कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतको सहयोगमा बहु–प्राविधिक महाविद्यालय

सामुदायिक वनमा रहेका २ हजार ३ सय रूख काट्नुपर्ने

हेटौंडा — सम्झौताको एक दशकपछि हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालय निर्माण हुने भएको छ । महाविद्यालयको भारतीय सहयोगमा फागुन पहिलो सातादेखि निर्माण सुरु हुनेछ ।

नेपाल–भारतको राष्ट्रपति स्तरमा २०६६ मा महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार हेटौंडामा जग्गा उपलब्ध गराएर तारबार लगाउने काम पनि गरिएको थियो । तर भारतीय पक्षको ढिलासुस्तीले महाविद्यालय निर्माण सुरु हुन सकेको थिएन ।


भारतीय टीसीआईएन र नेपालको आरोग्य कन्स्ट्रक्सनले संंंयुक्त रूपमा निर्माणको ठेक्का पाएका छन् । ‘महाविद्यालयको निर्माण फागुन पहिलो सातादेखि थाल्ने तयारीमा छौं,’ नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालय प्रमुख महेश्वर रन्जितकारले भने, ‘महाविद्यालयको निर्माणका लागि कन्स्ट्रक्सन पनि तयारी अवस्थामा छ ।’


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महाविद्यालयको निर्माण सुरु गर्न सम्बन्धित निकायलाई दबाब दिँदै आएका छन् । उनले निर्माणमा चासो राखेकाले काम छिटो सुरु हुन लागेको शिक्षालयका प्रशासकीय प्रमुख विष्णु घिमिरे बताउँछन् । पौडेल विगतमा महाविद्यालयका अध्यक्षसमेत थिए ।


उनले महाविद्यालय निर्माणस्थलको पटक/पटक अवलोकन गर्नुका साथै डिभिजन वन कार्यालयलाई रुख कटानका लागि ताकेता पनि लगाएका छन् । महाविद्यालय ५५ करोडमा निर्माण हुनेछ । ‘खानेपानी र विद्युत्को काम नेपाल सरकारले गर्नुपर्ने छ,’ शिक्षालय प्रमुख रञ्जितकारले भने, ‘विगतमा नेपाल सरकारले समयमै जग्गा उपलब्ध गराउन सकेन र ईआईए पनि समयमा गर्न नसकेकाले पनि महाविद्यालयको निर्माण कार्यमा ढिलाइ भएको हो ।’


भारतले अहिले चासोका रूपमा लिएकाले महाविद्यालयको निर्माण सुरु हुन लागेको मुख्यमन्त्री पौडेलले बताए । चित्रपानी सामुदायिक वनले महाविद्यालयका लागि दशकअघि नै साढे २६ बिघा जमिन उपलब्ध गराएको थियो । सामुदायिक वनमा रहेको २ हजार ३ सय ५१ रुख काट्नुपर्छ ।


विगतमा करिब ८ सय रुखमात्र कटान गर्नुपर्ने भनिए पनि अहिले बढेको छ । रुख कटान गर्न वन मन्त्रालयले स्वीकृति दिनुको साथै टाँचा लगाउने काम डिभिजन वन कार्यालयले गरिरहेको सहायक वन अधिकृत अच्युत लामिछानेले बताए । माघको अन्तिमसम्म सबै रुख कटान भइसक्छ उनले भने । कटान हुने रुखमा करिब १९ सय रुख सल्लाका छन् । थप ४ सयजति भने अन्य जातका छन् ।


रुख काट्नेबित्तिकै भौतिक संरचना बनाउने काम तीव्र गतिले अघि बढ्ने शिक्षालयले जनाएको छ । निर्माण सुरु भएको २ वर्षमा काम पूरा भइसक्नुपर्ने छ । यहाँ अध्ययन गर्ने भवन, छात्रावास, खेलकुद मैदान, व्यावसायिक तालिम भवनलगायत संंरचना निर्माण हुनेछन् ।


पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात् आईटी, मेकानिकल र इलेक्ट्रिकल विषयमा पढाइ हुनेछ । यो महाविद्यालयले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षालय प्रमुख रन्जितकारले बताए । महाविद्यालय स्थापना हुने स्थल हेटाैंडा बजारबाट ६ किमि पूर्वमा पर्छ ।

प्रकाशित : माघ ७, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?