२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पहिलो किस्ता बुझ्दै, छोड्दै

काभ्रे — भूकम्पपीडितको लाभग्राही सूचीमा हुनेले अनुदान सम्झौता गरेलगत्तै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास निर्माणमा प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो । तर सम्झौताअनुसार उक्त रकम बुझेका २४ हजार ९ सय ७० भूकम्पपीडितले घर बनाउन भने थालेनन् ।

पहिलो किस्ता बुझ्दै, छोड्दै

फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र घर हुनेको पनि नाम समेटिएको कारण त्यस्ता परिवारले घर निर्माण नभएको हो ।


अनुदान बुझेको लामो समय भइसके पनि निर्माण नथाल्दा रकम दुरुपयोग भएको हो कि भन्ने चिन्ता अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार हेर्ने जिल्ला आयोजना कार्यान्वयन इकाईलाई छ । आयोजना प्रमुख लोकनाथ रेग्मी सम्झौता भएको लामो सयमसम्म निर्माण सुरु नभएकाले दुरुपयोग हुने हो कि भन्ने शंका गर्छन् ।


‘सम्झौता गरेको लामो समय भइसकेको छ, निर्माण थालिएको छैन,’ रेग्मीले भने, ‘सो संख्याको ५ देखि १० प्रतिशतले घर बनाउलान् । अरुले बनाउनेमा ढुक्क हुन सकिएको छैन ।’ इकाईका सामाजिक विकासविज्ञ विदुर तिमल्सिनाका अनुसार, पनौती नगरपालिकामा ३७ सय २८, बनेपामा ३४ सय ६०, नमोबुद्धमा ३ हजार ०९, पाँचखालमा २९ सय २८, धुलिखेलमा २४ सय ६८ र मण्डन देउपुर नगरपालिकामा २ हजार १७ जनाले पहिलो किस्ताबापतको रकम लिएर निर्माण सुरु गरेका छैनन् ।


रोशी गाउँपालिकामा १५ सय ६८, चौरीदेउरालीमा १४ सय ३८, तेमालमा १२ सय ४०, बेथानचोकमा ११ सय ६५, भुम्लुमा ९६३ , खानीखोलामा ५५५ र महाभारतमा ४३१ घरधुरीले पहिलो किस्ताबापतको रकम बुझेर पनि निर्माण सुरु नगरेका हुन् ।


डीपीसी मात्रै गर्ने पनि १९ हजार

डीपीसी तहसम्म मात्रै गरेर निर्माण अघि बढाउनेको संख्या पनि धेरै छ । १९ हजार ७ सय ६७ ले डीपीसी तह मात्रै पूरा गरेर दोस्रो किस्ताबापत्को थप १ लाख ५० हजार रकम लिएका छन् । डीपीसी तह पूरा गरेपछि अनुदानबापत्को ३ लाखमध्ये २ लाख पाइहाल्ने भन्दै २ लाख लिएर निर्माण अलपत्र पार्नेहरू पनि छन् । जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार, डीपीसी गरेर छोडेका कतिपय आवास निर्माणस्थलमा झार उम्रिएको अनुगमनका क्रममा भेटिएको छ ।


इकाईका अनुसार, मण्डनमा २५ सय ७७, पाँचखालमा २३ सय ७६, रोशीमा २ हजार १७, चौरीदेउराली २ हजार १६, खानीखोलामा १६ सय २६, नमोबुद्ध नगरपालिकामा १४ सय ९२, पनौतीमा १३ सय २८, भुम्लुमा १२ सय ८२, बेथानचोक र तेमालमा १२ सय २९, महाभारतमा १ हजार ५२, धुलिखेलमा ८ सय ९० र बनेपामा ६ सय ५६ जनाले डीपीसी तह पूरा गरेर अनुदानबापतको २ लाख रकम बुझेका छन् ।


‘करिब २० हजारले डीपीसी तहसम्म निर्माण गर्नुभएको छ, निर्माण अघि बढाउनुहुन्छ भन्ने हाम्रो विश्वास हो,’ इकाई प्रमुख रेग्मीले भने, ‘विभिन्न कारणले ढिलाइ भएको होला, अनुदान दुरुपयोग गर्नेको संख्या निकै कम होला ।’ अनुदानबापतको ३ लाखमध्ये २ लाख पाइहालियो भन्दै बीचमा छोड्ने प्रवृत्ति पनि केहीमा देखिएको उनले स्विकारे ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण कार्य नथाल्ने भूकम्पपीडितलाई रकम फिर्ता गर्न पुस १५ गतेसम्मको म्याद दिए पनि सो अवधिमा ३२ जनाले मात्रै रकम फिर्ता गरेका छन् । जिल्लाका पूर्ण लाभग्राही ८२ हजार ८ सय ३३ मध्ये ७२ हजार १७ जनाले मात्रै सम्झौता गरेका थिए ।

प्रकाशित : माघ ५, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?