कृत्रिम खुट्टाले फर्कायो खुसी

चितवन — हुम्ला सिमीकोटका तेन्जेन लामा काठमाडौं पढ्न पाउने भए । यो उनका लागि जीवनकै सर्वाधिक खुसीको कुरा थियो । काठमाडौंको एक आश्रममा बसेर पढदै गर्दा उनले थोरै भए पनि अंग्रेजी सिके । तर कक्षा चारमा पढदै गर्दा उनको शरीरमा तातो पानी घोप्टियो ।

कृत्रिम खुट्टाले फर्कायो खुसी

‍उपचार गर्दै जाँदा दुवै खुट्टा चल्नै छाडे । हिँड्न डुल्न गाह्रो भएपछि घरै र्फिर्कए । खुसी उनका लागि क्षणभरको भएर आएको रहेछ ।

लगभग आठ वर्ष घस्रेर कष्टका साथ हिँड्न बाध्य तेन्जेन अहिले दुई खुट्टाले टेकेर हिँड्न तयार हुँदै छन् । १८ वर्षका उनी पिता सुनबहादुरसहित हुम्लाबाट आइतबार नवलपुर गैंडाकोटको सहज सामुदायिक अस्पताल आए । उनका खुट्टालाई आड दिने क्यालिबर उसै दिन तयार भएर जडान पनि भयो । त्यसपछि उनी हर्षित हुँदै हिँड्ने अभ्यासमा व्यस्त भए । केही समयपछि उनी दुई खुट्टा टेकेर हिँडडुल गर्न सक्नेछन् ।

भारतीय संस्था भगवान् महावीर बिकलांग समितिका प्राविधिकहरू यति बेला सहज अस्पतालको प्रांगणमा कृत्रिम खुट्टा, हात र क्यालिबर बनाउन व्यस्त छन् । व्यावसायिक संस्था चौधरी समूहको सीजी फाउन्डेसनले प्राविधिकहरूलाई नेपाल ल्याएर शिविर सञ्चालन गरेको हो । पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा शिविर थियो । त्यसपछि टोली गैंडाकोट आएको हो ।

तेन्जेन गैंडाकोटसम्म आउन त्यसै पाएका हैनन् । ‘साउनमा भारतीय राजदूत सिमीकोट जानुभएको थियो । उहाँ जिल्ला अस्पताल जानुभएको रहेछ । हाम्रो घर नजिकै छ । छोराले खै कताबाट हो भेट्न पाएछ । अंग्रेजी पनि फाट्टफुट्ट बोल्छ । अंग्रेजीमै कुरा गरेर आफ्नो व्यथा राखे छ,’ पिता सुनबहादुरले भने । त्यो बेला केही सहयोग गर्ने र आफ्नै खुट्टाको बलमा हिँड्न सक्ने बनाउने आश्वासन दिएर भारतीय राजदूत फर्केका थिए ।

नवलपुरमा शिविर हुने भएपछि भारतीय राजदूतावासले नै समन्वय गरेर तेन्जेनलाई पठाएको सहज अस्पतालका करुणसागर सुवेदीले बताए । सहजमा माघ ३ गतेबाट शिविर सुरु भएको हो । ४५ दिनसम्म शिविर चल्ने सुवेदीले बताए । नवपलपुर, नवलपरासी र चितवनका मात्रै नभएर टाढाटाढाबाट पनि सेवा लिन आइरहेका छन् । ४५ दिनसम्म पाँच सयजनाले सेवा लिने उनले बताए । सबै सेवा नि:शुल्क उपलब्ध हुने गरेको छ ।

प्रकाशित : माघ ९, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?