कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्पतालको जग्गामा रजाइँ

चितवन कलेज अफ मेडिकल साइन्सले ७ बिघा, सीटीईभीटीले ७ बिघा, भरतपुर आँखा अस्पताल ४ बिघा र जनस्वास्थ्य कार्यालय साढे १० कठ्ठा प्रयोगमा
रमेशकुमार पौडेल

चितवन — भरतपुर अस्पतालको नाममा ३० बिघा ११ कट्ठा ६ धुर जग्गा छ । तर १२ बिघाबाहेक बाँकी जग्गा अरूले नै उपभोग गर्दै आएका छन् । जग्गा प्रयोग प्राय:ले नि:शुल्क गरेका छन् ।

अस्पतालको जग्गामा रजाइँ

भाडा तिर्नुपर्नेले चल्तीको भन्दा निकै थोरै मूल्य तोकेका छन् । त्यही न्यूनतम रकम पनि समयमा नपाएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ ।


अस्पतालमा चार महिना पहिले मेडिकल सुपेरिटेन्डेन्ट नियुक्त भएपछि डा. कृष्णप्रसाद पौडेलले अस्पतालको लालपुर्जा लिएर जिल्ला मालपोत कार्यालय पुगे । त्यो बेला उनी छाँगाबाट खसेझंै भए, जति बेला मालपोत कार्यालय प्रमुख लालकृष्ण पौडेलले अस्पतालको नाममा रहेको साविक भरतपुर ५ ग कित्ता नम्बर १२ को पूरै जग्गा ७२ सालको वैशाख २४ देखि बैंकले रोक्का राखेको जानकारी गराए ।


सोधीखोजी गर्दा पत्ता लाग्यो, भरतपुरको चितवन कलेज अफ मेडिकल साइन्स (सीएमएस) ले नेपाल इन्भेस्टमेन्ट बंैंकबाट ऋण लिएपछि पूरै जग्गा रोक्का भएको रहेछ । सीएमएसले भरतपुर अस्पतालको जग्गा भाडामा लिएर शिक्षण अस्पताल बनाएको छ । भाडाको जग्गा धितो राखेर ऋण लिइएको थियो । तर जग्गा धितोमा नभएर यन्त्र उपकरणमा ऋण दिएको बैंकले जानकारी गराएको छ ।


‘यो विषय पहिला पनि उठेको थियो । हामीले त्यो बेलामा पनि प्रस्ट पारेका थियौं । तर अस्पताल र मालपोतका कर्मचारी परिवर्तन भएसँगै फेरि उठेको हुनुपर्छ । हामीले सीएमएसलाई जग्गा धितोमा नभएर उसको यन्त्र उपकरणमा लोन दिएको हो,’ बैंकका प्रवक्ता विजेन्द्र सुवालले भने । तर किन र कसरी रोक्का भन्ने पत्र मालपोत कार्यालयमा नभएपछि यो विषय उठेको भरतपुर मालपोत कार्यालयले जनाएको छ ।


यो त भयो धितो र ऋणको कुरा । तर अस्पताललाई जग्गा भाडाबापत तिर्नुपर्ने रकम नै सीएमएसले नतिरेको मेडिकल सुपेरिटेन्डेन्ट पौडेलले बताए । महालेखा परीक्षकको प्रतिवेदनका आधारमा पनि सीएमएसले भरतपुर अस्पताललाई दुई करोड २१ लाख रुपैयाँ तिर्न बाँकी रहेको उनले बताए । ‘ताकेता गरेका छौं । तर रकम पाइएको छैन,’ उनले भने ।


मेडिकल कलेजका लागि सीएमएसले २०५२ सालमा अस्पतालको सात बिघा जग्गा भाडमा लिएको हो । ४९ वर्षका लागि भाडामा लिँदा प्रतिवर्ष प्रतिबिघा ५० हजार रुपैयाँ तिर्ने सम्झौता भएको थियो । जसमा बर्सेनि १० प्रतिशत बढ्ने सुरुको सम्झौता थियो । तर ६२ सालमा तत्कालीन अस्पताल सञ्चालक समितिले भाडा दर बढाएर प्रतिवर्ष प्रतिबिघा एक लाख रुपैयाँ कायम गर्‍यो । १० प्रतिशत बढ्ने प्रवधान हटायो ।


‘सीएमएसले भाडाबापत् दिनुपर्ने रकम दुई वर्षदेखि दिएको छैन । सबै कुरा हेरेर महालेखा परीक्षकले २ करोड २१ लाख तिर्नुपर्ने रकम निकालेको हो,’ पौडेलले भने । तर सीएमएस प्रशासनको जिकिर भने फरक छ । भरतपुर अस्पताललाई तिर्नुपर्ने रकम सबै तिर्दै आएको त्यहाँका अधिकारीहरू बताउँछन् ।


‘महालेखाको प्रतिवेदनले देखाएको बेरुजुका विषयमा हाम्रो असहमति छ । त्यो बेरुजु हामीले तिर्नुपर्ने हैन । अस्पताललाई भाडाबापत् तिर्नुपर्ने रकम चालू आर्थिक वर्षको मात्रै बाँकी हो । नभए सबै तिरेका छौं । त्यो रकम आउँदो असार मसान्तभित्र तिर्छाैं,’ अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले भने । यो विषयले अस्पतालको बदनाम हुन थालेको भन्दै छिट्टै सर्वपक्षीय बैठक डाकेर प्रस्ट पार्ने उनले बताए ।


सीएमएससँग मात्रै हैन, अस्पतालको जग्गा विवाद व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) सँग पनि छ । सीटीईभीटीले अस्पतालको सात बिघा जग्गामा नर्सिङ कलेज र कार्यालयहरू सञ्चालन गरेको छ । जसबापत् अस्पताललाई कुनै भाडा रकम आउँदैन । अस्पतालले सीटीईभीटीलाई जग्गा दिएको पनि हैन ।


अस्पतालले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई अनमी कार्यक्रम सञ्चालन गर्न विसंं. २०३३ सालमा जग्गा दिएको हो । तर अनमी कार्यक्रम सञ्चालन भएन । ‘अनमी कार्यक्रम नचलाएपछि अस्पतालसँग कुनै सरोकार नै नराखी सीटीईभीटीईलाई जग्गा दिएको देखिन्छ,’ पौडेलले भने । ७३ साल फागुनमा डेढ बिघा जग्गा तत्काल खाली गर्न भने पनि सीटीईभीटीले अहिलेसम्म उपभोग गर्दै आएको छ ।


‘सीटीईभीटी केन्द्रीय कार्यालयले मन्त्रालय तहमा प्रक्रिया पुर्‍याएर यहाँ कार्यक्रम सञ्चालन गरेको हो । भरतपुर अस्पताल प्रशासनले छाड्नुपर्‍यो भनेर हामीलाई पत्र पठाएको थियो । त्यो केन्द्रमा पठाएका छौं । उताबाट जे निर्देशन आउँछ हामीले त्यही गर्ने हो,’ सीटीईभीटीले सञ्चालन गरेको स्कुल अफ हेल्थ साइन्सका प्रमुख अच्युतराज दाहालले भने । भरतपुर अस्पतालको जग्गा टुक्रा टुक्रा परेर अन्य निकायले पनि प्रयोग गर्दै आएका छन् ।


झण्डै चार विघा जग्गा भरतपुर आँखा अस्पतालले उपभोग गरेको छ । उक्त अस्पताल नेपाल नेत्र ज्योति संघले सञ्चालन गरेको हो । अस्पतालको स्वामित्व रहेको जग्गामा जिल्ला जनस्वास्थ्य कार्यालयको भवन रहेको छ । जनस्वास्थ्य कार्यालयले ओगटेको जग्गा साढे १० कठ्ठा रहेको छ ।


यी ठूला निकायबाहेक साझा औषधि पसलले साढे एक कठ्ठा र रक्तसञ्चार केन्द्रले साढे दुई कठ्ठा जमिनका भवन बनाएका छन् । साझाले विसंं. २०५० साल कात्तिकबाट र रक्तसञ्चार केन्द्रले ४३ सालदेखि भरतपुर अस्पतालको जग्गा उपभोग गर्दै आएका छन् । अस्पताललाई प्रतिष्ठान बनाउने, हजार शय्यासम्मको केन्द्रीय अस्पताल बनाउने योजना रहेका कारण सबै जग्गा अस्पताललाई आवश्यक पर्छ ।


महेन्द्र आदर्श चिकित्सालयको नाममा भरतपुर अस्पलातले विसंं. २०२० सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । सुरुमा १५ र त्यसपछि २५ शय्याबाट सेवा आरम्भ गरेको अस्पतालले अहिले सरकारी दरबन्दीमा तीन सय र निजी स्रोतमा थप तीन सय गरेर ६ सय शय्याको भएको छ ।

प्रकाशित : पुस २४, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?