१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सञ्चारकर्मी ढकालको हत्या आरोपमा चार पक्राउ

प्रताप विष्ट

हेटौडा — सञ्चारकर्मी मनोहर ढकालको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार जनालाई पक्राउ गरेको छ ।

सञ्चारकर्मी ढकालको हत्या आरोपमा चार पक्राउ

हेटौंडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडामा गत पुस २५ गते मृत अवस्थामा भेटिएका ढकालको हत्यामा प्रत्यक्ष संलग्न रहेको आरोपमा दुई जना र दुई जनालाई मृतकको मालसामान खरिद गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिवार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।


प्रहरीका अनुसार हेटौंडा–११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका–१ का १८ वर्षीय प्रवीण वाइबाले ढकाललाई कुटपिट गरी भिरबाट धकेलेर हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।


‘जङ्गलमा दुईजना लागूऔषध सेवन गरेर बसिरहेको समयमा ढकाल एक्कासि त्यहाँ पुगेका थिए । लागू औषध सेवन नगर भनेर सम्झाउने,बुझाउने क्रममा उनीहरूले ढकालमाथि हातपात गरेको र धकेलेर मारेको अनुसन्धानको क्रममा देखिएको छ । ’


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने । उनका अनुसार ढकालका हत्यासँगै पुडासैनी र वाइबाले एकथान सुनको औँठी, मोबाइल, हार्डडिक्स र पर्समा भएको ५ सय रुपैयाँसमेत लिएर गएका थिए ।


सुनको औँठी र मोबाइल बेचेसँगै प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले मोबाइल खरिद गर्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक भीमफेदी गाउँपालिका–६ का ३१ वर्षीय दिनेश थापामगर र औँठी खरिद गर्ने नारायणी सुनचाँदी पसल हेटौंडा–२ का सञ्चालक ४८ वर्षीय नारायणबहादुर सुनारलाई पक्राउ गरेको छ ।


प्रहरीले उनीहरूको साथबाट सुनको औँठी, भीभो मोबाइल, हार्ड डिक्स र डाटा केवल समेत बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा अनुसन्धानमा खटिएको सातजनाको प्रहरी टोलीले हत्या भएको दश दिनपश्चात् घटनाको सत्यतथ्य बाहिर ल्याएको हो ।


प्रहरीले हत्यारा पत्ता लगाउनका लागि प्रविधिको विशेष प्रयोग गरेको र कुकुरको समेत प्रयोग गरेको जनाएको छ । प्रहरीले अनुसन्धानको अवधिमा हेटौंडा बजार क्षेत्रका करिब एकसय ५० युवासँग सोधपुछ गरेको थियो ।


हेटौडा उपमहानगरपालिका—११ नवलपुरका मृतक ढकालका ११ वर्षको,छोरी,७ वर्षको छोरा,पत्नी र आमा छन् । ढकाल रेडियोकर्मी हुन । उनी स्थानीय रेडियोमा कार्यरत थिए ।

प्रकाशित : माघ ५, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?