कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिसोले कालोपत्रे गर्ने काम रोकियो

बाग्मती र बकैया क्षेत्रका विभिन्न भागमा १२ किलोमिटर पिच भइसकेको छ
प्रताप बिष्ट

हेटौंडा — तीव्रगतिमा निर्माण भइरहेको धरान–चतरा–हेटौंडा सडकको कालोपत्रे गर्ने कार्य रोकिएको छ । चिसो बढेकाले कालोपत्रे गर्न समस्या हुँदा काम रोकिएको रोकिएको हो ।

‘चिसोले पिच गर्न समस्या हुने भएकाले २ साताको निम्ति कालोपत्रे गर्ने कार्य रोकिएको छ,’ धरान(चतरा(हेटौंडा सडकको पश्चिमी क्षेत्रका आयोजना प्रमुख कर्णबहादुर रानाभाटले भने, कालोपत्रे गर्नका लागि कम्तीमा १६ डिग्री तापक्रम हुनुपर्छ, त्योभन्दा कम भएपछि पिच गर्न हुँदैन ।’


कालोपत्रे गर्नेबाहेक सडकको कल्भर्ट, नाली, लिटेनिङवाल लगायतका कार्यहरू तीव्रगतिमा भइरहेको छ । माघ १५ गतेपछि कालोपत्रेको काम हुन सक्ने उल्लेख गर्दै एक प्राविधिकले बताए । बाग्मती र बकैया क्षेत्रका विभिन्न भागमा १२ किलोमिटर पिच भइसकेको छ ।


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका क्षेत्रमा पर्ने सडकमा पनि कालोपत्रेको तयारी हुँदै छ । ‘सब बेसको काम गरिरहेका छौं । छिटै नै कालोपत्रेको काम हुन्छ,’ इन्जिनियर प्रकाश पौडेलले भने ।


सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोडदै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुवै खण्डमा करिब ४७ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सडकको तुलनामा पुल निर्माणको कार्यले तीव्रता पाएको छ । राजमार्गको पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । दुवै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भट, स्ल्याब कल्भर्टलगायतका संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।


आयोजनाका पश्चिम खण्डका इन्जिनियर पौडेलका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटांंैडा उपमहानगरपालिका ६ चौघडासम्मको कुल १ सय १५ किलोमिटर सडकमा काम भइरहेको छ । हेटौंडा उपमहानगरपालिका ६ चौघडादेखि गौरीटारसम्म करिब २ किलोमिटर सडकम काम हुन सकेको छैन ।


उच्च अदालत पाटन हेटौंडा इजलासले सडक विस्तार नगर्न अन्तरिम आदेश जारी गरेर काम रोकेको छ । स्थानीयबासीले घर टहराको क्षतिपूर्ति मात्र होइन, जमिनको पनि मुआब्जा पाउनुपर्ने माग राख्दै अदालत रिट निवदेन दर्ता गराएका थिए । हेटाैंडा–सिन्धुलीतर्फको १ सय १५ किलोमिटर सडक खण्डअन्तर्गत सडकतर्फ करिब ३८ प्रतिशत र पुलतर्फ झन्डै ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । राजमार्गको पूर्वी खण्डमा पनि सब बेसकै काम भइरहेको अर्का इन्जिनियर गोविन्द दुमरुले बताए ।


पश्चिम खण्डको १ सय १५ किलोमिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ह्युम पाइप ३ सय ९७ वटा, बक्स कल्भर्ट १९, स्ल्याब कल्भर्ट ४ रहने आयोजनाले जनाएको छ । तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिएको उक्त राजमार्गको निर्माणको पश्चिम खण्डको जिम्मा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले २०७३ कात्तिक २२ गते लिएको थियो । ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ । पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यसमाथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच हुने जनाइएको छ ।


उक्त सडकलाई दुई भागमा विभाजित गरेर सरकारले निर्माण कार्यलाई तीव्रता दिएको छ । हेटाैंडादेखि सिन्धुलीसम्मको १ सय १५ किलोमिटर लामो रहेको पश्चिमी खण्ड र सिन्धुलीदेखि धरानसम्मको १ सय ३४ किलोमिटर लम्बाइ रहेको पूर्वी खण्डमा विभाजित गरेर निर्माण कार्यलाई अगाडि वढाएको छ । हेटांैडादेखि सिन्धुलीसम्मको सडक, पुल पुलेसा र कल्भर्ट निर्माण गर्न हेटौंडामा आयोजनाको कार्यालय स्थापना गरिएको छ भने पूर्वी क्षेत्रको गाईघाटमा आयोजनाको कार्यालय राखिएको छ ।


३ सय ११ किलोमिटर लामो रहेको धरान–चतरा–गाईघाट–सिन्धुली–हेटांैडा सडकको टयाक ओपन गर्ने कार्य गत वर्षमा नै सम्पन्न भइसकेको छ । सडकलाई फराकिलो पार्ने, कजवे बनाउने, लिटिनिङ वाल निर्माण गर्ने कार्य भइरहेका छन् भने आधा दर्जन पुल निर्माण कार्य पनि सम्पन्न भइसकेको छ ।


मकवानपुरमा १२ र सिन्धुलीमा ३ गरी १५ वटा पुल निर्माणाधीन छन् । ठेकेदार कम्पनीले फापरबारीको झुरझुरेमा क्याम्प बनाएर काम सुरु गरको छ । विगतका सरकारले यो सडकलाई सहायक मार्गको रूपमा तोकेको भए पनि यही सडक हँुदै पूर्वपश्चिम जोडिने मार्गलाई सरकारले मदन भण्डारी राजमार्गको नामकरण गरेको छ ।


मदन भण्डारी राजमार्गलाई इलामदेखि डडेलधुरासम्म तोकिएको छ । भित्री मधसबाट राजधानी छिचोल्ने सफल वैकल्पिक मार्गका रूपमा विकसित गरिएको उक्त मागबाट तराई जिल्लालाई नछोई राजधानी पुग्न सकिन्छ र दूरी पनि छोटो छ । ‘आगामी २ वर्षभित्र धरान–चतराको सडक कालोपत्रे गर्ने योजना छ,’ आयोजना प्रमुख रानाभाटले भने, ‘यो सडकको निर्माणको निम्ति सरकारले उच्च प्राथमिकता दिएका कारण २ वर्षभित्रमा सडकमा सवारीसाधन गुड्न थाल्छन् ।’


आव २०६४/२०६५ देखि सुरु भएको उक्त योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको थियो । तर यो वर्ष ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । पिचदेखि लिएर पुलहरूको निर्माण कार्य गर्न ठेक्का भएर पनि काम सुरु भइरहेको छ ।


भित्री मधेसका चार जिल्ला मकवानपुर–सिन्धुल–उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउने उक्त सडकलाई दुई लेन बनाउने कार्य भइरहेको छ ।

प्रकाशित : माघ ३, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?