्यानसम्बन्धी मुद्दाको चाप छ । अधिवक्ता जगन्नाथ भण्डारीले अरू ठूला गाडी यान्त्रिक गडबडीले दुर्घटना हुने भए पनि मोटरसाइकल दुर्घटना तीव्र गतिमा चलाएका कारण हुने गरेको छ ।

प्रकाशित : पुस ३, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?