कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बजेट सक्न विदेश भ्रमण

विद्या राई

काठमाडौँ — महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले पछिल्लोपटक गएको कात्तिक २६ देखि मंसिर १ सम्म चीन भ्रमण गरे । उनीहरू हुआन सहरमा भएको ‘चाइना इन्टरनेसनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८’ का लागि चीन गएका थिए ।

बजेट सक्न विदेश भ्रमण

सम्मेलनका क्रममा आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्ने सिस्टमबारे प्रत्यक्ष बुझ्ने मौका पाएको भ्रमणबाट फर्केपछि उपमेयर खड्गीले अनुभव सुनाएकी थिइन् ।


चिनियाँ सिस्टमले प्रभावित भएकी उनले अस्तव्यस्त महानगरलाई व्यवस्थित बनाउने, सफा, सुन्दर र स्मार्ट बनाउने पनि भन्न भ्याइन् । हुन त महानगरमा जनप्रतिनिधि आएपछि स्मार्ट सिटीको परिकल्पना नगरेका पनि थिएनन् । मेयरले १०१ महत्त्वाकांक्षी योजना पूरा गररै छाड्ने नि प्रतिबद्धता गरेका थिए । तर न त उपमेयरले चीन भ्रमणबाट फर्किएर भनेजसरी महानगरको फोहोर दुर्गन्ध हटेको छ । न त मेयरको प्रतिबद्धताअनुसार महानगरको मुहार फेरिएको छ ।


महानगरमा मेयर भएर आएपछि शाक्यले हालसम्म दक्षिण कोरिया, स्पेन, इजरायल, जापान, अमेरिका र चीनमा २८ दिन विदेश भ्रमण गर्न भ्याए । विभिन्न देशका मेयरको सम्मेलन, एसिया प्यासिफिक सम्मेलनजस्ता कार्यक्रममा विदेश भ्रमण गरे । वैदेशिक भ्रमणले सिस्टमको बारेमा प्रत्यक्ष जान्ने बुझ्ने र अनुभव गर्ने अवसर पाए । उनी पात्र प्रतिनिधि हुन् ।


जनप्रतिनिधि र कर्मचारीहरू आलोपालो गरी विदेश तथा स्वदेश भ्रमण चलिरहन्छ । आखिर उनीहरूको भ्रमणले महानगरमा कस्तो प्रभाव पार्‍यो ? ‘भ्रमणले सकारात्मक सोचाइको विकास गरेको छ तर केन्द्र र प्रदेश सरकारबाट महानगरलाई पूर्ण रूपमा अधिकार छैन, सिस्टममा जानलाई नीतिनियम बनाएको छैन,’ उपमेयर खड्गीले बताइन् । भन्छिन्, ‘स्थानीय सरकार भनेजसरी स्वत: अधिकार दिनुपर्‍यो नि ।’


महानगरका जनप्रतिनिधि आफैं देखिने काम गर्न नसकेकामा सन्तुष्ट देखिँदैनन् । मेयर शाक्य आफैं भन्छन्, ‘जनअपेक्षा बढी छ, गर्नुपर्ने काम पनि धेरै छन्, महानगरभित्रै कर्मचरी र जनप्रतिनिधि तालमेल नमिल्दा अपेक्षाअनुसारका काम गर्न सकिएको छैन, सम्भव पनि त छैन नि ।’


यता जनताले कर तिरेको ढुकुटी रित्याएर भ्रमण गर्ने अनि सिकेको कुरा समेत व्यवहारमा लागु नगर्ने परिपाटीले गर्दा महानगरबासी रुष्ट छन् । विकास निर्माणका कार्य सुस्त भएकाले सधैं आलोचित भइरहने महानगर जनप्रतिनिधिको भ्रमणप्रति असन्तुष्ट छन् । अनामनगरका श्याम श्रेष्ठ भन्छन्, ‘२० वर्षपछि जनप्रतिनिधि पायाैं, केही होला भनेको, आफ्नै वृद्धि र विकासमै व्यस्त छन् ।’


भ्रमण खर्च आठ गुणा बढ्यो

महानगरमा जनप्रतिनिधि आएपछि भ्रमण खर्च तथा दैनिक भत्ता शीर्षकमा बजेट विनियोजन आठ गुणाले बढ्यो । आव ०७३/०७४ मा २० लाख अनुमानित बजेट विनियोजन गरेको थियो । आव ०७४/०७५ मा हात्तै बढाएर एक करोड ६० लाख विनियोजन गरे । आव ०७३/०७४ मा १४ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धरका अनुसार आव ०७३/०७४ असार मसान्तसम्म २१ लाख बजेट भ्रमण शीर्षकमा खर्च भएको छ । आव ०७३/०७४ को जेठसम्म १२ लाख ८१ हजार बढी खर्च गरेका थिए । असार महिनामा ९ लाख खर्च गरे ।


आर्थिक वर्षको अन्तिम एक महिनामा ४२ प्रतिशत बढी बजेट खर्च भएको छ । चालू आवका लागि एक करोड ६० लाख नै बजेट प्रक्षेपण गरेका छन् । विदेश भ्रमणका अधिकांश खर्च आयोजकले नै व्यहोर्ने गर्छन् ।


भत्ताबापत् मेयरले दैनिक २२५ डलर, उपमेयरले १७५ डलर लिन पाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिकामा उल्लेख छ । यरोपियन मुलुकहरू, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडाजस्ता विकसित देशमा जाँदा उल्लिखित दरको ३३ प्रतिशत थप गरेर भत्ता दिने उल्लेख छ ।

प्रकाशित : पुस १८, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?