कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

विद्यालय पुग्न तीन घण्टा

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका सिटिङकी १० वर्षीया सुनीता तामाङ दिनहुँ तीन घण्टा हिंडेर हेलम्बु गाउँपालिकाको छाजोगाङ पुग्छिन् । सिटिङको विद्यालय ३ कक्षासम्म मात्रै भएकाले त्योभन्दा माथि पढ्न छाजोगाङको सर्वोदय मावि आउनुपर्छ ।

‘बिहान ७ बजे हिंड्छु र दस बजे आइपुग्छु । आउजाउमै ६ घण्टा बित्छ,’ उनले भनिन्, ‘बेलुका ४ बजे हिंडे ७ बजे घर पुग्न हम्मे पर्छ ।’ १५ वर्षकी माया तामाङले स्वर मिलाउँदै भनिन्, ‘हामीलाई त धेरै धपेडी हुन्छ, भाइबहिनीहरूलाई झनै कति गाह्रो हुँदो हो ।’ कक्षा ४ मा पढिरहेका बोल्देका ११ वर्षका पासाङ तामाङको पनि तीतो अनुभव छ । ‘अब त बिहान हिउँ नै पर्छ, जाडोमा दौडिँदा झनै गाह्रो हुन्छ,’ उनले भने ।


हेलम्बु गाउँपालिकाको महाकालमा दुईवटा मावि र केही आधारभूत विद्यालय भए पनि टाढा छन् । त्यसैले हेलम्बुको पारिगाउँ, खरबुजे, बोल्दे, पिप्से हँुदै मानेडाँडा, तल्लो सिरिसे गरी २५ बालबालिका घन्टौं हिँडेर आउनुपर्ने बाध्यता छ । २ सय १७ जना बालबालिका अध्ययनरत सर्वोदयमा पनि कक्षा नौसम्म मात्रै पढाइ हुने गरेको प्रधानाध्यापक भरत कार्कीले बताए ।


‘यही दुर्गमताका कारण आवासीय विद्यालय र शैक्षिक कक्षा थपिनुपर्ने माग राख्दै आएका छौं,’ उनले भने । हेलम्बु गाउँपालिकामा यस समस्याबारे सूचना दिएर छलफलको प्रक्रियामा लागेको उनको कथन छ । ‘उहाँहरूले दस कक्षा थप्ने र आवासीय कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।


३६ वर्षमा बल्ल नौ कक्षा

हेलम्बु गापा वडा ५ का अध्यक्ष हर्कबहादुर तामाङले यही सर्वोदय माविमा ३ कक्षासम्म अध्ययन गरेका हुन् । २०३९ सालमा स्थापना भएको यस विद्यालयलाई कक्षा नौसम्म आइपुग्न ३६ वर्ष लाग्यो ।


‘२०६४ सालमा शिशु कक्षा र ०७२ मा आएर ६ कक्षासम्म थप्ने काम भयो,’ उनले सम्झना गरे । क्रमश: वर्षौंपछि ०७३ मा ७, ०७४ मा ८ र अहिले नौ पुगेको उनले प्रस्ट्याए । दस कक्षा नथपिएमा यहाँका बालबालिका चार घण्टाको दूरीमा रहेको नुवाकोटको गोल्फु या ग्याल्थुम पुग्नुपर्नेछ ।

प्रकाशित : पुस २६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?