मेलम्ची महसुलको आधा रकम माग

काभ्रे — मण्डनदेउपुर नगरपालिकाले काठमाडौंमा वितरण हुने मेलम्ची खानेपानीको महसुलको ५० प्रतिशत रकम प्रभावित क्षेत्रका स्थानीय तहलाई वितरण गर्नुपर्ने विशेष प्रस्ताव पारित भएको छ ।

चौथो नगरसभाले प्रभावित क्षेत्रमा पर्ने स्थानीय तहलाई रोयल्टीबापतको रकम जनसंख्याको आधारमा वितरण गर्नुपर्ने प्रस्ताव पारित गर्दै सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले जानकारी दिए ।


मेलम्ची खानेपानी आयोजनाले प्रभावित क्षेत्र भन्दै हाल मण्डनदेउपुर नगरपालिकामा गाभिएका साबिकका गैरिबिसौना देउपुर, महादेवस्थान, चण्डेनी, जैशीथोक र साबिक पाँचखाल गाविसको वडा नं ६ लाई प्रत्येक वर्ष १ करोड ४० लाख उपलब्ध गराउँदै आएको छ । मण्डन उपत्यका सामाजिक उत्थान समिति नामक गैरसरकारी संस्थामार्फत हँुदै आएको सहयोग नगरपालिकामार्फत सञ्चालन हुनुपर्ने उसको तर्क छ ।


चौथो नगरसभाले तामाकोसी जलविद्युत् आयोजनाको प्रशासरण लाइन नगरका विभिन्न भूभागमार्फत विस्तार हुने भन्दै रुट परिवर्तन गर्न अनुरोध पनि गरेको छ । चौथो नगरसभाले डीपीआरबिना ठूला योजनामा लगानी नगर्ने निर्णय गरेको अधिकारीले जानकारी दिए । नगरसभाले उद्योग दर्ता तथा नवीकरणका लागि वार्षिक शुल्क तय गरेको छ ।


क्रसर उद्योगका लागि ११ लाख, इँटा उद्योगका लागि ८ लाख, ढुंगा खानीका लागि ५ लाख, बालुवा खानीका लागि ५ लाख र बालुवा वासिङका लागि ३ लाख शुल्क निर्धारण भएको हो । चौथो नगरसभाले मदिराको उत्पादन, बिक्रीवितरण, प्रयोग र नियन्त्रणसम्बन्धी विधेयक र सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने विधेयक पारित गरेको छ ।

प्रकाशित : माघ ९, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?