कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेशसभा अधिवेशन अन्त्य

हेटौंडा — जेठ १ गतेबाट सुरु भएको प्रदेशसभा ३ को दोस्रो अधिवेशन बिहीबारबाट अन्त्य भएको छ ।

प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन अन्त्य भएको व्यहोराको प्रदेश प्रमुख कार्यलयको पत्र पढेर सुनाएका थिए । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।


कार्यव्यवस्था परामर्श समितिका सचिवसमेत रहेका शाखा अधिकृत सुनीता गजुरेलका अनुसार, ४२ दिनमा ६६ घण्टा २० मिनेट बसेको प्रदेशसभा बैठकले २२ वटा कानुन पारित गरेको छ । दुवै अधिवेशन गरेर पारित विधेयकको संख्या २५ पुगेको छ । २०७४ माघ १८ गते सुरु भएको प्रदेशसभाको पहिलो अधिवेशन २०७५ वैशाख १४ गते अन्त्य भएको थियो ।

‘जनताका कुरा कहाँ राख्ने ?’


प्रदेशसभा सदस्यहरूले बैठक नियमित नहुनाका साथै शून्य र विशेष समयसमेत उपलब्ध नभएको भन्दै गुनासो गरेका छन् । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हँुदै विवेकशील साझा पार्टीका नेता रमेश पौड्यालले जनताको आवाज राख्ने स्थान नपाएको तर्क गरे ।


‘सैद्धान्तिक छलफलमा सहभागी हुन उभिँदा मैले निसास्सिएको महसुस गरेको छु, कसैले मेरो घाँटी थिचेको अनुभव भएको छ,’ पौड्यालले भने, ‘जनताको आवाज संसद्मा राख्न पाइएको छैन, जनताको समस्या सुनुवाइ भएन भने संसद्को के काम ?’


सांसदहरूले प्रदेशको स्थायी राजधानी र नामकरण टुंग्याउन माग गरेका छन् । कांग्रेस सांसद प्रभात तामाङले राजधानी र नामकरणको विषय पहिला टुंग्याएर मात्रै अन्य विकास निर्माणलगायतका काम अघि बढाउन सकिने तर्क गरे । सांसद पौड्यालले प्रदेश राजधानी नतोकी औद्योगिक राजधानी तोक्नुको अर्थ नहुने तर्क गरे ।


प्रदेशसभाको बिहीबारको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले पेस गरेको दफावार दलफलपछिको प्रतिवेदन सर्वसहमतिले पारित भएको हो ।

प्रकाशित : पुस १३, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?