कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकियो खिचरा महोत्सव

चितवन — थारू समुदायको मौलिक पर्व माघीको अवसरमा पूर्वी चितवनको खैरहनीमा आयोजित खिचरा महोत्सव सोमबार सकिएको छ । 

सकियो खिचरा महोत्सव

थारु क्ल्याणकारिणी सभा क्षेत्र नं. ७ को आयोजनामा पुस २८ गते महोत्सव सुरु भएको थियो । यो छैटौं खिचरा महोत्सव हो । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आदिवासी थारूहरूको संस्कार संस्कृति प्रदेशको मात्रै नभएर देशकै सम्पत्ति भएको बताए ।


चितवनको मैदानी क्षेत्रका मुख्य आदिवासी थारूहरूको गौरवमय परम्परालाई संरक्षण गर्न प्रदेश सरकारले चितवनमा संग्रहालय बनाउने योजना बनाएको मुख्यमन्त्री पौडेलले बताए । ‘चितवनको पूर्वी र पश्चिम क्षेत्रमा एउटा थारू संग्रहालय बनाउने प्रदेश सरकारको योजना छ । तपाईंहरू मिलेर राम्रो प्रस्ताव ल्याउनुहोला,’ मुख्यमन्त्री पौडेलले भने ।


थारू समुदायको आफ्नै खाले संस्कार, संस्कृति गीत, नाँच, पोसाक, गहना, खानाहरू रहेका छन् । ती केही हराएर गए पनि धेरै बाँकी नै छन् । हराएकाहरूको प्रदर्शन र बचेकाहरूको संरक्षण गर्न संग्रहालय महत्त्वपूर्ण हुने मुख्यमन्त्री पौडेलले बताए । ‘हाम्रो संस्कृति पर्यटकहरूले पनि रुचाएका छन् । चितवनमा वन्यजन्तु मात्रै हैन आदिवासीको संस्कार संस्कृति हेर्न पनि पर्यटक आउँछन्,’ उनले भने ।


महोत्सवमा यी परिकारहरूका साथै फागुनाच, झाम्टा नाचजस्ता मौलिक नृत्यहरू प्रस्तुत भएका थिए । ‘पहिला पहिला माघे संक्रान्तिमा खिच्रो खाने चलन पनि थियो । अहिले त्यो कम हुँदै गएको छ । तर चिच्चर, पोका, माछा, हाँको मासु र घोँगी खाने चलन कायमै छ,’ थारू अगुवा चन्द्रा चौधरीले भनिन् । ६ वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको महोत्सवले थारूका परिकार अरू समुदायले पनि रुचाउन थालेको उनको भनाइ छ ।


कान्तिपुरकर्मी पुरस्कृत :

खिचरा महोत्सवको समापनको अवसरमा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले कान्तिपुर चितवन संवाददाता रमेशकुमार पौडेललाई पुरस्कृत गरेको छ ।


पुरस्कारको राशि १५ हजार १५५ रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले पत्रकार पौडेलाई पुरस्कार प्रदान गरेका थिए ।


थारू समुदायको संस्कार संस्कृतिका विषयमा कलम चलाउँदै आएका कारण पत्रकार पौडेललाई पुरस्कृत गरेको सभाले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?