कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेखु आसपास भूगर्भ अध्ययन

माछाका परिकारले लोकप्रिय रहेको मलेखु खोला एक दशकदेखि देशभरका भूगर्भ शास्त्र अध्ययन गर्ने विद्यार्थीको ‘हब’ मा परिणत भएको छ

धादिड — पृथ्वी राजमार्गस्थित मलेखु खोला बगरसँगै भित्तामा रहेका विभिन्न चट्टान । यति बेला हातमा हम्मर, नक्सा, फित्ता, रुल, कम्पास लिएर चट्टान खोप्दै पहेंलो हाफ जाकेट लगाएका सयौं युवा विद्यार्थी समूह देखिन्छ । पहिलोपल्ट देख्नेलाई आश्चर्य लागे पनि मलेखुवासीलाई भने अनौठो हैन ।

त्रिशूली नदीको माछाका परिकारले लोकप्रिय रहेको मलेखु खोला एक दशकदेखि देशभरका भूगर्भ शास्त्र अध्ययन गर्ने विद्यार्थीको ‘हब’ मा परिणत भएको छ ।


हिमालदेखि पहाडसम्म पाइने शताब्दी पुराना विभिन्न चट्टानहरू खोलावरपर पाइने भएपछि प्राध्यापक तथा विद्यार्थीहरूलाई सहज भएको हो । भूगर्भ शास्त्रका विद्यार्थीलाई अनिवार्य आधारभूत सिकाइका क्रममा चट्टानहरूका प्रकार, उत्पत्तिलगायत विषयमा अनिवार्य प्रयोगात्मक कक्षा लिइन्छ, जुन कक्षा मलेखु खोलामा मात्रै पाइने भएपछि पत्रे, परावर्तित र आग्नेय चट्टानहरूबारे अध्ययन गराउन सहज हुने गरेको छ ।


‘अन्य जिल्लामा सबै खाले चट्टान एकै स्थानमा पाउँदैन,’ त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र क्याम्पसका, भूगर्भ शास्त्रका सहप्राध्यापक प्रकाश दास उलकले बताए । क्याम्पसका २ सय ३१ जनाको समूहलाई लिएर विगत २ सातादेखि उनी मलेखु खोलामा पुगेका हुन् । उलकका अनुसार यस खोलामा काठमाडौंका बाहेक भूगर्भ शास्त्र पढाइने धरानको पूर्वाञ्चल विश्वविद्यालय, पोखराको पश्मिाञ्चल विश्वविद्यालय र चितवनबाट समेत वार्षिक हजारौं विद्यार्थी प्रयोगात्मक कक्षा लिन मलेखु खोलामा आउँछन् ।


‘मलेखु खोलाभन्दा झनै पुराना मलेखुदेखि सदरमुकाम जाने सडकको कालीखोला वरपर फेला परेका छन् । उक्त चट्टानहरू ५ अर्ब ६० करोड वर्ष पुराना रहेको अनुमान गरिएको छ,’ अर्का प्राध्यापक सुबोध ढकालले भने । ढकालका अनुसार विद्यार्थीलाई अनिवार्य आधारभूत प्रयोगात्मक कक्षा लिएपछि एड्भान्स कक्षाका लागि तानसेन लिएर तिनाउ नदीवरपरका चट्टानमा थप प्रयोगात्मक कक्षा लिइन्छ । मलेखुमा भूगर्भ शास्त्र र इन्जियिरिङका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी आउँछन् । शुक्रबार नै स्नातकोत्तरका २१ जनाको समूह मलेखु आएर करिब २ साता प्रयोगात्मक कक्षा लिन्छन् ।


नेपालमा भूगर्भ शास्त्र अध्ययन हुने चार दशकका अवधिमा मलेखु खोला आउन लागेको ३५ शैक्षिक सत्र भयो । यसअघि त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षाका लागि ककनी, भिमफेदी, चित्लाङ, साँखु, लिइने गरिएको ढकालले बताए ।

भूगर्भ शास्त्रका विद्यार्थीहरू प्रयोगात्मक कक्षा लिन मलेुखु आउँदा आवास सुविधाका लागि सन् १९९३ मा तत्कालीन जापानी प्रोफेसर डाक्टर हारुताका साकाईले मलेखुको रिचोकटारस्थित बागेश्वरी माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिदिएका थिए ।


त्यतिबेला प्रयोगात्मक कक्षा लिन आउने विद्यार्थीलाई खानपिन र यातायात खर्च विश्वविद्यालयले नै व्यहोर्ने गरेको थियो । तर अब उक्त सुविधा कटौती भएर प्रतिविद्यार्थी करिब ७ हजार थप व्ययभार पर्ने गरेको छ । यो कक्षा पनि सिकाइ अवधिमै भएकाले विश्वविद्यालयबाटै व्यहोर्नुपर्नेमा विद्यार्थीहरूको जोड छ ।

प्रकाशित : माघ ५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?