कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चार हिउँद टहरामै

बलराम घिमिरे

रसुवा — जोखिमयुक्त बस्तीमा परेका भूकम्पपीडितहरूले चार वर्षको जाडो टहरामा बसेर कटाएका छन् । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत जोखिमयुक्त बस्ती हाकु र डाँडागाउँका भूकम्पपिडित अझै पुन:स्थापित हुन सकेका छैनन् ।

चार हिउँद टहरामै

थातथलोमा पहिरो गएपछि आफ्नो पुख्र्यौली गाउँ छाडेर उनीहरू जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला नुवाकोटमा बसोबास गर्दै आएका छन् । धेरैजसो विस्थापित परिवार उत्तरगया गाउँपालिका–५ बोगटीटार र खाल्टेमा बसोबास गर्दै आएका छन् ।


लामो समयदेखि टहरामा बस्दै आएका भूकम्पपीडितको दैनिकी कष्टकर बन्दै गएको छ । खाल्टेमा करिब २ सय ६९ परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । केहीले स्वैच्छिक स्थान्तरणमा जानका लागि घडेरीयोग्य जग्गा खरिद गर्न दुई लाख अनुदान लिइसकेका छन् भने केही प्रक्रियामै रहेका छन् । केही परिवार तिरु एकीकृत बस्तीमा जानका लागि तयारी गरिरहेका छन् । बोगटीटारमा करिब सय परिवार रहेका छन् ।


त्यस्तै छिमेकी जिल्ला नुवाकोटको इनारपाटीमा करिब ८४ र सातबिसेमा २० परिवार बसोबास गर्दै आएका छन् । उनीहरूले पनि स्वैच्छिक स्थानान्तरणमा जानका लागि जग्गा खरिद गरेका छन् भने तिरु एकीकृत बस्तीमा जानका लागि तयारी गरिरहेका छन् । ‘पुन:स्थापित हुने आसै आसमा बसेको चार वर्ष पुग्न लाग्यो, पहिरोले न गाउँ फर्कन सक्ने अवस्था छ न सरकारले व्यवस्थित गरेर राख्छ, अस्थायी टहरामै बित्ने भो जिन्दगी,’ विस्थापित भूकम्पपीडितहरूले गुनासो गरे ।


खाल्टेमा एकीकृत बस्ती बनाएर राख्ने आश्वासन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पटक–पटक पाए पनि अहिले आएर धोका दिएको भूकम्पपीडित छेकु लामाले बताए । प्राधिकरणले अहिले भौगर्भिक अध्ययनबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खाल्टेलाई बस्न नमिल्ने जोखिमयुक्त ठाउँ भनेको छ । खाल्टेमा बस्न नमिल्ने कुरा पहिला नै भनेको भए विकल्प खोजी हुन्थ्यो, अन्तिममा आएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धोका दिएको पीडितहरूले गुनासो गरे ।


स्वैच्छिक स्थान्तरणमा जानका लागि पनि जग्गा पाउनै मुस्किल भएको पीडित जंगबहादुर तामाङले बताए । ‘अहिले जग्गाको भाउ बढेको छ,’ उनले भने, ‘२ लाखमा जग्गा किन्न सक्ने अवस्था छैन । पहिला नै खाल्टेमा बस्न मिल्दैन, स्वैच्छिक स्थान्तरणमा जानु भनेको भए त्यतिबेला नै हामीहरू सस्तोमा जग्गा खोज्थ्यौं ।’ अहिले त्यस्तो अवस्था नरहेको पीडितहरू बताउँछन् ।


२ लाखमा घडेरीयोग्य जग्गा नआउने भएकाले सरकारले नै तल्लो पहिरेमा जग्गा खरिद गरेर एकीकृत बस्ती बनाएर राख्नुपर्ने माग पीडितहरूको रहेको छ । खाल्टेमा बसोबास गर्ने करिब १५४ परिवार तिरु एकीकृत बस्तीमा नजाने छेकु लामाले बताए । सरकारले तल्लो पहिरेमा एकीकृत बस्ती बनाएर नराखे खाल्टेलाई नै आफैं सुरक्षित बनाएर बस्ने उनीहरूले बताएका छन् ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भौगर्भिक अध्ययनले जिल्लाका ७० स्थानका बस्ती जोखिमयुक्त भएको देखाएको छ । जसमा ३० वटा बस्तीलाई पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने देखिन्छ । २५ बस्तीलाई भने आवश्यक पूर्वाधार निर्माण गरी सुरक्षित गर्न सकिने प्राविधिकहरूले सुझाव दिएका छन् ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवा जिल्लाको जोखिमयुक्त बस्तीमा परेका ९ सय ९९ परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । त्यसमध्ये अहिलेसम्म ४ सय २३ परिवारले २ लाख बुझेर पुनर्वास प्रक्रिया पूरा गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले बताएको छ ।

प्रकाशित : माघ १४, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?