३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

उपकुलपति नियुक्त नहुँदा वीर र ट्रमामा समस्या

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) चार महिनादेखि काम चलाउ उपकुलपतिको भरमा चलिरहेको छ । नेतृत्व नहुँदा न्याम्स अन्तर्गतका वीर अस्पताल र ट्रमा सेन्टरको सेवा प्रभावित भइरहेको छ ।

उपकुलपति नियुक्त नहुँदा वीर र ट्रमामा समस्या

गत साउनदेखि उपकुलपति डा.गणेश गुरुङको कार्यकाल सकिएपछि न्याम्स नेतृत्वविहीन भएको हो । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि डा.सुबोध अधिकारीले कामचलाउ रूपमा छन् ।


नेतृत्व नहुँदा वीर र ट्रमा सेन्टर पनि निमित्त निर्देशकको भरमा चलिरहेको छ । गत असोजमा वीर अस्पतालमा नर्देशक डा. भूपेन्द्रकुमारको कार्यकाल सकिएपछि अस्पतालले नयाँ नेतृत्व पाउन सकेको छैन । तत्कालीन निर्देशक डा.प्रमोद उपाध्यायले पदबाट राजीनामा दिएपछि ट्रमा सेन्टर पनि अहिले निमित्त निर्देशक डा.विनोद शेरचनले चलाइरहेका छन् । उपकुलपति नहुँदा न्याम्सका पदाधिकारी पनि नियुक्त हुन सकेका छैनन् । रजिस्टार, रेक्टर, डिनजस्ता पदाधिकारी नहुँदा सबैका काम आफैं गर्नुपरेको निमित्त उपकुलपति डा. अधिकारीले बताए । न्याम्समा मेडिकल अधिकृत लगायत एकेडेमिक कर्मचारी नियुक्त हुन सकिरहेका छैनन् ।


उनले भने, ‘कामको चाप जति म एक्लैलाई छ । प्रतिष्ठान हेर्ने र बिरामी हेर्ने दुवै काम गर्नुपर्दा भ्याइनभ्याइ छ ।’ पदाधिकारी नहुँदा कार्यकारी परिषदको बैठक बस्न सकेको छैन । ठूला निर्णय गर्दा बैठक बसेर पास गर्नुपर्ने हुँदा समस्या भइरहेको डा. अधिकारीको गुनासो छ । सामूहिक मिहिनेतमा हुने काम एक्लै गर्दा चाप र जोखिम उत्तिकै हुने उनी बताउँछन् । ‘सबै पदाधिकारी भए कामको बाँडफाँड हुन्थ्यो, व्यवस्थापन सजिलो र छिटो हुन्थ्यो,’ उनले भने ।


नियमअनुसार निमित्त उपकुलपतिलाई प्रतिष्ठानको सबै निर्णय गर्ने अधिकार छैन । विद्यार्थी भर्ना दिने, परीक्षा गराउने काम नरोकिए पनि नीतिगत निणर्य गर्न नसकिएको डा. अधिकारीले बताए ।

दुवै अस्पतालमा निमित्त निर्देशक छन् । निमित्तलाई अस्पतालबारे हरेक निर्णय गर्दा उपकुलपतिलाई नै सोध्नुपर्ने हुँदा काम कारबाही प्रक्रिया लामो र झन्झटिलो भइरहेको छ । ट्रमा सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचन भन्छन्, ‘हामीलाई दुई लाखभन्दा आर्थिक निर्णय गर्ने अधिकार हुँदैन, ट्रमाजस्तो ठूलो अस्पतालमा धेरै आर्थिक कारोबार हुन्छन् ।’


ट्रमा सेन्टरले खरिद गरेका अस्पतालजन्य सामग्रीका बिल तिर्न बाँकी छ । पहिलेका नेतृत्वले खरिद गरेका सामानको पैसा तिर्न नसकिएको डा. शेरचनले बताए । उनले भने, ‘अक्सिजन, औषधि र सरसफाइका सामानको हिसाब बाँकी रहेछ, हामीलाई यस्ता आर्थिक कारोबार गर्ने अधिकार छैन ।’


उपकुलपतिको अनुपस्थितिमा अस्पतालले फार्मेसी र क्यास काउन्टरबाट उधारो लिएर आर्थिक कारोबार गर्ने गरेको छ । नियमअनुसार न्याम्सको उपकुलपतिको निर्णयमा मात्रै यस्ता प्रशासनिक काम अघि बढ्छन् । वीर अस्पतालका एक चिकित्सक भन्छन्, ‘शल्यक्रिया गर्दागर्दै ठूला उपकरण बिग्रिएको बेलामा उपकुलपति नभए के गर्ने ?’


दुई सातादेखि दुवै अस्पतालको सीटी स्क्यान बिग्रिएको छ । बिरामीले बाहिरबाट दोब्बरभन्दा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन् । बिग्रिएका उपकरण मर्मत गर्नका लागि टेन्डर प्रक्रियामा जानुपर्ने हुँदा नेतृत्व अभावले यसमा असर पारिरहेको डा. अधिकारीले बताए । स्वास्थ्य मन्त्रालयबाट गठित समितिबाट न्याम्सको उपकुलपतिका लागि तीन चिकित्सक सिफारिस भएका छन् । डा. डीएन शाह, डा. ढुण्डीराज पौडेल र डा. अजित रायमाझी । उपकुलपति नियुक्ति सिफारिस ६ महिनादेखि अलपत्र छ ।


प्रकाशित : पुस ११, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?