१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चौंरी मर्दै, औषधि छैन

रामेछाप — फुरिन्जीको गोठको लोभलाग्दो ‘सेराङ’ बिरामी परेर मरेको एक वर्ष भयो । ५ बेते ‘सेराङ’ बिरामी परेदेखि फुरिन्जीका आँखा ओभाएनन् । ‘घाँसै नखाने, र्‍याल चुहाइरहने, केही खाइहाले पनि ओकल्थ्यो,’ फुरिन्जी भन्छन्, ‘मैले जानेको कुडीलगायतको जडिबुटीबाट औषधि बनाएर ख्वाएँ । तर केही सीप चलेन । १२ दिन जति बँचाएँ, त्यसपछि मर्‍यो । 

चौंरी मर्दै, औषधि छैन

गोठमा रोग लागेर मरेको ‘सेराङ’ मात्र हैन, अरू धेरै चाैंरी त्यसैगरी मरे । १०–१२ वटा जति । लेकमा चौंरीलाई रोग लागेपछि बचाउने औषधि पाइँदैन । माथिल्लो गुम्देलमा सरकार पुग्दैन । पशु प्राविधिकहरूको मुख चौंरीले पुलुक्क पनि हेर्न पाउँदैनन् । को डाक्टर अनि के औषधि ? चौरीपालक किसानलाई थाहा छैन । आजभन्दा अघि त भएन नै, अहिले पनि छैन । गुम्देलमा रहेका सबै २० वटा गोठका किसानको समस्या एउटै हो ।


चौंरी बिरामी पर्‍यो कि उनीहरू भगवान् सम्झन्छन् । जडिबुटी खोज्छन्। बाबुबाजेको पालादेखि सिकेको औषधि बनाएर खुवाउँछन् । गोठ नछोडी हेरचाह गर्छन् । केही सन्चो पनि हुन्छन्, धेरैचाहिँ मरेकै छन् । तेछिमका गेल्जे शेर्पा भन्छन्, ‘सरकार धेरैवटा छन् तर चांैरीको व्यथा हेर्ने सरकार छैन,’ शेर्पा भन्छन्, ‘चाैंरीका हामी नै सरकार अनि हामी नै गोठालो ।’


चौंरीपालक किसानलाई सघाउन सरकारले कुनै कार्यक्रम गुम्देलमा लगेको छैन । कैयौं स्थानमा सुरक्षित बाटो छैन । खोलाहरूमा काठेपुल छैन । वडाले चौंरी गोठका लागि कार्यक्रम दिएको छैन । प्रदेश र केन्द्र सरकारको के कुरा ? फुरिन्जी भन्छन्,

‘चौंरीबारे स्थानीय सरकार नै बेखबर छ , चौरीपालन पेसालाई जिल्लाकै चिनारी बनाउन सकिन्थ्यो । चाैंरी पर्यटन क्षेत्रको विकास गर्न मिल्थ्यो । केही गरेको छैन, अहिलेसम्म ।’


पाँच वर्षअघि गुम्देलमा चौंरीपालक किसानलाई सघाउन जिल्ला पशु सेवा कार्यालयले याक ल्याइदियो । सोलुबाट खरिद गरेर गुम्देल ल्याएको उक्त याक आँखै हेर्न नसकेर मर्‍यो । माथिल्लो लेकमा हुने याक गुम्देलमा फापेन । त्यसपछि उनीहरूमाथि थप बज्रपात परेको छ । कार्यालयले निजी डेरी उद्योग स्थापनाका लागि सहयोग गरेको थियो । सहयोग बन्द भयो, डेरी पनि बन्द भए । केन्द्र सरकारले जिल्लामा भएको पशु कार्यालय खारेज गरेपछि सदरमुकाम आएर पनि डाक्टरको सल्लाह लिनसमेत नपाउने अवस्था छ ।


गुम्देलमा चौंरीको दूध बिक्रीमै समस्या छ । नजिकै डेरी छैनन्, गुम्देलबाट बाम्तीको थोदुङ्गसम्म दूध लैजान आधा दिन हिँडेर जानुपर्छ । सरकारी डेरीले वर्षायाममा दूध संकलन केन्द्र केही पर गाउँसम्म लैजान्छ । हिउँदमा उक्त सुविधा छैन । डेरीमा दूध लैजान नसक्ने किसानले गोठमै छुर्पी बनाएर थुपारेका छन् । छुर्पीको बजारभाउ चिज जत्तिको छैन । चिज बनाउँदा राम्रै पैसा आउने चौंरी किसानको भनाइ छ ।


गुम्देलमा २० वटा चाैंरी गोठ छन् । चिसोले ओरालिएका चौंरी गुम्देल गाउँनजिकै आइपुगेका छन् । वर्षामा भालेपोखरी लेकसम्म पुग्छन् । यो सिजनमा धेरैजसो चौंरी ब्याउने छन् । याकलाई स्थानीय जातको गाईमा लगाएर जन्माएका उरङ्ग जातका चौंरी धेरै छन् । उरङ्गले त्यति धेरै दूध दिँदैन ।


झन्डै ५५ हजार जति पर्ने उक्त चांैरी किन्न पनि सोलुमै पुग्नुपर्छ । रामेछापमा याक छैन । गोरु खोजेको बेला याक भएको स्थान सोलुसम्म गाई लैजान सकिँदैन । त्यसैले रामेछापका चौंरीपालक जहिल्यै धेरै मोलमा उरङ्ग किनेर ल्याउन बाध्य छन् । उरङ्गलाई स्थानीय गोरु लगाइन्छ । त्यसबाट जन्मेको बाच्छाबाच्छी बाँच्दैनन् ।


गुम्देलमा पहिलेजस्तो चौंरीगोठ छैनन् । पहिलेको झैं दु:ख गर्ने किसानहरू पनि छैनन् । कोही विदेशतिर जान्छन् । हरेक वर्ष चौंरीगोठ घटिरहेको छ । पहिले गुम्देलको क्यामा, तेछिम, लाछेवर, चरिपत्करीजस्ता स्थानमा झन्डै ५० को हाराहारीमा गोठ थिए । अहिले घट्दै छन् ।

प्रकाशित : माघ ८, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?