गहुँको साटो आलुबाली

कृष्ण थापा

फेदीबेसी, नुवाकोट — जिल्ला हिउँदेबाली गहुँ खेतीको सट्टा आलुखेती फस्टाउँदै गएको छ । यहाँका फाँटहरूमा अहिले आलु खेतीले हरियाली छाएको छ । आलुबालीले गहुँलाई विस्थापित गरेको छ ।

गहुँको साटो आलुबाली

‘एक रोपनी जग्गामा साढे १ मुरी गहुँ फलाइन्थ्यो,’ लिखुगाउँपालिका ४ चौघडा दिव्यश्वर न्यौपानले भने, ‘गहुँबालीभन्दा आलुखेतीबाट बढी आम्दानी दियो ।’ असोज/कात्तिक गहुँ लगाउने गर्थे । चैतमा टिप्नुपर्‍थ्यो,’ उनले भने, ‘माघको आधामा आलु झिक्छौं । त्यसलगत्तै धान तथा मकै बाली लगाउन पाइयो ।’


आलुखेतीलाई मलखाद बढी चाहिन्छ । आलु लगाएपछि पछिल्लो बालीलाई मल हाल्न नपर्ने उनले बताए । झन्डै तीन दशकदेखि उनले आलुखेती गर्दै आएका छन् । खर्च कटाएर वार्षिक साढे २ लाख रुपैयाँभन्दा बढी आम्दानी लिन्छन् । एक रोपनी जग्गाबाट २०/२२ बोरा आलु निकाल्छन् । पहिलाको जस्तो किसानलाई मलखाद र बीउ बोकेर ल्याउन समस्या नभएको बताए । अहिले सुविधा पुगेको छ । स्टोर गर्ने र बीउ छान्न किसानले जानेका छन् । उनले एमएस फोट्री टु जातको आलु लगाएका छन् ।


आमाबुवा र छोराछोरी गरी ५ जना परिवार छ । दुइटा छोरा काठमाडांैमा पढाइरहेका छन् । ‘यही आलुखेतीको भर हो,’ उनले भने । १ रोपनी जग्गामा २३ बोरा आलु फलाउँछन् । त्यसैगरी पञ्चकन्या गाउँपालिका २ बेसीकठेरीकी लक्ष्मी ढकाल सुवेदी पनि आलु खेती गर्छिन् । उनले साढे दुई रोपनी खेतमा आलु खेती गरेकी छन् । उनले आलुखेती गर्न थालेको ९ वर्ष भयो ।


‘पहिला गहुँ, तोरी लगाइथ्यो,’ उनले भनिन्, ‘उत्पादनको हिसाबले आलुबाट बढी फाइदा पाइयो ।’ उनको ६ जनाको परिवार छ । आलुखेतीमा उनी मात्र नभई पञ्चकन्या गाउँपालिका २ सिक्रेफाँट शोभाचन्द्र लामिछानेले ३ बोरा आलु रोपेकी छन् । ६ जना परिवार छ । आलु र तरकारी खेती गरेर उनले छोराछोरीलाई निजी स्कुलमा पढाएकी छन् ।


‘आलु, तरकारी बिक्री गरेर बच्चा बढाउने र घरखर्च चलाएकी छु,’ उनले भनिन् । जैविक तरिकाले आलुखेती गर्ने सुरमा उनी छिन् । ‘विषादीरहित आलु र तरकारी फलाउन सके बढी मूल्य पाइन्छ ।’ सूर्यगढी गाउँपालिका ५ फेदीबेंसीका ध्रुव अधिकारी सिजनमा १० हजार बोरा किसानबाट किनेर स्टोर गर्छन् । आलु ग्रेडिङ गरेर बिक्री गर्न उनले सुझाव दिए । ‘ग्रेडिङ गरेर आलु बिक्री गर्दा कुहिँदैन,’ उनले भने, ‘आलुको बीउ राम्रो लगाउनुपर्छ । भाउ आउँछ ।’ आलुको बजार काठमाडौं र पोखरा हो ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु जोनले उनीहरूलाई तीनदिने उत्पादन प्रविधि, बजारीकरण, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिम दिएको छ । ‘गहुँभन्दा आलुखेती नगदेबाली भएकाले फस्टाएको छ,’ तरकारी जोनका प्रमुख डा.कमलराज गैरेले भने, ‘किसानको आर्थिक स्तर उकास्न सघाउ पुगेको छ ।’ जिल्लामा ३६ सय २० हेक्टरमा आलु खेती छ । डा.गैरेका गत वर्ष अनुसार जिल्लामा १ अर्ब २० करोड रुपैयाँ बराबरको आलुखेती भएको बताए ।

प्रकाशित : माघ ४, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?