१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्थानीय तहमा ‘संसद्’

काभ्रे — स्थानीय तहको बैठक पनि संसदीय अभ्यासअनुसार गर्न थालिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा जस्तै नगरसभाका सदस्यले बैठकमा संसदीय अभ्यास गरेका हुन् । ‘व्यवस्थित हुने र समयको पनि बचत हुने,’ नगरप्रमुख टोकबहादुर वाइबाले भने, ‘संसदीय अभ्यासअनुरूप सभा सञ्चालन गर्दै आएका छौं ।’

स्थानीय तहमा ‘संसद्’

प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य र मनोनीत ३ जना नगरसभा सदस्य हुन्छन् । १२ वडा रहेको मण्डनदेउपुर नगरमा ६५ नगरसभा सदस्य छन् । उनीहरूले बैठकमा प्रस्तुत भएको कार्यसूचीमा आफ्नो धारणा राख्ने, संशोधन हाल्ने लगायतका काम गर्छन् । काभ्रेका १३ स्थानीय तहमध्ये अधिकाशंले संसदीय अभ्यासअनुुसार नै बैठक सञ्चालन गर्दै आएका छन् ।


स्थानीय तहले छुट्टै सरकारको रूपमा रहेपछि नगर सभाले व्यवस्थापकीय, नगर कार्यपालिकाले कार्यपालिकीय र न्यायिक समितिले न्यायपालिकाको अधिकार प्रयोग गर्दै आएका छन् ।


हिउँदे सभाको अध्यक्षता गरेका नगरप्रमुख वाइबाले करको दर तथा दायरा पुनरावलोकन प्रस्ताव पेस गरेका छन् । उपप्रमुख निर्मला शाहीले अनुगमन र न्यायिक समितिको प्रतिवेदन पेस गरेकी छन् । सभाको सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले वित्तीय प्रगति र भौतिक प्रगति पेस गरेका छन् ।


चौथो नगरसभामा मदिरा नियन्त्रण, सुर्तीजन्य पदार्थ बेचबिखन तथा ओसारप्रसार नियन्त्रण सम्बन्धी ऐन प्रस्तुत हुँदै छ । शिक्षासम्बन्धी ऐन र न्यायिक समितिको कार्यविधिको संशोधन सम्बन्धी प्रस्ताव पनि प्रस्तुत हुने प्रमुख प्रशाकीय अधिकृत अधिकारीले जानकारी दिए । सोमबार पनि बस्ने बैठकले ती प्रस्तावउपर छलफल गरेर पारित गर्नेछ ।


पुँजीगत खर्च ५ प्रतिशत मात्रै

मण्डनदेउपुर नगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ५ दशमलव ०९ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

आव ०७५/७६ का लागि २९ करोड ८९ लाख ८० हजार ३७४ बजेट विनियोजन भएकोमा १ करोड ५२ लाख १ हजार ४४७ मात्रै खर्च भएको हो ।


प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले चौथो नगरसभामा पेस गरेको वित्तीय विवरणमा पूर्वाधार विकासतर्फ छुट्टिएको ९ करोड ७ लाखमध्ये ७९ लाख ९१ हजार ९७१ मात्रै खर्च भएको उल्लेख छ । यो कुल बजेटको ८ दशमलव ८१ प्रतिशत हो ।


सामाजिक विकासतर्फ ३० लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४ लाख, संस्थागत विकासका लागि ११ लाख ५५ हजार र मर्मत सम्भार कोषतर्फको १९ लाख २१ हजार खर्च भएको छ । चालुतर्फ भने ३३ दशमलव ५१ प्रतिशत बजेट खर्च भएको छ ।

प्रकाशित : पुस ३०, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?