कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्राज्ञ नियुक्तिको विरोध

दस कलाकर्मीद्वारा सभा बहिष्कार

काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा सिफारिस गरिएका १० कलाकर्मीले परिषद् सदस्यहरूमा विधागत सन्तुलन नमिलाएको भन्दै बहिष्कार घोषणा गरेका छन् ।

सरकारले प्रतिष्ठान ऐन मिचेर आआफ्नो निकटवर्ती व्यक्तिलाई परिषद् सदस्यसहित पदाधिकारी नियुक्त गरेको दाबी गर्दै उनीहरूले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरे ।


प्राज्ञसभा बहिष्कार गर्नेहरूमा कलाकार घनश्याम खतिवडा, रंगकर्मी हरिबहादुर थापा, देशभक्त खनाल, संगीतकर्मी चन्द्रमान मुनिकार, शिशिर योगी, चेतन सापकोटा, सुनिल मास्के, शक्ति बल्लभ, वसन्त श्रेष्ठ, साहित्यकार लक्ष्मण गाम्नागे र बाबा बस्नेत छन् । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ऐनसम्मत नियुक्त नभएको भन्दै सर्वोच्च अदालतमा रिट परिसकेको छ ।


ऐनले व्यवस्था गरेअनुरूप पहिले प्राज्ञसभा गठन नगरी पदाधिकारी नियुक्ति गरिएको भन्दै संगीत नाट्यमा जितबहादुर देउजा (विजय विस्फोट) र गणेशप्रसाद उपाध्याय (देशभक्त खनाल) ले रिट हालेका हुन् । ललितकला प्रज्ञा प्रतिष्ठानमा पनि नियुक्ति अवैधानिक भन्दै चित्रकार नगेन सिंह र विक्रम शिशिरले रिट दर्ता गरिसकेका छन् ।


शनिबार रिटकर्ता चारसहित अन्य कलाकर्मी मिलेर ‘विधागत कलाकर्मीहरूको संयुक्त दबाब समूह’ नै बनाएका छन् । ‘पदाधिकारीदेखि प्राज्ञ परिषद्सम्ममा विधागत विज्ञतालाई नहेरी जो पायो त्यसैलाई नियुक्त गरिएको छ,’ समूहका घनश्याम खतिवडाले भने, ‘सिंगो कलाजगत्माथि यो ठूलो व्यंग्य हो ।’ नियुक्ति प्रक्रिया नै गलत अपनाएको भन्दै उनले विधागत योगदान दिएका कलाकर्मीहरू पाखा पन्छाएको आरोपसमेत लाए ।


प्रत्रकार सम्मेलनमा सरकारले कृषि क्षेत्रको जेटीएदेखि राजनीतिकर्मी र नेताका पारिवारिक व्यक्तिलाई समेत प्राज्ञ बनाएको समूहका संयोजक विजय विस्फोटले बताए । ‘केही व्यक्तिको विधा नै लज्जास्पद छ,’ उनले भने, ‘नाटक, शास्त्रीय संगीत लगायतका महत्त्वपूर्ण विधाको प्रतिनिधित्व नै छैन । विद्यालय पढ्दा चित्र कोर्ने, गीत गाउनेदेखि लिएर कला क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई प्राज्ञ बनाइएको छ ।’


कार्यक्रममा संगीत नाट्यका लागि सरकारले गठन गरेको सिफारिस समितिको विज्ञ सदस्य श्रीराम आचार्यले जारी गरेको विज्ञप्तिसमेत सार्वजनिक गरिएको थियो । विज्ञप्तिमा सरकारले सिफारिस समितिले छनोट गरेको भन्दा बाहिरको व्यक्ति नियुक्ति गरेको भन्दै असहमति जनाइएको छ ।


नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेका पदाधिकारीहरूको कार्यकाल गत भदौ १९ गते सकिएको थियो । पदाधिकारीविहीन बनेको चार महिनापछि सरकारले पुस १ गते प्रज्ञा प्रतिष्ठानको र १६ गते संगीत नाट्य र ललितकला प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी पठाएको थियो । ढिलो गरी पठाएको नियुक्ति पनि प्राज्ञसभा नै गठन नगरी ऐन मिचेर भएको भन्दै स्रष्टाहरूले यसको विरोध गर्दै आएका छन् ।


संगीत नाट्यविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रारम्भिक आदेश जारी गरिसकेको छ भने यही ९ गते पेसी तोकिएको छ । यसअघि २०६५ मा तत्कालीन माओवादी नेतृत्वको सरकारले नियुक्त गरेको तीनवटै प्रज्ञा प्रतिष्ठानको पदाधिकारीविरुद्ध पनि मुद्दा परेको थियो । त्यति बेला नेपाल प्रज्ञा प्रतिष्ठानमा ईश्वरचन्द्र ज्ञवाली, ललिकला प्रज्ञा प्रतिष्ठानमा बाबुलाल पुन र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा माइला लामा कुलपतिमा नियुक्त भएका थिए ।


उक्त नियुक्ति पनि ऐनअनुसार प्रक्रिया नपुगेको भन्दै प्रज्ञा प्रतिष्ठानविरुद्ध विष्णु प्रभात, नाटय संगीतविरुद्ध विजय विस्फोट र ललितकलाविरुद्ध किरण मानन्धरले सर्वोच्चमा रिट हालेका थिए । रिटपछि तीनवटै प्रतिष्ठानको नियुक्ति बदर भएका थिए ।

प्रकाशित : माघ ६, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?