२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

३१ वर्ष एउटै कार्यालयमा 

नुवाकोट — काभ्रे भुम्लु गाउँपालिका ६, कोलाचिँका मुरलीप्रसाद थपलियालाई नुवाकोटको त्रिशूली टेकेको अस्तिझैं लाग्छ । तर किसानको सुखदु:खका सारथी बनिरहेका उनी जब एकै ठाउँमा बिताएको समय हिसाब गर्न थाल्छन् । तब झस्कन्छन् ।

३१ वर्ष एउटै कार्यालयमा 

‘३१ वर्ष एकै ठाउँमा बिताए छु,’ उनले भने, ‘बैंस छँदै आएको थिएँ, बुढेसकाल लागेर फिर्ता हुँदै छु ।’ उनी त्रिशूलीस्थित मत्स्य अनुसन्धान केन्द्रमा प्राविधिक अधिकृतका रूपमा कार्यरत छन् । उमेरले ५६ टेके ।


सुरुमा अनुसन्धान केन्द्रअन्तर्गतकै गठखार माछापोखरीमा अस्थायी रूपमा काम गरे । पछि स्थायी भएर त्रिशूली आए । एउटै कार्यालयमा यति लामो समय कर्मचारी कमै बस्छन् । कमै टिक्छन् । आवश्यकताअनुसार कर्मचारीको सरुवा गरिन्छ । तर सरकारी कार्यालयमा जुन कार्यालयबाट जागिर सुरु गर्‍यो, त्यहीबाट अवकाश पाउने कर्मचारी कमै हुन्छन् । ‘खै राम्रो काम गरेकै कारण त सरुवा नभएको होला,’ उनले भने, ‘काममा कार्यालयले प्राय: मलाई नै खोज्छ, गाउँगाउँका किसानले पनि मलाई नै खोज्छन् ।’


उनले नुवाकोटको डाँडापाखा चाहरे । कहाँ माछापालन हुन्छ, कहाँ हुँदैन । राम्रो हेक्का राखे । आफ्नो जिल्ला काभ्रेबारे कम जानकार होलान्, तर नुवाकोटका बारेमा सबै थाहा छ । घर वर्ष दिनमा एकपटक, त्यो पनि चाडबाडको समयमा मात्र पुग्छन् । नुवाकोट छाड्ने समय नजिकिँदै छ । ०७७ पुसमा अनिवार्य अवकाश पाउँदै छन् । सबैभन्दा धेरै थाहा पाएको उनले रेन्बो ट्राउट माछापालनबारे हो । ०४५ सालमा जिल्लामा पहिलो पटक ट्राउट माछाको अाँखा बनेको अण्डा भित्रियो । उनी त्योभन्दा पहिल्यै ०४४ सालमा नुवाकोट पुगे ।


०५५ सालमा पहिलो पटक ४ सय भुरा तयार भयो । कसलाई दिने, कहाँ पाल्ने भन्ने निक्र्यौल थिएन । उनीसहितको टोली सदरमुकाम विदुरबाट करिब ४० किमिको दूरीमा रहेको ककनी पुगे । जहाँ किसान गोपाल लामा माछापालन पाल्न उत्सुक थिए । ‘सुरुमा लामाको माछा पाल्ने ठाउँ हेर्‍यौं, जहाँ अलैंचीका लागि सिँचाइ गर्न बनाइएका दह थिए,’ उनी पुराना कुरा स्मरण गर्दै भन्छन्, ‘त्यसैमा ४ सय भुरा नि:शुल्क राख्न दियौं ।’ ३ वर्षसम्म नि:शुल्क भुरा दिएर लामालाई ट्राउट पाल्न प्रेरित गरेको उनले सुनाए ।


४ सय हुँदै लामालाई ६ हजारसम्म भुरा केन्द्रले नि:शुल्क दियो । थपलियाका अनुसार लामा नै नेपालमा पहिलो पटक व्यावसायिक रूपमा ट्राउट पाल्ने किसानमा पर्छन् । तर अहिले लामा छैनन् । लामाको निधनपश्चात परिवारले पेसालाई निरन्तरता दिँदै आएका छन् ।


उनको सिको गर्दै जिल्लामा ट्राउट पाल्ने किसान बढे । सबैभन्दा धेरै ४० ट्राउट फार्म नुवाकोटमै छन् । अहिलेसम्म उनले ७ वटा हाकिमसँग काम गरिसके । कम बोल्ने, मिजासिला स्वभावका थपलियालाई नचिन्ने सायदै भेटिएलान् । ‘कस्तो ठाउँमा माछा पाल्न सकिन्छ, कस्तो पानी चाहिन्छ, तापक्रम कस्तो चाहिन्छ जस्ता प्राविधिक सल्लाह किसानलाई दिँदै आएको छु,’ उनी भन्छन्, ‘कहिले अक्सिजनसहित माछाको भुरा बोकेर त कहिले आँखा बनेको अण्डा बोकेर किसानको घरगाउँसम्म पुग्छु ।’ थपलियाका १ छोरा, २ छोरी र श्रीमती छन् । परिवार काभ्रेमा भएकाले परिवारलाई समय दिन भ्याउँदैनन् ।


कार्यालयमा १६ जना कर्मचारीमध्ये प्राविधिकमा सबभन्दा पुराना उनै हुन् । माछाका भुरा, अण्डा बोकेर डोटी, बागलुङसम्म पुगेको उनले सुनाए । अहिले ट्राउट पालनमा किसानको आकर्षण बढ्दो छ । त्यसमा पनि युवा किसान बढी आकर्षित छन् । कर्मचारी सबैले उनलाई माया गर्छन् ।


नयाँ हाकिम आउँदा अनुसन्धान केन्द्र र जिल्लाको बारेमा उनैलाई सोध्छन् । ‘लामो समय माछाको हेरचाहमा बिताइयो,’ उनी भन्छन्, ‘केही लोभलालच राखिएन, कार्यालयमा जे काम लगाइन्थ्यो, त्यो इमानदारिताका साथ पूरा गरियो ।’


मत्स्य अनुसन्धान केन्द्रमै किसान माछा पालनबारे बुझ्न आउँछन् । मत्स्यसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीको सिकाइको गन्तव्य पनि केन्द्र नै बन्छ ।

प्रकाशित : पुस २९, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?