१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गाउँपालिकाले दियो विद्यार्थीलाई खाजा

प्रताप विष्ट

हेटौंडा — पढ्न उमेरका सबै बालबालिकालाई विद्यालयमा प्रवेश गराउन र भर्ना भएकाहरूलाई नियमित बनाउन मकवानपुरको एक गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । 

गाउँपालिकाले दियो विद्यार्थीलाई खाजा

मकवानपुर गढी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा ईसीडीदेखि ५ कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई बुधबारदेखि दिवा खाजा खुवाउन सुरु गरेको हो ।


गाउँपालिकाले दिवा खाजाको कार्यविधि नै पारित गरेर माघ २ गतेदेखि दिवा खाजा खुवाउन थालेको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले भने, ‘खाद्यान्न समस्याले कुनै पनि बालबालिका पढ्नबाट वञ्चित नहोऊन् र आएकाहरू पनि नियमित होऊन् भन्ने उद्देश्यले खाजाको व्यवस्था गरेका हौं ।’


गाउँपालिकाले ईसीडीदेखि ५ कक्षासम्म अध्ययन गर्ने प्रत्येक बालबालिकालाई १५ रुपैयाँ दरले स्कुलमा रकम उपलब्ध गराउने नीति रहेको छ । उक्त रकमले विद्यालयले स्कुलमा नै खाजा बनाएर खुवाउने वा अभिभावकलाई रकम उपलब्ध गराएर खाजा स्कुलमा पठाउने व्यवस्था गर्ने सक्ने कार्यविधिले तोकेको छ ।


जंगफुड खुवाउन नहुने, स्थानीय उत्पादित पोसिलो खाद्यवस्तु खुवाउनुपर्ने कार्याविधिमा छ । साताभरि फरकफरक खाद्यान्नका खाजा खुवाउन पनि गाउँपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । अनुगमनका लागि गापा अध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ भने विद्यालयस्तरमा वडाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरेको गापाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले बताए ।


८ वटा वडामा विभाजित उक्त गाउँपालिकामा ४० वटा स्कुलका ४ हजार ९ सय २५ जना छात्रछात्रालाई दिवा खाजा खुवाउन गापाले सम्बन्धित स्कुललाई बजेट निकासा गरेको छ । ईसीडीदेखि ५ कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई दिवा खाजा खुवाउन गापाले चालू आवको निम्ति ४५ लाख रुपैयाँ रकम विनियोजित गरेको छ ।


अधिकांश तामाङ समुदायको बसोबास रहेको उक्त गापाको दुर्गम क्षेत्रका बासिन्दा खाद्यान्न अभावले छोराछोरीलाई स्कुल पढ्न पठाउँदैनन् । ‘स्कुलमा खाजाको व्यवस्थापछि भर्ना पनि हुन्छन् र नियमित पढ्न पनि आउँछन्,’ कालिदेवी प्राविका प्रअ केशवप्रसाद देवकोटाले बताए । मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने यो मात्र एक गाउँपालिका हो । हेटौंडा उपमहानगरपालिकासँग जोडिएको भए पनि यो गाउँपालिकाको बुढीचौर, सुकौरा साविकका गाविस दुर्गम र विपन्न बस्ती छन् ।

प्रकाशित : माघ ४, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?