१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

विद्युत् विस्तार गर्न जंगल फँडानी

‘कटुस, लप्सी, ओखर, लालीगुराँस, मौवा, काफल, चिलाउनेलगायत पुराना र महत्त्वपूर्ण ८ प्रजातिका ३ हजारभन्दा बढी रूख फँडानी भएको छ’

धादिङ — ग्रामीण विद्युतीकरणका नाममा खनियाबासका २ सामुदायिक वन क्षेत्रको जंगल सखाप भएको छ । विद्युत् विस्तार गर्दा तार तान्ने पोल गाड्नुपर्ने ठाउँबाट अधिकतम ३/३ मिटर खाली गर्नुपर्नेमा १५ देखि २५ मिटरसम्मका सयौं वर्ष पुराना जंगल फँडानी गरिएपछि स्थानीय तहले आपत्ति जनाएको हो ।

नुवाकोटको त्रिशूलीबाट यसअघि नै विद्युतीकरण गरिएको क्युङबाट खनियाबासको अक्थली पुर्‍याउने ७ किमि जंगल फाँडिएको थियो । उक्त विद्युतीकरणका लागि ३६ लाखमा ठेक्का लिएका ठेकेदार बाबुकृष्ण श्रेष्ठबाट निर्माण गर्ने जिम्मा लिएका स्थानीय मंगल तामाङले सयौं वर्ष पुराना करिब ३ हजार रूख कटान गरेको ती सामुदायिक वनले आरोप लगाएका छन् ।


खनियाबास २ क्युङस्थित तेङबर सामुदायिक वनका अध्यक्ष वचौबहादुर तामाङ र कोस्यिङचो सामुदायिक वनका अध्यक्ष डाप लामा तामाङले विद्युत् पोल गाड्ने र तार तान्ने क्षेत्रका रूख काट्नुपर्ने भनेर लिखित त के मौखिकसमेत कसैले नसोधेको दाबी गरे । ‘पोल गाड्ने र तार तान्ने क्षेत्रमा कम्तीमा अढाई मिटरदेखि बढीमा ६ मिटरसम्म आवश्यकता पर्छ,’ प्राधिकरण जिल्ला प्रमुख ध्रुव थापाले भने, ‘२५ मिटर त धेरै हो, रूख काट्ने अनुमति हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन ।’


ठेकेदारले सम्बन्धित वडा वा गाउँपालिकासँग कुनै अनुमति नलिई जंगल फाँडेपछि हामीले स्थानीय दार्खा प्रहरी चौकीबाट अध्ययन गराएको वडा २ का अध्यक्ष टेकबहादुर तामाङले बताए । ‘सयौं वर्ष पुराना कटुस, लप्सी, ओखर, लालीगुराँस, मौवा, काफल, चिलाउनेलगायत महत्त्वपूर्ण ८ प्रजातिका ३ हजार रूख ढालिएको छ । यसबारे जिल्ला वनलाई जानकारी गराएको उनले बताए । जडीबुटी प्रशस्तै हुने उक्त क्षेत्रमा ठूला रूखले साना जडीबुटीको पनि विनाश भएको सामुदायिक वनका पदाधिकारीको आरोप छ ।

‘रूख काटिएको जानकारी आएसँगै दार्खास्थित इलाका वन इन्चार्ज सञ्जय मिश्रलाई अध्ययन गरी प्रतिवेदन पठाउन भनेका छौं,’ जिल्ला वन डिभिजन प्रमुख हरिहर सेढाईंले भने, ‘सोही प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रकाशित : माघ १, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?