कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

देवघाटमा मकर स्नान

चितवन — माघे संक्रान्तिको दिन मंगलबार बिहान सात बजे एउटा समूहले देवघाट त्रिशूली नदी किनारमा बालन (एक प्रकारको भजन) गुन्जाइरहेको थियो । प्राय: यस क्षेत्रमा नसुनिने बालनले धेरैको ध्यान तान्यो ।

देवघाटमा मकर स्नान

गाउने र नाँच्ने शैली भजनको भन्दा फरक थियो । खैजडी र मजुराको तालमा खुट्टा उचाल्दै नाँच्ने तरिका र नाँच्नेकै समूहको एकजनाले लिंगोमा बाँधेको छत्र नचाउने तरिका यो क्षेत्रका लागि नौलो थियो ।


त्यो बालन टोली नुवाकोटबाट आएको थियो । बेलकोटगढी–१० राधाकृष्ण बालन संरक्षण समितिको टोली सोमबार नै आएर देवघाट बसेको थियो । मंगलबार बिहानै त्रिशूली र कालीगण्डकीको संगम स्थलमा स्नान गर्नका लागि डुंगाको प्रतीक्षा गर्दा पनि उनीहरू बालनमा नै मग्न थिए । त्यति मात्रै हैन डुंगामा पनि बालन गाएर छत्र नचाए । समितिमा सदस्य शिवराम तिवारी पाँच वर्षदेखि यसरी नै माघे संक्रान्तिमा देवघाट आउने गरेको बताए ।


लमजुङ राइनास–९ बाट आएका राजमान गुरुङ नदी संगममा नुहाएर जल चढाउँदै थिए । आफू बौद्ध भए पनि माघे संक्रान्ति नुहाउन देवघाट आएको उनले बताए । ‘बौद्ध हँु, त्यहीअनुसारको संस्कार छ । तर देवघाट आउने हाम्रो पुरानो चलन हो । म त पहिलो पटक आएको हुँ । तर हाम्रो समाजबाट पहिल्यैदेखि यहाँ आउँथे,’ राजमानले भने ।

राजमानजस्ता बौद्ध मार्गीहरू देवघाट नुहाउन अरू पनि धेरै नै आएका थिए । गोसाइँकुण्डबाट बग्दै आएको त्रिशूली र मुक्तिनाथबाट बग्दै आएको कालीगण्डकी नदी देवघाटमा एकआपसमा मिसिएका छन् । यी दई नदीको संगमस्थलमा माघे संक्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास राखेर नुहाउन आउनेहरूको भीड लाग्छ । ‘स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि आउँछन् । हिन्दुका साथै यस दिन बौद्धहरू पनि आउने गरेका छन्,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने ।


देवघाटधाममा रहेका आश्रमका पिठाधीशहरूले लिंगो गाडेपछि औपचारिक स्नान सुरु हुन्छ । यस दिन देवघाटमा ब्रतबन्ध गर्नेहरूको पनि भीडभाड हुन्छ ।


‘मकर स्नानका लागि विगतका वर्षहरूमा पाँच लाखको हाराहारीमा ठाउँठाउँबाट भक्तहरू आउने गरेका हुन् । तीन दिनसम्म यही बस्ने भक्तहरूको संख्या पनि धेरै नै हुन्छ । यज्ञहरू पनि आयोजना हुन्छन् । यो वर्ष पनि विगतमा जति नै भक्तहरू आएका छन्,’ देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरन घिमिरेले भने ।


कान्तिपुरकर्मी नदीमा बेपत्ता

कान्तिपुर पब्लिकेसन्स भरतपुर क्षेत्रीय कार्यालय छापाखानामा कार्यरत मेसिन सहायक अमृत भनिने २४ वर्षीय चित्रबहादुर गुरुङ मंगलबार मकर स्नानका क्रममा देवघाट कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।

देवघाट मकर मेला व्यवस्थापन समितिका सहसंयोजक शिवकान्त तिवारीका अनुसार बिहान साढे नौ बजेतिर उक्त घटना भएको थियो । गुरुङको खोजी तथा उद्धारमा सशस्त्र प्रहरी खटेको छ । तर मंगलबार अबेलासम्म गुरुङको अवस्था अज्ञात छ । नवलपुर गैंडाकोट– ८ घर भएका गुरुङ अढाई वर्षदेखि कान्तिपुरको भरतपुर कार्यालयमा कार्यरत थिए ।


मगर समुदायमा उत्साह

माघ एक मगर समुदायको पनि नयाँ वर्ष हो । चितवनमा नेपाल मगर संघ जिल्ला कार्य समितिले मंगलबार नारायणगढ क्याम्पाचौरमा माघे संकराती विषेश कार्यक्रम आयोजना गर्‍यो । पूर्व सभामुख ओनसरी घर्ती मगर प्रमुख अतिथि रहेको कार्यक्रममा मगर समुदायका मौलिक नाँच, परिकार र खेलहरू प्रस्तुत भए । नयाँ वर्षलाई मगरहरू आफ्नो भाषामा मिन्हामल्हेस भन्ने गर्छन् ।


‘माघ एक गतेलाई मकर संक्रान्ति भने पनि हामी बोलीचालीको भाषामा माघे संकराती भन्छौं । यो हाम्रो नयाँ वर्ष हो । नयाँ वर्षलाई हाम्रो भाषामा मिन्हामल्हेस भनिन्छ,’ नेपाल मगर संघ चितवन शाखाका अध्यक्ष खिमबहादुर थापा मगरले भने । विसं. २०६५ साल माघ १० गते तत्कालिन सरकारले यो दिनलाई मगरको प्रमुख पर्व घोषणा गरेको उनले बताए ।


‘तर अहिले बिदा कटौती भएको छ । यसको हामी विरोध गर्दछौं । बिदा दिनुपर्छ भन्ने हाम्रो माग छ । अनि यस दिनलाई विशेष रूपमा मनाउन माघे संकराती मेला आयोजना भएको हो,’ अध्यक्ष खिमबहादुरले भने । जाडो याम सकिएर गर्मी याम सुरु हुने र बिरुवाहरूमा पालुवा लाग्न थाल्ने भएका कारण माघ एकलाई मगर समुदायले नयाँ वर्षको रूपमा मनाउने गरेको उनले बताए ।


यस दिन दिवंगत पितापुर्खाको नाममा विशेष पूजा हुने गर्छ । ‘क्याम्पाचौरमा बिहान आठ बजे कुलपितृ पूजा भयो । त्यसपछि हाम्रा परम्परागत खेल र नाँचहरू दिनभरि भए । स्टलहरूमा हाम्रा खान्कीहरू थिए,’ जिल्ला अध्यक्ष खिमबहादुरले भने ।

मेलामा कौराहा, झयाउरे, सोरठीजस्ता मगर समुदायका मौलिक नाँचका साथै राष्ट्रिय कलाकारहरू आएर गीत संगीत प्रस्तुत गरेका थिए । त्यसै गरी ठेलो हान्ने, रस्साकस्सी, धनुवाणजस्ता मगर समुदायका परम्परागत खेल भए । संघका चितवन जिल्ला अध्यक्ष थापा मगरका अनुसार मगरको जसंख्या देशभर साढे १८ लाख छ । चितवनमा ३० हजारको हाराहारीमा मगरहरू रहेका छन् ।


हेटौंडामा माघी मेला

मकवानपुरमा बसोबास गर्ने थारू समुदायले हेटांैडामा पहिलो पटक माघी मेला मनाएका छन् ।


आफ्नो भेषभूषाका सजिएका थारू समुदायका महिला र पुरुषहरू सहभागिता रहेको झाँकीसहितको र्‍यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । हेटौंडा ४ स्थित निर्माणाधीन सभाहलबाट निस्केको र्‍याली उक्त स्थानमा आएर सभामा परिणत भएको थियो ।


उक्त कार्यक्रममा चौधरी युवाहरूले आफ्नो कला र संस्कृति पनि प्रस्तुत गरेका थिए । सभाहलको प्रांगणमा थारू समुदायले खाने पकवानहरू बिक्रीका लागि राखिएको थियो । सहभागीहरूको सबैभन्दा आकर्षण घुँगीमा थियो ।

प्रकाशित : माघ २, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?