कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिला वडासदस्यको गुनासो- ‘जिम्मेवारी दिइन्न’

शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं महानगरपालिकाअन्तर्गतका महिला वडासदस्यले आफूहरू जिम्मेवारीविहीन भएको बताएका छन् । वडाअध्यक्षले जिम्मेवारी दिँदा आफूहरूलाई नदिने गरेको उनीहरूको गुनासो छ ।

महिला वडासदस्यको गुनासो- ‘जिम्मेवारी दिइन्न’

अर्कोतिर वडाध्यक्षहरू भने संविधानमै वडासदस्यलाई दिने जिम्मेवारीका विषयमा स्पष्ट नभएकाले त्यस्तो देखिन गएको बताउँछन् ।


कुनै निर्णय गर्नुअघि वा कार्यक्रम ल्याउनुअघि आफूहरूलाई निर्णय प्रक्रियामा सहभागी नगराइने वडासदस्यहरूको गुनासो गर्छन् । आफ्नो नाम नबताउने सर्तमा एक महिला वडासदस्यले भनिन्, ‘के निर्णय भइसकेको हुन्छ । सही गर्ने बेलामा मात्र हामीलाई जानकारी हुन्छ । वडामा बजेट आएको थाहा हुन्छ, कहाँ कसरी खर्च भयो थाहा हुन्न ।’


उनले वडाको बैठक नै नबसी चारै बैठकको माइन्युटमा सही गराउने बेला मात्र सदस्यलाई खोजिने गरेको बताइन् । निर्णय प्रक्रियामा आफ्नो सहभागिता नहुने र वडाध्यक्षले ‘पेल्न खोज्ने’ व्यवहार देखाउने गरेको उनको आरोप छ । वडामा कामको बाँडफाँड नभएकाले आफूहरू कुन, के काम गर्ने भन्नेमा अन्योलमा रहेको उनको भनाइ छ ।


अन्य वडामा पनि वडासदस्यका गुनासा यस्तै छन् । महानगपालिकाकी कार्यपालिका सदस्य तथा वडा नं. ३२ नं. वडाकी सदस्य हीरादेवी पोखरेलले उक्त वडामा भने त्यस किसिमका समस्या नरहेको बताइन् । भन्छिन्, ‘केही वडामा त्यस्ता समस्या रहेको भनी सुनिएका छन् । वडाध्यक्ष, वडासचिवले आफूहरूको कुरा नसुन्ने गरेको वहाँहरू बताउनुहुन्छ ।’ सामान्य भेटघाटका क्रममा महिला जनप्रतिनिधि र विशेष गरी वडासदस्यले आफूहरूलाई कुनै अधिकार नदिइएको र केवल नाम मात्रको जनप्रतिनिधिका रूपमा राखिएको भनी समस्या सुनाउने गरेको उनले बताइन् ।


वडा नं. २६ की वडासदस्य कान्ता अधिकारीको भनाइ पनि उस्तै छ । उनका अनुसार आफ्नो वडामा त्यस्तो केही ठूलो समस्या नभए पनि अन्य वडामा महिला वडासदस्यले केही जिम्मेवारी नपाउने गरेको बताउने गरेका छन् । ‘वडाध्यक्षहरूको जे जति अधिकार छ, त्यो उपयोग गरिरहनुभएकै छ । कति सदस्यलाई दिन मिल्छ त्यो नदिनु खराब हो । कहीँ कतै त्यस्ता गुनासा पनि आएका छन्,’ कार्यपालिका सदस्यसमेत रहेकी अधिकारीले भनिन् । केही वडामा फरक पार्टीका कारणले पनि अध्यक्ष र सदस्यबीच मनमुटावको स्थिति आएको उनले बताइन् ।


‘हामीले जनतालाई जनप्रतिनिधिको हैसियतमा सेवा सुविधा लिन मद्दत गरिदिने हो । कागज पुगे/नपुगेको, सिफारिस गर्दा चिनेको वा नचिनेको भनेर काम गराउन सहयोग गर्ने हो,’ कार्यपालिका सदस्य रमिता कमल स्थापित भन्छिन्, ‘मलाई तत्काल कुनै जिम्मेवारी दिइएको छैन । तर म दुई बजेसम्म राजस्व उठाउने समय भएकाले बस्छु, सेवाग्राहीलाई सक्दो सहयोग गर्छु ।’ उनले आफू जनप्रतिनिधिबीच कुनै मतभेद वा असन्तुष्टि भए वडाभित्रै समाधान गर्ने बताइन् । उनी बिहान–बेलुका भौतिक निर्माण भइरहेका स्थानमा निरीक्षण गर्न जाने गरेकी छन् ।


अर्कातिर वडाध्यक्ष भने जिम्मेवारी दिनेभन्दा पनि आफैं जिम्मेवारी लिने र त्यसलाई बहन गर्न नसक्नु महिलाको कमजोरी रहेको टिप्पणी गर्छन् ।


वडा नं. ३ का अध्यक्ष दीपक केसी पनि महिला वडासदस्यलाई अधिकार र जिम्मेवारी नदिइएकोमा कानुनमै व्यवस्था नहुनुलाई कारक मान्छन् । उनी भन्छन्, ‘मैले वडाको पहिलो बैठकबाटै माइन्युट गरेर सबैलाई जिम्मेवारी दिएँ । सदस्यले आफ्नो जिम्मेवारी भन्दा बाहिरको काम गर्न खोज्नुभएन । जिम्मेवारी दिइएको भन्दा बढी गर्न खोज्दा असन्तुष्टि हुने हो ।’ केसीको भनाइमा वडासदस्यलाई दिइएको जिम्मेवारीलाई नै पूर्ण रूपमा निर्वाह गर्नुको साट्टो महानगरका केही वडासदस्य आफ्नो जिम्मेवारीबाट टाढिएकाले गुनासो आएका हुन् ।


‘यो महानगरको मात्र समस्या होइन । देशभरिकै स्थानीय तहका वडासदस्य यो गुनासो गर्छन्,’ उनले भने, ‘उनीहरूलाई जिम्मेवारी दिइएको हुन्छ । पूरा गरेनन् भनेर कुरेर बस्नुभएन । वडाको प्रमुख भएपछि आएको जिम्मेवारी वहन गर्नैपर्‍यो ।’ यस्तोमा वडासदस्यलाई आफ्नो काम खोसेकोझैं अनुभव हुने उनको भनाइ छ । उक्त वडामा महिनाको ४ पल्ट बस्ने बैठकमा सबैको सहभागिता हुने गरेको, योजना तथा कार्यक्रममाथि पर्याप्त छलफल र बहस हुने गरेको उनको दाबी छ ।


‘वडाका क्रियाकलाप, योजनाको अवस्थालगायतका विषयमा अध्यक्षलाई रिपोर्टिङ गर्नु, योजना ल्याउनु, नक्सापासको सुपरभिजन, नाता प्रमाणित, अदालतको म्याद टाँसजस्ता विषयमा सहयोग गर्नु सदस्यको जिम्मेवारी हो,’ उनले भने । तर, कतिपय वडामा सेवाग्राही आउने समयमा सदस्य उपस्थित नहुने, वडावासीको समस्या नसुनिदिने, दिइएको जिम्मेवारी निर्वाह नगर्नेजस्ता व्यवहार वडासदस्यहरूले देखाउने गरेको उनले बताए ।


महानगरपालिकाभित्र पाँच दर्जनभन्दा बढी महिला वडासदस्य छन् । स्थानीय सरकार सञ्चालन ऐनमा नगरसभाका सदस्यको जिम्मेवारी तोकिए पनि वडासदस्यको जिम्मेवारीबारे केही बोलिएको छैन । उक्त ऐनको दफा १६ को (घ) मा कार्यपालिका सदस्यलाई नगर वा सभाअध्यक्षले दिएको जिम्मेवारी र कार्यपालिकाले दिएको काम गर्नुपर्ने भनिएको छ ।


प्रकाशित : पुस २५, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?