कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मापदण्ड पुर्‍याउन धमाधम सुधार

भूकम्प आउँदा सबैभन्दा बढी चुलीगाह्रो भत्केका थिए, बन्धन राखेर लगाइएका भने मापदण्डअनुकूल

रामेछाप — गाउँमा प्राविधिक पुग्नुअगावै निर्माण गरेका घरहरू मापदण्डअनुकूल नहुँदा आवास निर्माणका लागि दिइने अनुदान किस्ता रोकिएपछि अहिले सुधान गर्न थालिएको छ ।

बिनाबन्धन ढुंगामाटोका घर बनाउने भूकम्पपीडितहरूले प्राविधिकको दिएको डिजाइनबमोजिम आफ्ना घर सुधार गरी किस्ता झिक्न थालेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण भइसकेका घरको हकमा सुधार गरी किस्ता भुक्तानी गर्न सकिने गरी कार्यविधि ल्याएकाले त्यस्ता घर सुधार भएका हुन् ।


‘हाम्रोमा करिब ६० मापदण्ड नपुगेका घर सुधार भएका छन्,’ साविकको हिमगंगा गाविसमा कार्यरत इन्जिनियर हुकुमदेव साहले भने । उनले खासगरी बढी उचाइ भएका, काठको बन्धन राखी दुईतला लगेका, ठाडो बन्धन नभएका, चुलीगाह्रो लगाइएका घरमा सुधार गराई किस्ता प्रवाहका लागि सिफारिस गरिएको बताए ।


जिल्लामा सबैभन्दा बढी घर साविकको दुरागाउँ गाविसमा सुधार गरिएका छन् । भूकम्पबाट बढी क्षति भएकाले यहाँ प्राविधिक पुग्नुअघि धेरै घर निर्माण भएका थिए । सुरुमा काठको बन्धन राखेर पनि घरहरू पास हुने हल्ला भएपछि त्यसैअनुसार घर निर्माण गरेका पीडितहरूले २ तले बनाएका थिए । त्यस्तो घरहरूलाई माथिल्लो तलाको गाह्रो भत्काउन लगाएर हाल किस्ता प्रवाह गरिएको छ ।


रामेछाप १, गोठगाउँमा मात्र ८८ घर चुलीगाह्रो भत्काउन लगाउनुका साथै माथिल्लो बन्धन हाल्न लगाएर किस्ता सिफारिस गरेको प्राविधिक कल्पना नेपाली बताउँछिन् । ‘अझै ७ घर मापदण्डअनुकूल बनाउन बाँकी छ,’ उनले भनिन्, ‘सुधार गरेपछि मात्र तेस्रो किस्ताका लागि सिफारिस गर्छौं । गोठगाउँमा अधिकांशले चुलीगाह्रो हालेका थिए । ढुंगामाटोको जोडाइमा बनेका घरहरूमा चुलीगाह्रोको साटो साधाजस्ता पाताले छेक्ने चलन छ । भूकम्प आउँदा सबैभन्दा बढी चुलीगाह्रो भत्केका थिए । बन्धन राखेर लगाइएका चुलीगाह्रो भने मापदण्डअनुकूल हुने नेपालीले बताइन् ।


जस्तो बनेको छ त्यस्तै घर पास गरिदिन जनप्रतिनिधिहरूले बारम्बार प्राविधिकलाई दबाब दिए पनि सोअनुरूपको कार्यविधि र निरीक्षण फाराम नआउँदा प्राविधिकहरूले आलोचना खेप्नुपरेको छ । ‘चाँडो कार्यविधि र निरीक्षण फाराम आइदिए हामी आलोचनाको भागिदार भएर बस्नुपर्ने थिएन,’ एक प्राविधिक भन्छन् ।


भूकम्पपीडितका निजी आवास पुनर्निर्माण गर्दै आएको प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनमा कार्यरत जिल्ला सहयोगी इन्जिनियर केशव पाण्डेयका अनुसार रामेछापमा सबै गरी करिब २ हजार हाराहारीका घरले प्राविधिक पक्षको विश्लेषण र सुधार गरी किस्ता पाएको बताए ।


मापदण्डमा कुनै कुरा नपुगे त्यस्तो घरलाई गाउँमा कार्यरत प्राविधिकहरूले पाण्डेको डेस्समा पठाउने गर्छन् । पाण्डेले घरको लम्बाइ, चौडाइ र उचाइका अतिरिक्त, प्रयोग भएका निर्माण सामग्रीका आधारमा विश्लेषण गरी किस्ता पाउने या नपाउने कुराको टुंगो दिँदै आएका छन् ।

प्रकाशित : माघ १, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?