१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रसुवागढी नाका : ७६ हजार पर्यटक भित्रिए

रसुवा — भूकम्पपछि रसुवागढी नाका हुँदै ७६ हजार ३ सय ६३ पर्यटक नेपाल भित्रिएका छन् । चिनियाँ र तेस्रो मुलुकका गरी ७६ हजार ३ सय ६३ पर्यटक भित्रिएको अध्यागमन कार्यालय रसुवागढीेले जनाएको छ ।

रसुवागढी नाका : ७६ हजार पर्यटक भित्रिए

रसुवागढी नाका हुँंदै नेपाल भित्रने पर्यटकको संख्या बर्सेनि बढिरहेको छ । २०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटकले नेपाल प्रवेशका लागि रसुवागढी नाका प्रयोग गर्दै आएका छन् । भूकम्पअघि पर्यटकले तातोपानी नाका प्रयोग गर्थे ।


चीनले २०७४ भदौ १४ गते रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका छन् । यो नाका हुँदै नेपाल आउने तेस्रो मुलुकको पर्यटकमा स्विडेन, अमेरिका, डेनमार्क, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, जर्मन, हल्यान्ड, इन्डियन, क्यानडा, रसियाका नागरिक छन् ।


अन्तर्राष्ट्रिय नाका घोषणाअघि चिनियाँ पर्यटकले मात्र यो नाका प्रयोग गर्दै आएका थिए । सन् २०१५ मा १० हजार ६ सय ४९ पर्यटक आएका छन् । २०१६ मा १७ हजार २ र २०१७ मा १९ हजार ४ सय ७८ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयको तथ्यांक छ ।


सन् २०१८ मा २९ हजार १ सय ५४ पर्यटक आएको अध्यागमन कार्यालय प्रमुख विष्णु घर्तीले बताए । ‘यो नाका हुंदै सन् २०१८ मा सबैभन्दा धेरै पर्यटक आएका छन्,’ उनले भने, ‘सोही अवधिमा १९ हजार ८ सय ७५ पर्यटक बाहिरिएका छन् ।’ रसुवागढी नाका हुँदै चिनियाँ पर्यटक धेरै आएका छन् । भारतीय तीर्थयात्रीले पनि कैलाश मानसरोवर जान रसुवागढी नाका प्रयोग गर्न थालेका छन् ।

रसुवागढी हुँदै नेपाल आउने पर्यटकमा करिब ८० प्रतिशत चिनियाँ छन् ।


सन् २०१८ को जुनमा ५२ देशका ४ हजार ८ सय ३० पर्यटक आएका छन् । मार्चमा १३ देशका ३ सय ६८ पर्यटक आएका छन् । नेपाल घुम्न चिनियाँ पर्यटकले एक वर्षमा १ सय ५० दिनसम्मको फ्री भिसा पाउँंदै आएका छन् । यहाँ आउने अधिकांश चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । उनीहरू ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गर्छन् ।


करिब १० प्रतिशत पर्यटक मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् । चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जान चाहन्छन् । रसुवागढी हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा असहज हुने चिनियाँ पर्यटकको गुनासो छ ।

प्रकाशित : माघ १, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?