मितेरी पुलको पुनर्निर्माण धमाधम
रसुवा — रसुवागढी नाकामा रहेको नेपाल र चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण धमाधम भइरहेको छ ।
तिब्त इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले मितेरी पुलको पुनर्निर्माणलाई तीव्रता
दिएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले उक्त पुलमा क्षति पुगेको थियो । भूकम्पको बेला पहिरोसँगै आएको ढुंगा लागेर मितेरी पुलको बीच भागमा ठूलो प्वाल पारेको छ । क्षति पुगेको पुलमाथि अस्थायी फलामेपुल राखेर यातायात सञ्चालन गरिएको छ । भूकम्पले क्षति पुर्याएको पुल भत्काइनेछ ।
पुरानो पुलभन्दा ५ मिटर उत्तर–पूर्वमा नयाँ पुल निर्माण हुनेछ । अहिले सञ्चालनमा रहेको पुल भत्किने भएपछि तल्लो भागबाट अस्थायी बेलिब्रिज राखेर यातायात सञ्चालन गर्नका लागि तयारी भइरहेको छ । पुलको जग खन्ने काम पनि सुरु भएको छ । चीन सरकारको पूर्ण सहयोगमा पुलको पुनर्निर्माण हुन लागेको हो ।
पुलको पुनर्निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारबीच सन् २०१८ जुन २१ मा सहमति पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्दा सहमति पत्रमा हस्ताक्षर भएको हो । उक्त पुल चीन सरकारले पुनर्निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत भदौ २३ गते ल्हासाबाट मितेरी पुलको शिलान्यास गरेका थिए । सन् २०१९ मे महिनामा पुल निर्माण सम्पन्न गर्ने चिनियाँ पक्षले बताएको छ । पुलको लम्बाइ ११० मिटर र चौडाइ १२ मिटर हुनेछ । पुल निर्माणका लागि आवश्यक सहजीकरण गर्न दुवै देशका स्थानीय अधिकारीहरूबीच बैठक सम्पन्न भएको छ ।
मितेरी पुलको पुनर्निर्माणले चीन सरकारको ‘वान वेल्ट वान रोड’ को अवधारण र व्यापार सहजीकरणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित : पुस १७, २०७५ ०७:३७