कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६० करोडका विद्यालय भवन बन्ने

काभ्रे — एसियाली विकास बैंक (एडीबी) को ६० करोड ऋण सहयोगमा जिल्लाका १० विद्यालय पुनर्निर्माण हुने भएका छन् ।

एडीबीको ५९ करोड ८८ लाख ८४ हजार ३ सय ८३ रुपैयाँको लागतमा बन्ने ती विद्यालयको व्यवस्थापन समिति र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच निर्माण सहजीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण कम्पनीहरूसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोभित श्रेष्ठका अनुसार, अरनिको मावि चौरीदेउरालीको ४ करोड ४० लाख, दाप्चा मावि नमोबुद्धको ७ करोड ४७ लाख, ग्रामोन्नति मावि महाभारतको ८ करोड ६४ लाख, जागृति मावि चौरीदेउरालीको ५ करोड ८ लाख, जोगेश्वर मावि रोशी ६ करोड ४ लाख, जोरपाटी मावि पाँचखालको ५ करोड ६ लाख, कुशेश्वर मावि तेमालको ७ करोड ७ लाख, महाकाली मावि मण्डनदेउपुर ६ करोड ७ लाख, सेतीदेवी मावि भुम्लुको ५ करोड १७ लाख र उमा सहशिक्षालय मण्डनदेउपुरको ४ करोड ८४ लाख रकम बराबरको विद्यालय भवन निर्माण हुनेछ ।

सबै विद्यालयका लागि एकमुष्ट ठेक्का भएर निर्माण कम्पनी पनि छनोट भइसकेको छ । एक साताभित्र निर्माण थालिने इकाईले जनाएको छ । एडीबीले यसअघि भूकम्प आपत्कालीन सहायता कार्यक्रमअन्तर्गत जिल्लाका २८ विद्यालय पुनर्निर्माण गरिरहेको छ । ८ वटा विद्यालय हस्तान्तरण भइसकेको र २० वटाको ९० प्रतिशत काम सकिसकेको श्रेष्ठले जानकारी दिए ।

जिल्लामा भूकम्पमा क्षतिग्रस्त प्राय: विद्यालयमा पुनर्निर्माण भइरहेका छन् । इकाईका अनुसार, प्राधिकरण, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामार्फत क्षतिग्रस्त सबै विद्यालयमा नयाँ भवन निर्माण भइरहेको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काभ्रेका प्रमुख निर्मल घिमिरेका अनुसार, आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा निर्माणाधीन १ सय ३८ विद्यालयका भवनमध्ये ७० वटा सम्पन्न भएका छन् भने ६८ वटा निर्माणको अन्तिम चरणमा छन् ।

आर्थिक वर्ष २०७५/७६ मा ५१ मध्ये ४४ वटा विद्यालयमा सम्झौता भएर काम सुरु भएको छ । ‘चैत मसान्तसम्म अघिल्ला दुई आर्थिक वर्षका विद्यालय भवन निर्माण सक्छांै,’ घिमिरेले भने, ‘यो वर्ष सुरु भएका भवन निर्माण पनि असार मसान्तसम्ममा कुनै पनि हालतमा सक्छौं ।’ घिमिरले बहुवर्षीय कार्यक्रम भएका कारण पनि प्रगति कम भएको स्विकारे ।

जिल्लाका ५ सय ९० सामुदायिक विद्यालयमध्ये तीन सय ५३ पूर्ण रूपमा र एक सय ७४ विद्यालयमा अधिक क्षति पुगेको थियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार, ५ हजार २ सय २० कक्षाकोठामध्ये ९ सय ५४ पूर्ण रूपमा, ९ सय १४ अधिक र १ हजार ४ सय ८३ कक्षाकोठामा सामान्य क्षति भएको थियो ।

प्रकाशित : पुस २६, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?