३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सुधार्न खोज्दा हत्या

प्रताप विष्ट

हेटौंडा — सधैं हँसमुख । कोही कसैसँग विवाद नगर्ने । भेटमै मुसुक्क हाँसेर स्वागत गर्थे सञ्चारकर्मी मनोहर ढकाल । उनी सबैका प्रिय थिए । तर कल्पनासमेत नगरेको मृत्युवरण उनले गर्नुपर्‍यो । 

सुधार्न खोज्दा हत्या

असल भावना राखेर कोही कसैलाई सम्झाउँदा उनले ज्यान गुमाएका छन् । कुलतमा लागेकालाई हप्काउँदा मृत्यु आइलाग्यो । हेटौंडाको राप्ती पुलबाट घरतर्फ नगएर उनी किन दाहिने मोडिएर भैरवडाँडातिर लागे, यो तथ्य खुल्न सकेको छैन ।


मोटरसाइकलमा उनी पूर्व–पश्चिम राजमार्गबाट करिब २ सय मिटर कच्ची मोटरबाटो पार गरी दाहिनेतर्फको जंगलतर्फ मोडिए । जहाँ कुलतमा लागेका दुई युवा लागूऔषध सेवन गर्दै थिए । लागूऔषध सेवन नगर भनेर सम्झाउने क्रममा उनीहरूले ढकालमाथि हातपात गरेको र धकेलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्यामा संलग्न २ युवकसहित मृतकको औंठी र मोबाइल खरिद गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । जुन सामान हत्यामा संलग्न रहेका २ युवकले बिक्री गरेका थिए ।


उनी सामुदायिक रेडियो पालुङ स्थापनाकालदेखि कार्यरत थिए । रेडियोमा उनी प्राविधिकसहित कार्यक्रम सञ्चालन गर्थे । ‘रेडियोमा पहिलो स्वर उनको बजाइएको थियो,’ सँगै काम गर्ने सञ्चारकर्मी कुमार नेगीले भने, ‘अनुहार जति सफा र उज्यालो थियो, आवाज पनि उनको रेडियोमैत्री थियो ।’


उनी पालुङ रेडियोमार्फत डोको रेडियो सञ्चालन गरी मकवानपुरका दुर्गम गाउँका बासिन्दाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन सफल भएका थिए । २०६६ सम्म उनी पालुङमै रहेर सञ्चार कर्ममै जमे । त्यसपछि हेटौंडा आए ।


हेटौंडामा पनि उनले रेडियो शक्तिमा पनि प्राविधिकसँगसँगै कार्यक्रम संयोजक बनेर काम गरे । यो रेडियो स्थापनामा उनले पहल पनि गरेका थिए । पछिल्लो समयमा उनी हेटौंडाकै रेडियो अनमोलमा कार्यरत थिए । १४ वर्षअघिदेखि शिक्षण पेसामा आबद्ध रहे पनि उनको लगाव रेडियोमा थियो ।


हेटौंडा १२, पान्तलेमा रहेको बुद्ध माविमा उनी शिक्षक थिए । पठनपाठनको समय सकिएपछि उनी रेडियोमै व्यस्त रहन्थे । जुन दिन उनको हत्या गरियो, त्यो दिन उनी स्कुलबाट रेडियो गएनन् । सधैं स्कुलबाट छुट्टी भएपछि उनी रेडियो अनमोलमा जाने गर्थे । त्यो दिन अर्थात् पुस २५ गते उनी हेटौंडाको मुख्य बजारवाट घर जान्छु भनेर हिँडेका थिए ।


‘सञ्चारक्षेत्रको नयाँ नयाँ प्रविधिमा प्रवेश गर्न मनैदेखि अभिरुचि राख्ने रेडियोकर्मी ढकाल मकवानपुरका विशेषगरी रेडियोकर्मीहरूका अग्रज हुन्,’ रेडियो पालुङ संस्थापक अध्यक्ष विष्णुहरि ढकालले भने, उनी अत्यन्त इमान्दार र सक्रिय व्यक्ति पनि हुन् ।’


२०३३ असोज ५ मा जन्मिएका ढकालले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका थिए । उनको परिवार अहिले हेटौंडा उपमहानगरपालिका ११ मा बस्दै आएको छ ।

प्रकाशित : माघ ७, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?