कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुआब्जा माग गर्दै बन्द

कृष्ण थापा

नुवाकाेट — गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द गरेका छन् ।  सडकखण्डको दायाँबायाँ पर्ने जग्गाको मुआब्जाको माग गर्दै उनीहरुले जिल्ला बन्दको आह्वान गरेका हुन् ।

मुआब्जा माग गर्दै बन्द

बन्दका कारण नुवाकोट सदरमुकाम आउने र रसुवा जाने यातायातको साधन ठप्प भएको छ ।


पिपल टार—ढुंगे सडक खण्ड प्रभावित सरोकार समितिले आह्वान गरेको बन्दले ढुंगेबजार, विदुर, बट्टार, गंगटे बजार ठप्प भएको छ । बिहानै पिपल टार चोकमा बन्दकर्ताले टायर बालेका थिए ।


मुआब्जा प्राप्ति नभएसम्म आन्दोलन जारी राख्ने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए । विदुर नगरपालिका १, २, ४ र ५ वडावासीले सरकारसँग मुआब्जा माग गर्दै आएका छन् । पछिल्लो समय पृथ्वीराजमार्गको धादिङ गल्छी हुँदै त्रिशूली‍-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी आयोजनाले मुआब्जा नदिएको उनीहरूको आरोप छ ।


पिपलटारमा २ किमी एकपत्रे पिच भएको छ । सोही पिच गरेको सडक खण्डदेखि ढुंगे बजार साढे ७ किमी दायाँबायाँ पर्ने जग्गाको स्थानीयवासीले मुआब्जा माग गर्दै डेढ महिनादेखि आन्दोलित छन् ।


उक्त सडक खण्डमा २०३४ सालको राजपत्रमा काठमाडौँ-त्रिशूली सहायक मार्ग तोकिएको र तत्कालीन अवस्थामा सडकले दायाँबायाँ चर्चेको जग्गा सरकारको नाममा जाने भन्ने व्यवस्थाका कारण मुआब्जा दिन नमिल्ने भनेर आयोजना पन्छिएको छ ।


मुआब्जाको लागि आयोजना, स्थानीय प्रशासन र प्रधानमन्त्री कार्यालय समक्ष भन्दा पनि कतैबाट सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला बन्द गर्नुपरेको आयोजकले जनाएको छ ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनाले १७ किमी कोल्पुटारदेखि देवीघाटसम्मको मुआब्जा वितरण थालिसकेको छ । उक्त सडक खण्डमा पर्ने स्थानीयवासीलाई जग्गाको अवस्था नहेरी आफूखुसी मुआब्जा निर्धारण समितिले रकम निर्धारण गरेको उक्त सडक खण्डका स्थानीयको आरोप छ ।

प्रकाशित : माघ ६, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?