२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

८ लेन हस्तान्तरण

कोटेश्वर–कलंकी सडक तयार, फुटपाथ नबन्दा पैदल यात्रुलाई समस्या, पर्याप्त बसपार्क र आकाशे पुल छैनन् ।
प्रशान्त माली

ललितपुर — सडकमा पहिलो अधिकार पैदल यात्रु हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको कोटेश्वर– कलंकी सडकमा भने फुटपाथ नै छैन । पैदल यात्रु ड्रेन (आकाशे पानी बग्ने ढल) लाई नै फुटपाथका रूपमा प्रयोग गर्न बाध्य छन् । चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको चक्रपथमा ड्रेनको ढकनीमा प्वालै प्वाल छन् ।

८ लेन हस्तान्तरण

सेतो छडी प्वालमा छिर्ने भएकाले दृष्टिविहीन हिँड्न असम्भवप्राय छ । ह्वीलचियरमा यात्रा गर्ने अपांगता भएका व्यक्ति लड्न सक्ने सम्भावना उत्तिकै छ । हिल जुत्ता लगाउने सोख भएका महिलालाई पनि आवतजावत गर्न कठिनाइ छ ।


सडकमा साइकल लेन पनि छैन । तर, रुचिको कुरा के छ भने संघाई ग्रुपले बनाएको डिजाइनमा भने फुटपाथ र साइकल लेन दुवै छन् । नेपाल र चिनियाँ सरकारबीच चक्रपथ बनाउन भएको सम्झौतामा पनि साइकल लेन रहने व्यवस्था छ । यस्तो त्रुटि नै त्रुटि भएको चक्रपथ सफलतापूर्वक निर्माण सम्पन्न भएको भनी चिनियाँ राजदूत हौ यानछीले खुमलटारमा आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीलाई साँचो दिएर हस्तान्तरण गरेकी छन् ।


प्रधामन्त्री ओलीले चक्रपथले नेपालका सडकलाई आधुनिक युग अनुसारको स्तरोन्नति गर्ने नमुना सडकका रूपमा लिएको बताए । ‘सुरु भएका स्याफ्रुबेंसी–रसुवागढी सडक, अरनिको राजमार्ग पुनर्निर्माणले नेपाल चीन मित्रता र नेपालको यातायात विकासमा थप योगदान दिने विश्वास लिएको छु,’ उनले भने, ‘चीन सरकारले अरिनिको राजमार्ग ५० वर्षअघि सम्पन्न गरेर नेपाललाई चीनसँग जोड्न सहयोग गरेको थियो ।’


उनका अनुसार नेपाल–चीन रेलवे विस्तार गर्न चीन सरकारबाट प्रारम्भिक अध्ययन सम्पन्न भई सम्भाव्यता अध्ययन भइरहेको छ । ‘यसले नेपालको यातायात क्षेत्रमा रेलको विकास र नेपाली–चिनिया जनताबीचको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउनेछ,’ उनले भने, ‘ल्हासा–काठमाडौं रेलवे योजना पनि छिट्टै निर्माणको चरणमा प्रवेश गर्नेछ ।’

उनले नेपालको तिब्वती राजमार्ग र चिनियाँ बन्दरगाहको प्रयोग गर्न पाउने सम्झौताले नेपाल–चीन कनेक्टिभिटीमा

थप आयाम सिर्जना गरेको बताए । ‘नेपालका महत्त्वपूर्ण उद्योग स्थापनामा पनि चीन सरकारले सहयोग गरेको छ,’ उनले भने । चिनियाँ राजदूत यानछीले भूकम्प र नाकाबन्दीका कारण चक्रपथ विस्तारमा ढिलाइ भएको बताइन् ।


‘चक्रपथ निर्माण सम्पन्नले नेपाल र चीनबीच सम्बन्ध थप सुमुधर बन्दै गएको छ,’ उनले भनिन्, ‘कोटेश्वर–महाराजगन्ज सडक विस्तार गर्न सडक अतिक्रमण गरिरहेका घरटहरा भत्काउन नेपाल सरकारले पहल गर्नुपर्छ ।’ उनले नेपालको विकास गर्न आवश्यक सबैखाले सहयोग गर्न तयार रहेको बताइन् । ८ लेन मुलुककै फराकिलो सडक हो । ५० मिटर चौडाइको सडकमा पिडिस्ट्रेइन (बाटो काट्दा बीचमा अडिने ठाउँ) छैन । नेपाल सडक मापदण्ड ०७१ अनुसार सडकमा पिडिस्ट्रेइन कम्तीमा १.८ मिटर हुनुपर्ने कानुनी प्रावधान छ । यसले वृद्धवृद्धा, बालबालिका र अपांगता भएका व्यक्तिलाई सडक वारपार गर्न बढी कठिनाइ भएको छ । र, सर्भिस ट्रयाक समयमा नबनाउँदा दुर्घटना बढेको भन्दै ललितपुर महानगरपालिका–२ वडा कार्यालयले चक्रपथ सुघार योजनालाई लिखित रूपमा ध्यानआर्कषण गराए । योजनाले सुघार गर्न चासो नदिएपछि वडावासी मिलेर योजनाको कार्यालयमा पुगेर नै विरोध प्रदर्शन गरे । तर, पनि सुधार गर्न चासो दिएनन् ।


ललितपुर महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जन भन्छन्, ‘चक्रपथमा भएका त्रुटिका बारेमा छलफल गर्न वडा बैठकमा योजना प्रमुखलाई उपस्थित हुन पटकपटक जानकारी गराए । तर, कोही पनि उपस्थित भएनन् ।’ उनले नियमन गर्ने निकायको गैरजिम्मेवारीका कारणले सर्वसाधारण मर्कामा परेको बताए । ‘चक्रपथ सडकमा भएका दुर्घटनाको जिम्मेवारी सरकारले पनि लिनुपर्छ,’ उनले भने ।


१०.४ किमि लम्बाइको चक्रपथमा भएका त्रुटि यति मात्र होइन । ग्वार्को–एकान्तकुना सडकअन्तर्गत सातदोबाटो खण्डमा बस स्टप छैन । सार्वजनिक यातायातका चालक सडकमै यात्रु ओराल्न र बसाल्न बाध्य छन् । सातदोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, ग्वार्कोलगायत सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्न जेब्राक्रसिङ राखिएको छैन । न त आकाशे पुल नै छ । पैदल यात्रु जोखिम मोलेर बाटो काट्न बाध्य छन् ।


मिडियन, हरित क्षेत्र, सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चिह्न, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइर पनि राखिएको छैन । त्रुटिका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलगायत सम्बन्धित निकायलाई जानकारी छ । तर पनि सच्याउन कसैले चासो दिएका छैनन् ।


इन्जिनियर भूषण तुलाधर भन्छन्, ‘चक्रपथमा भएका गल्ती सच्याउनुपर्छ । नत्र यसले धेरै मानिसको ज्यान लिने पक्का छ ।’ उनले चिनिया कम्पनीले थप विस्तार गर्न लागेको कोटेश्वर–महाराजगन्ज सडकमा यस्तो गल्ती दोहोर्‍याउन नहुने बताए । ‘डिजान बनाउन बरु एक वर्ष ढिला होस्,’ उनले भने, ‘तर, त्रुटि नहोस् ।’


सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक केशव शर्माले ड्ेरन र सर्भिस ट्रयाकको बीचको जग्गा फुटपाथ र हरित क्षेत्रका रूपमा उपयोग गर्न सकिने बताए । ‘सडकको बीच भागमा मिडिएटर चाँडै राखिनेछ,’ उनले भने, ‘सडक बीचको खाली स्थानको पनि उपयोग गर्ने योजना छ ।’ काठमाडौंमा पछिल्लो तथ्यांक हेर्दा ३६ प्रतिशतले दुर्घटना बढेको छ ।


सडकमा प्रति घण्टा ५० किमिको गतिमा आएको गाडीले ठक्कर दिँदा मानिसको मृत्यु हुने सम्भावना ६० प्रतिशत र ३० किमि प्रतिघण्टाको गतिमा आएकोले ठक्कर दिँदा मृत्यु हुने सम्भावना १० प्रतिशत सम्भावना हुन्छ ।

प्रकाशित : माघ १५, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?