नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले शनिबार यहाँ पत्रकार सम्मेलन गरी वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र गत वर्षदेखि पञ्चकन्या घलेगाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । 

नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घलेगाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए । सो अवसरमा पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ ।
यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले पत्रकारसम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा सुरु गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ ।

बाह्र वर्षदेखि यो पर्वलाई मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सञ्चनाल गर्ने विषयमा स्थानीयवासीबीच मनमुटाब बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला सुरु गर्न थालिएको छ ।

प्रकाशित : पुस २८, २०७५ १६:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोतगढीमा तोप पुनर्स्थापनाको माग

ज्योति कटुवाल

(दैलेख) — ऐतिहासिक कोतगढीमा तोप पुनर्स्थापना गर्न स्थानीयले माग गरेका छन् । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीमा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा स्थानीयले तोप पुनर्स्थापनाको माग गरेका हुन् ।

नेपाली सेनाको उत्तर(पश्चिम पृतना र इन्द्रदल गुल्मद्वारा आयोजित कार्यक्रममा कोतगढीको संरक्षण तथा सम्बद्र्धनमा जोड दिइयो । सदरमुकामस्थित गढीमा तोप पुनर्स्थापना भए आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने र गढीको महत्व बढ्ने स्थानीयको भनाइ छ । गढीमा ऐतिहासिक महत्वका ‘सुन्दरी’ र ‘अर्गा’ नामक दुई तोप थिए । केही वर्षअघि ज्वाला दल गण दैलेखबाट सुर्खेत सर्ने क्रममा तोप सुर्खेत स्थानान्तरण गरिएको थियो ।

गढीमा तोप रहँदासम्म दसैंलगायत महत्वपूर्ण चाडमा तोपको बढाई पछिमात्र पूजाआजा तथा टीका थाप्ने कामको सुरुआत हुन्थ्यो । नागरिक समाज अध्यक्ष खड्गबहादुर सिजातीले तोप पुनर्स्थापना गर्नसके मात्र गढीको पहिचान हुने जनाए । गढी क्षेत्रको ऐतिहासिक र मौलिक मर्मलाई सम्मान गर्दै जीर्णोद्वार गरिनुपर्ने उनको भनाइ छ ।

उत्तर-पश्चिम पृतनाका निमित्त पृतनापति अर्जुन श्रेष्ठले कोतगढी जुनसुकै निकायको स्वामित्वमा रहे पनि संरक्षण हुनुपर्ने बताए । सेनाले मात्रै रेखदेख गर्ने हो भने हप्ताको दुई दिन गेट खुलाउन सकिने उनले बताए ।

जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर थापाले कोतगढीको संरक्षण तथा संवर्द्धका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ विनियोजन गरेको बताए । नारायण नगरपालिकाले विनियोजन गरेको १० लाख रुपैयाँले यसको गुरुयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खडाले कोतगढीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके नगरको आयमा वृद्धि हुने बताए ।

इन्द्र दल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले कोतगढी नजिकै रहेको बारुदखानामा वृक्षारोपण गर्ने योजना रहेको जनाए ।

प्रकाशित : पुस २८, २०७५ १६:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT