कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अवरुद्ध मैलुङ–स्याफ्रुबेंसी सडक : ७ महिना ढिलो पन्छाउँदै 

पहिरोले क्षति गरेको ठाउँमा पहिला ट्रयाक खोल्ने काम सम्पन्न गरेपछि मात्र सडक चौडा गरिनेछ
बलराम घिमिरे

रसुवा — पहिरोले अवरुद्ध बनाएको मैलुङ–स्याफ्रुबेंसी सडक ७ महिना ढिलो गरी पन्छाउन थालिएको छ । वर्षातको समय ठाउ ठाउँमा पहिरो गएकाले उक्त सडक खण्ड अवरुद्ध थियो । 

बुधबारबाट पन्छाउने काम सुरु भएको गल्छी(त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताए । ‘वर्षातको पहिरोले सडक धेरै नै क्षति भएको छ,’ उनले भने, ‘धेरै ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने हुन्छ ।’


मैलुङतर्फबाट सडक खोल्न थालिएको छ । अहिले एक वटा स्काभेटर र टिपरको प्रयोग गरिएको छ । शुक्रबार स्याफ्रुतर्फबाट पनि सडक पन्छाउन सुरु गरिनेछ । पहिरोले क्षति गरेको ठाउँमा पहिला ट्रयाक खोल्ने काम सम्पन्न गरेपछि मात्र सडक चौडा गरिने छ । उक्त सडकमा यातायात सञ्चालन हुन बढीमा तीन हप्ता लाग्न सक्ने देवकोटाले जानकारी दिए ।


नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड डबल लेनको हो । १७ किलोमिटर लामो यो सडक गत असारको पहिरोपछि अवरुद्ध थियो । खुलाउन ढिलो भएको भन्दै स्थानीय जनता, व्यवसायीले गुनासो पोख्दै आएका छन् ।


उक्त सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेर गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिसकेको छ । गत जेठमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल मैलुङ पुगेर मैलुङ–स्याफ्रुबेंसी सडकको उद्घाटन गरेका थिए । नयाँ ट्रयाक भएकाले वर्षातको समयमा पहिरो झर्ने हुंँदा उक्त सडक खण्डमा यातायात सञ्चालन गर्न रोक लगाइएको थियो । हिउँदमा पनि नखुल्दा गुनासो बढेको थियो ।


मैलुङ–स्याफ्रुबेंसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने काम सकिएको छ । पहिरोले सडकमा थप क्षति गरेपछि गत असारमा तयार पारिएको डीपीआर संशोधन गरिएको हो । ‘डीपीआर संशोधन गर्ने काम सकिएको छ,’ देवकोटाले भने, ‘अब सडक स्तरोन्नति गर्न छिट्टै नै टेन्डरको काम सुरु हुन्छ । स्तरोन्नति गर्न माघ दोस्रो साता टेन्डरको काम हुन्छ,’ उनले भने ।

कात्तिकबाटै स्तरोन्नतिको काम अघि बढ्ने गरी तयारी गरे पनि डीपीआरको काम पूरा नभएकाले काम पछि धकेलिएको आयोजनाले बताएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण गर्ने काम भइरहेको छ । पहिलो खण्ड गल्छी–त्रिशूली–मैलुङ निर्माणको चरणमा रहेको छ ।


अहिले उक्त खण्डमा टेवापर्खाल, नाली र सडक चौडा गर्ने काम धमाधम भइरहेको छ । करिब ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजनाले बताएको छ । नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेंसी सडक दोस्रो खण्ड हो । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड चीन सरकारले निर्माण गर्ने सहमति भएको छ ।


यो सडक चीन सरकारले निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सडक निर्माण गर्ने कामदार राख्नका लागि चिनियाँ पक्षले जग्गाको खोजी गर्न थालिसकेको छ । अब उक्त सडक पनि छिट्टै निर्माण सुरु हुन्छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक अबको २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य आयोजनाले लिएको छ । गल्छी त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण सम्पन्न भएपछि काठमाडौंलाई चीनसँग जोडने सबैभन्दा छोटो मार्ग हुनेछ ।


काठमाडौंबाट गल्छी, त्रिशूली, बेत्रावती मैलुङ स्याफ्रुबेंसी हुँदै रसुवागढी सजिलै पुग्न सकिन्छ । सडक निर्माण सम्पन्न भएपछि रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी करिब ८४ किलोमिटरको हुनेछ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर रहेको छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर पार गर्नुपर्छ ।


बेत्रावती मैलुङ स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । पासाङ ल्हामु मार्गको बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने हुन्छ । बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुसम्म पुग्न गाडीलाई कुनै पनि घुम्ती पार गर्नु पर्दैन । काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामा पुग्न सकिनेछ ।


गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक दक्षिण एसिया जोड्ने लाइफ लाइनको रूपमा रहनेछ । गल्छी–त्रिशूली–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र (दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा(गल्छी हुँदै त्रिशूली बेत्रावती(मैलुङ(स्याफ्रबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी करिब २ सय ३० किलोमिटर हुनेछ ।


रसुवागढी–केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ । तिब्बती रेलमार्ग सिगात्सेसम्म आइपुगिसकेको छ । सन् २०२०–२२ सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने उसको दाबी रहेको छ । चीन सरकारले रसुवागढी नाकालाई पहिलो प्राथमितामा राखेको छ ।


त्यसैले आफ्नो भूभागतर्फ तीव्र रूपमा भौतिक विकास गरिरहेको छ । पारिपट्टि चिनियाँ भूभागमा आधुनिक भवन र केरुङ पुग्न दुई लेनको कालोपत्रे सडक बनिसकेको छ । भूकम्पका कारण तातोपानी नाकाबन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट हुँदै आएको छ । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।

प्रकाशित : पुस २८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?