कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखा शल्यक्रियामा अब्बल

हेटौंडामा बर्सेनि करिब ३ हजार जनालाई मोतियाबिन्दुको शल्यक्रिया, छिमेकी भारतका बिरामीसमेत आउने
प्रताप विष्ट

हेटौंडा — आँखा धमिलो भएर अर्काको सहारामा घर भित्र र बाहिर गर्दै आएकी ७० वर्षीया सन्तमाया दोङको जीवनशैली फरक हुने भएको छ । 

आँखा शल्यक्रियामा अब्बल

हेटाैंडा सामुदायिक आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रियापछि आँखाको ज्योति फर्केकाले उनी खुसी भएकी छन् । बकैया गाउँपालिकाकी दोङ दाहिने आँखा मोतियाबिन्दुले ढाकेको थियो । देब्रे आँखा उनको विगत एक दशकदेखि जलबिन्दु भएकाले देख्न सक्दैन थिइन् । जलबिन्दुको उपचार हुन सक्तैन । दाहिने आँखाले देख्न थालेपछि उनले खुसी हुँदै भनिन्, ‘अब कसैको सहारा चाहिँदैन, अब आफैं हिँड्न सक्छु ।’


मोतियाबिन्दुको शल्यक्रियापश्चात् स्वास्थ्यकर्मीले बुधबार आँखाको पट्टी खोल्ने बितिक्कै उनको अनुहार उज्यालो भएको थियो । दाहिने आँखाले बाहिरी संसार देख्ने बितिक्कै उनी खुसी भइन् । रोटरी क्लब मकवानपुर र रोटरी क्लब मिडटाउन काठमाडांैको आयोजना एवं हेटाैंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतियाबिन्दुका रोगीहरूको खोज गर्ने उद्देश्यले मकवानपुरको मकवानपुरगढी र बैकया गाउँपालिकामा आँखा शिविर सञ्चालन गरिएको थियो ।


शिविरमा फेला परेका २ सय ५० जना मोतियाबिन्दुका रोगीहरूलाई आयोजकहरूले हेटाैंडा सामुदायिक आँखा अस्पतालमा ल्याएर नि:शुल्क रूपमा शल्यक्रिया गरेका हुन् । २८ वर्षदेखि ७७ वर्षसम्मका वृद्धवृद्धाहरूको शल्यक्रिया गरेको रोटरी क्लब मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतीले बताए ।


शल्यक्रियापश्चात् दोङजस्तै सबैको आँखाको ज्योति फर्केपछि मख्ख परेका थिए । आउजाउ गर्न, शल्यक्रिया गर्न, खानबस्न सबै आयोजकहरूले व्यहोरेका थिए । पूर्ण नि:शुल्क रूपमा शल्यक्रिया गरिएको थियो ।


स्वास्थ्य क्षेत्रको सेवामा कमजोर रहँदै आएको हेटाैंडामा सामुदायिक आँखा अस्पतालले भने बिरामीको विश्वास जित्न सफल भएको छ । बिरामीको मन जित्नुको साथै सफा, स्वच्छ र सुन्दर वातावरण पनि अस्पतालको अर्को विशेषता हो ।


हेटौंडा उपमहानगरपालिका १० स्थित टीसीएनमा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले दैनिक दुई सय जना आँखाका बिरामीलाई सेवा दिइरहेको छ । एक दशकअघि नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रूपमा उक्त अस्पतालको स्थापना गरिएको थियो । सन् २००८ मा स्थापना गरिएको उक्त अस्पतालले वार्षिक करिब ५० हजार जनाको आँखा परीक्षण गर्ने गरेको छ ।


१० वर्षको बीचमा अस्पतालले ५ लाख ८२ हजार जनाको आँखा परीक्षण गरेको छ भने यो अवधिमा ३३ हजार २ सय ५० जनाको आँखाको शल्यक्रिया गरेको छ । सबैभन्दा बढी २७ हजार १ सय ३० जना मोतियाबिन्दुका रोगीहरूको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । एक बिघा एक कठ्ठा जमिनमा फैलिएको उक्त अस्पताल २०६५ मंसिर ५ गते स्थापना भएको हो । बर्सेनि करिब ३ हजार जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरेको छ । उक्त आँखा अस्पतालमा आँखाको उपचारका निम्ति स्वदेशी मात्र होइनन्, भारतीय नागरिकहरू पनि आउने गर्छन् ।


‘अस्पतालले आँखाको बिरामीको मन जितेको छ, अब हाम्रो चुनौती भनेको हालसम्मको उपलब्धिलाई जोगाउन र नयाँ उपकरण थप्दै सम्पूर्ण आँखा रोगीको उपचार हेटौंडामा हुने व्यवस्था मिलाउनु नै हो, हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर भद्रले भने, ‘अस्पतालका डाक्टर, नेत्र सहायक, कर्मचारीको अथक मिहिनेतका कारण आँखाको उपचारका लागि हेटौंडा नयाँ गन्तव्यको रूपमा अगाडि बढिरहेको छ ।’


हेटौंडामा आँखा परीक्षणका लागि मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र भारतका बासिन्दासमेत आउने गरेको उनले बताए । आँखाका बिरामीहरू खोज्दै अस्पतालले मकवानपुरबाहेक अन्य जिल्लामा समेत आँखाको नि:शुल्क परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । वर्षमा करिब ३५ वटाभन्दा बढी आँखाको नि:शुल्क परीक्षण शिविर संचालन गर्ने गरेको छ । शिविरमा फेला परेका मोतियाबिन्दुका रोगीहरूलाई अस्पतालमा ल्याएर नि:शुल्क रूपमा शल्यक्रिया गर्ने गरेको छ । मकवानपुरबाहेक विभिन्न जिल्लामा आँखाको शिविर सञ्चालन गरेकाले अस्पतालमा बिरामीको चाप बढेको हो ।


दुईजना नेत्ररोग विशेषज्ञ डाक्टरसहित ४० जना अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरू कार्यरत छन् । अस्पतालले मासिक १६ लाख रुपैयाँ बराबरको रकम शुल्कबापत् संकलन गर्ने गरेको छ । अस्पतालमा आँखा परीक्षण गराउन आएका बिरामीसँग नयाँसँग दर्ता शुल्क ९० रुपैयाँ र पुरानोसँग ७० रुपैयाँ मात्र दर्ता लिने गरेको छ ।


‘दर्ता शुल्कबाहेक अन्य रकम अस्पतालले लिँदैन । राजधानीबाहिर रहेका अन्य अस्पतालभन्दा सस्तो र गुणस्तरीय सेवा दिनुको साथै सफासुग्घर भएकाले बिरामीहरूको चाप बढेको हो,’ प्रशासकीय अधिकृत भद्रले भने ।


अस्पतालमा नेत्र रोग विशेषज्ञ २ जना चिकित्सक कार्यरत रहेकाले पछिल्लो समय आँखा रोगीहरूका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटदै गएको छ । आँखा अस्पतालले मकवानपुरको मनहरी साताको एकपटक, पालुङ र छतिवनमा महिनामा एकपटक आँखा परीक्षण सेन्टर सञ्चालन गरिरहेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटै गाउँपालिकामा पुगेर अस्पतालले नि:शुल्क आँखा शिविर सञ्चालन गरिसकेको छ । अस्पतालमा मोतियाबिन्दुका रोगी र आँखा चिलाउने एवं बिझाउने रोगका बिरामीहरू बढी आउने गरेका छन् ।


सुगर रोगीहरूको पनि आँखाको राम्रोसँग परीक्षण गर्न उपकरण पनि रहेको छ । अस्पतालले आँखा जाँच, शल्यक्रिया एवं आँखा स्वास्थ्यसम्बन्धी जनचेतना तथा शिक्षकशिक्षिका, स्वास्थ्य स्वंसेविका र धामी धmाँक्रीहरूलाई चेतनामूलक तालिन प्रदान गर्दै आएको छ । ‘तिलगंगा आँखा केन्द्रको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेत्र रोग विशेषज्ञहरू एवं नेत्र सहायकहरूलाई तालिम प्रदान गर्दै आएका छौं,’ प्रशासकीय अधिकृत श्रेष्ठले भने ।


११ जनाको नानी संकलन

हेटौंडा सामुदायिक आँखा अस्पतालको परिसरमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको उक्त केन्द्रले १२ जना मृतकहरूको आँखाको नानी संकलन गरिसकेको छ । हेटाैंडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटौंंडा उपमहानगरपालिका ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो ।


उक्त आँखाको नानी संकलन केन्द्र स्थापना गर्न हेटांैडा उपमहानगरपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको थियो । मृतक व्यक्तिको नानी संकलन गर्न अस्पतालका स्वास्थ्यकर्मी दाहसंस्कार स्थल, अस्पताल वा घरमा नै पुग्ने गरेका छन् ।

प्रकाशित : पुस २६, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?