कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघे संक्रान्ति : लोप भयो चरा मार्ने परम्परा

हेटौंडा — ऐन कानुनमा चरा संरक्षणका निम्ति जुनसुकै कुरा लेखिएको भए पनि मकवानपुरको उत्तरी क्षेत्रमा केही वर्षअघिसम्म एउटा यस्तो परम्परा थियो, जुन दिन रैथाने चरा स्थानीयको निसानामा पर्थे ।

माघे संक्रान्ति : लोप भयो चरा मार्ने परम्परा

हरेक माघे संक्रान्तिलाई ‘चरा लखेट्ने’ पर्वका मनाइन्थ्यो । स्थानीय भेला भई रैथाने चरालाई खेदीखेदी मार्थे । विगत एक दशकदेखि यो चलन हराएको छ । स्थानीय सरकारी वनलाई समुदायले जिम्मा लिएर संरक्षण र व्यवस्थापन गर्न थालेपछि चोरी, सिकारी नियन्त्रणसँगै चरा मार्ने परम्परा पनि हराएको हो ।


‘माघे संक्रान्तिका दिन भ्याकुर र संग्रेला जातका चरा लखेटेर माथ्र्यौं,’ स्थानीय दुर्गाबहादुर कार्कीले भने, ‘अहिले यो चलन हराएको छ ।’ भ्याकुरसँगै सयौंको संख्यामा बथान भएर नजिकबाट उड्ने र खनीखोस्री चर्न मन पराउने संग्रेला जातको चरा बढी मारिन्थ्यो । संक्रान्तिका दिन संग्रेला लखेट्न गाउ‘घरका सबैलाई उर्दी जारी गरिन्थ्यो ।


मकवानपुरको थाहा नगरपालिका ३, घर्तीखोलाका देवबहादुर कार्की विगत स्मरण गर्दै भन्छन्, ‘जंगलबाट खेदेर बेंसीसम्म आइपुग्दा आत्तिएर बेहोस जस्तै भएका चरालाई कसैले त्यत्तिकै समात्थे, कसैले लाठीले हिर्काउथे ।’ चरा मारेर चाँड मनाउने चलन भएकाले गाउँघरमा अहिले पनि माघे संक्रान्तिमा खाइने मासुलाई ‘सिकार’ भन्ने चलन छ । अहिले गुलेली बोकेर हिँड्ने सिकारी पाइँदैन । अहिले चरा मार्नुभन्दा पनि संरक्षण गर्नुपर्नेमा सबैले जोड दिँदै आएका छन् ।


दुवाली छेकेर संक्रान्ति

माघे संक्रान्तिलाई थारु जातिले मात्र होइन, मकवानपुरका माझी समुदायले पनि भिन्न तरिकारले मनाउने गरेका छन् । माघे संक्रान्तिको अघिल्लो दिन मसान्तको दिन आफ्नो घर, बस्ती नजिकको खोलामा दुवाली छेकेर डढिया र घिङग्री रातभर थापेर त्यस्मा परेको माछा खाएर संक्रान्ति मनाउने गर्छन् ।


मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका ६, जुइनाका माझी समुदायले सोमबार अर्थात् मसान्तका दिन स्थानीय खोलामा दुवाली छेकेर माछा मार्ने काम गरेका छन् । दुवाली छेकपछि डढिया र घिङग्री रात भर थाप्ने गरिन्छ । माझी समुदायका युवा डढिया र घिङग्री थापेको नजिक आगो बालेर रातभर जागाराम बस्ने गर्छन् ।


डढिया र घिङग्रीमा परेको माछामा सामूहिक रूपमा भाग लगाएर घरमा लगेर पकाएर खाने गर्छन् । उसिनेको तरुल, सखरखण्ड, घिउ चाकुसहित खाने गर्छन । माघे संक्रान्ति मनाउन छोरीज्वाइँ आफन्तहरू आउने गर्छन् । जुइनाका कृष्ण माझीले भने, ‘छिमेकी र आफन्तका गएर खानपिन गरिन्छ, माझी समुदायले खोलामा दुवाली छेक्ने बेला अन्य जातिका मानिस आएर हेर्ने गर्छन् । माघे संक्रान्तिका दिन दुवाली छेकेर माछा मारेर खाने यो हाम्रो ऐतिहासिक परम्परा हो ।’ मकवानपुरमा रहेका प्रत्येक माझी बस्तीमा मसान्तको दिन दुवाली छेकेर माछा मार्ने गरिन्छ ।

प्रकाशित : माघ १, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?