१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संरक्षण क्षेत्रमा घरटहरा

टीकाप्रसाद भट्ट

रामेछाप — गौरीशंकर संरक्षण क्षेत्र आयोजनाभित्र रातारात घर टहरा निर्माण हुने क्रम बढेको छ । रामेछापको चुचुरे र दोलखाको श्यामामा संरक्षण क्षेत्रको जग्गामा स्थानीयले घर निर्माण गरिरहेका छन् । 

गोकुलगंगा गाउँपालिका १ चुचरेको गर्जाङ्ग क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी ६५ वटा घर बनेका छन् । निर्माण भएका कतिपय घर पक्की नै छन् । संरक्षण क्षेत्रभित्र रहेको सार्वजनिक जग्गामा व्यक्तिले अतिक्रमण गरी घर टहरा बनाउन पाइँदैन । जर्गाङ्ग क्षेत्रमा संरक्षण क्षेत्रको नियमलाई उल्लंघन गर्दै संरचना निर्माण गरेका छन् ।


सीमावर्ती दोलखाको श्यामामा पनि सार्वजनिक जग्गामा निर्बाध रूपमा संरचना निर्माण भएका छन् । गौरीशंकर संरक्षण क्षेत्रमा परेपछि त्यस क्षेत्रका बासिन्दाले संरक्षण क्षेत्रलाई अस्वीकार गर्न आन्दोलनै गरेका थिए । विस्तारै संरक्षण क्षेत्रले आफ्नो अस्तित्व देखाउन थालेको छ ।


बल्लबल्ल संरक्षण क्षेत्रलाई त्यस भेगमा मान्यता दिएकाले तत्कालै अतिक्रमित जग्गाबाट घरटहरा भत्काउन जान नसकिने एक अधिकारीले बताए । ‘पहिले त संरक्षण क्षेत्रको कर्मचारी हुँ भन्दा कुटाइ खाइएला भन्ने चिन्ता थियो,’ ती कर्मचारी भन्छन्, ‘बल्ल मान्यता पाइएको छ, अहिले नै निषेधको काम गर्न जाँदा त्यसको असर उल्टो हुन सक्छ ।’


रामेछापको साबिकका चुचुरे र गुम्देललाई गौरीशंकर संरक्षण क्षेत्रमा समावेश गरिएको छ । चुचुरे सगरमाथा आधार शिविरतर्फको पर्यटकहरूको ओहोरदोहोर गर्ने गौंडोमा परेकाले विदेशी पर्यटकको लगत राख्ने र शुल्क उठाउने काम संरक्षण क्षेत्रले गर्दै आएको छ । संरक्षण क्षेत्र प्रवेश गर्दा विदेशी नागरिकले कर तिर्नुपर्छ ।


यसबाहेक ससाना विकास निर्माणको काम पनि व्यवस्थापन समितिमार्फत गर्दै आएको छ । आयोजना प्रमुख सत्यनारायण साह संरक्षण क्षेत्रभित्रको जस्तोसुकै जग्गा भए पनि स्वीकृति नलिई घरटहरा बनाउन नपाउने बताउँछन् । ‘पर्यटन प्रवद्र्धनका लागि केही वर्ष किटान गरेर भाडामा जग्गा उपयोग गर्ने व्यवस्था भए पनि आफूखुसी संरचना निर्माण गर्न पाइँदैन,’ साहले भने ।


साहका अनुसार जर्गाङ्ग क्षेत्रमा साविकमा पशु विकास फर्मले सार्वजनिक जग्गा चर्चेको थियो । फर्मले उक्त जग्गा आफ्नो भएको दाबी गरे पनि प्रमाण पेस गर्न सकेको छैन । साविकमा फर्मले चर्चेको जग्गामा हाल विद्यालय, जलविद्युत् आयोजना र अतिक्रमित घरटहरा बनेका छन् ।


फर्मको नाममा नभएकै कारण नेपाल सरकारले जलविद्युत् आयोजनालाई केही जग्गा हकभोगका लागि उपलब्ध गराएको छ । जिरी पशु विकास फर्मले बांँकी जग्गा आफ्नो नियन्त्रणमा राखी घाँस संरक्षण र चरिचरन गर्दै आएको छ ।


दोलखातर्फको श्यामामा पनि उत्तिकै सार्वजनिक जग्गा फर्मले चर्चेको थियो । २०५७ सालमा माओवादीले गाई फर्ममा आगो लगाएपछि फेरि श्यामाको खर्कमा गाई पुगेका छैनन् । गर्जाङ्गमा बल्ल गत वर्षदेखि जिरीबाट ल्याएर केही गाईगोरु राखिएका छन् ।


गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले संरक्षण क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गामा मनोमानी घर बनाउने कुरालाई व्यवस्थापन गर्नुपर्ने बताउँछन् । सार्वजनिक जग्गा अतिक्रमण गर्ने कोही पनि सुकुम्बासी छैनन् । सबैको जर्गाङ्ग क्षेत्रमा घरजग्गा छ ।

आयोजना प्रमुख साहले भने, ‘चाँडै नै यसबारे एउटा टुंगोमा पुग्नुपर्छ ।’ उनले रेडपाण्डा, जलविद्युत् उत्पादन क्षेत्र र जटापोखरी जाने मार्गमा पर्ने उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखी काम गर्न सकिने बताए ।

प्रकाशित : पुस १९, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?