१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खडेरीले पिरल्यो मन्थली

रामेछापको मन्थली बजार र आसपासको क्षेत्र सुक्खा बन्दै छ । बोटबिरुवा धमाधम मरिरहेका छन् भने पानीका स्रोत सुकेका छन् । १५ वर्षयता रामेछापमा न्यून मात्रामा वर्षा हुँदै आएको छ । 

रामेछाप — माघ सुरु हुँदै सदरमुकाम मन्थली आसपास क्षेत्र उराठलाग्दो बनेको छ । वरिपरिका पाखा सुक्खा छन् । बोटविरुवा छैनन् । भएका पनि धमाधम सुक्दै छन् । पानीका स्रोत सुकेको वर्षाैं भयो । तामाकोसीको पानी पम्प गरेर जीवन धानिएको छ । धुलोले स्थानीयलाई हैरानी छ । अस्पताल र स्कुलसमेत धुलाम्मे छन् । 

खडेरीले पिरल्यो मन्थली

किन यति धेरै उराठ लाग्दो ? मन्थली टेक्ने आगन्तुकको पहिलो दृष्टि नै सुक्खामा ठोकिन्छ । हरियाली बनाउन किन नसकेको उनीहरूको प्रश्न हुन्छ । तर कसरी ? मन्थली आसपासको क्षेत्र हरेक वर्ष सुक्ने क्रम थपिँदो छ । सरकार र स्थानीय सरकारले घटाउन सकिरहेका छैनन् । आगन्तुकले रामेछापको चिनारी त्यही सुक्खा र उराठलाग्दो भनेर लैजाँदै आएका छन् ।


वर्षायाममा पर्याप्त पानी नपर्दा माटो चिस्यानको मात्रा हरेक वर्ष घटिरहेको छ । वृक्षरोपण गर्दा साना बिरुवा रोपिने हुन् । तिनका जरा चिसो माटोमा पुग्न नपाउँदै खडेरीले सुकाइदिन्छ । जति रोप्यो त्यति मर्ने गरेकाले विरुवा रोपेर के गर्नु ? भनेर वाक्क मान्नेहरू थुप्रै छन् ।


वातावरण दिवस, सहकारी दिवस, निजामती कर्मचारी दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस या अरू कुनै अवसर पारेर रोपिएका बिरुवाको गणना गर्दा हजारौं पुगेका छन् । ती बिरुवा जति रोपिए अधिकांश मरे । बँचेका बिरुवा औंलामा गन्न सकिने मात्र छन् । ‘पन्ध्र वर्ष भयो, माटो भिज्ने गरी पानी नआएको,’ मन्थलीका ध्रुवप्रसाद सुवेदी भन्छन्, ‘थोरै वर्षा हुँदा बालीनाली समेत हुन छोडेको छ ।’


सडकको सुविधा नभएको भए रामेछापमा वर्षको ९ महिनाजस्तो खाद्यान्नको संकट पर्ने अवस्था आउँथ्यो । अहिले तराईबाट सोना मन्सुली चामल भित्रिएको छ र नै अनिकाल देखिएको छैन । दक्षिणी क्षेत्र अझ सुक्खा हँुदै गएको छ । ‘वर्षे र हिउँदे बालीको उत्पादनले ३ महिना पनि धानिँदैन,’ भलुवाजोरका कृष्णबहादुर शाहीले भने, ‘अरू बजारबाट बेसाउने हो ।’ शाहीका अनुसार बाली नाली बारीमै सुक्छ, प्यास मेटाउने खानेपानीको खोजीमा दिन बित्छ, पहिले सहज पाउने पानी अहिले मारामार गरेर ल्याउनुुपर्छ । पँधेरामा पानीका लागि कुस्ती खेल्नुपर्ने बाध्यता छ ।’


मन्थली ७ बडिमुहानका काजीदास श्रेष्ठका अनुसार सुक्खा बढदै जाँदा गाउँमा वस्तुभाउ घटेका छन् । चरन क्षेत्र छैन । पहिलेको जस्तो घाँस पाइँदैन । जनशक्ति घटिरहेको छ । बिजुलीले पम्प गरेर तानेको पानी खुवाएर वस्तुभाउ पाल्ने किसान महँगीमा परेका छन् । पहिले गाउँमा आधा दर्जनजस्तो स्थानमा पानीका मुहान थिए । अहिले सुकेका छन् ।


सुक्खायाम घटाउनका लागि स्रोत संरक्षण लगायतको कार्य स्थानीय सरकारले गरेका छैन । जताभावी बुल्डोजर चलाएकाले पनि वातावरणमा असर परेको एकथरीको भनाइ छ । जनप्रतिनिधिहरूले सडक खन्नेमै बढी ध्यान केन्द्रित गरेका छन् । जिल्लामा भएको भूसंरक्षण कार्यालयले जलाधारको संरक्षणका लागि केही कार्यक्रम गर्दै थियो । त्यसलाई पनि सरकारले जिल्लाबाट खारेज गरिदिएको छ । साविक जिल्ला भूसंरक्षण कार्यालय रामेछापका प्रमुख राजेश प्याकुरेल भन्छन्, ‘जलवायु परिवर्तनको असर तीव्र

रूपमा परिरहेको रामेछापमा जलाधार संरक्षणको कार्य तत्काल नथाले स्थिति भयावह भएर जानेछ । सुक्खाले सर्वत्र हाहाकार ल्याउनेछ ।’


मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले वातावरणको क्षेत्र विकराल बनेको अवस्थामा स्थानीय सरकार सरोकारवालासँग मिलेर काम गर्न तयार रहेको बताए । उनले स्रोत संरक्षणमा धेरैको ध्यान नगएको र नगरापालिकासँग सहकार्य गर्ने निकाय पनि यस विषयमा नभेटिएको बताए ।


‘नगरपालिका यस क्षेत्रमा खर्च गर्न तयार छ,’ बस्नेतले भने । रामेछाप नगरपालिकामा सुक्खाले गाजेको छ । प्रमुख नरबहादुर थापा मगरले जलाधार संरक्षणका लागि पोखरीहरू निर्माण गर्ने निति बनाएको तर काम हुन नसकेको स्विकारे ।

प्रकाशित : माघ ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?