पत्नीको हत्या आरोपीद्वारा कारागारभित्र आत्महत्या

कान्तिपुर संवाददाता

दोलखा — पत्नी हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका एक युवकले बुधवार बिहान आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका—५ लापिलाङका २२ वर्षीय च्याङा शेर्पाले कारागारभित्रको शौचालयमा आत्महत्या गरेका हुन् । 

दोलखा जिल्ला अदालतले पुर्पक्षमा पठाएको राति नै शौचालयभित्रको झ्यालमा जुत्ताको तुनाको पासो लाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए।

Citizen

गत पुस २० गते २७ वर्षीया पत्नी लक्की शेर्पाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान थालेको थियो। अनुसन्धान सकेर हत्या अभियोगमा अदालत पेस गरिएका च्याङालाई मङ्गलवार थुनामा पठाइएको थियो।

दुई वर्षीया र ६ महिनाको काखको छोरी रहेको च्याङाले कोठामा नै श्रीमती लक्कीलाई सलको पासो लगाई हत्या गरेको आरोप छ। कपडा सिलाउने र ब्युटि पार्लर व्यवसाय गर्ने लक्कीको मृत्युको विषयलाई च्याङाको परिवारले भने आत्महत्या दाबी गर्दै आएको छ।

च्याङाका दाजु छिरिङ शेर्पाले भाइ च्याङाको कारागारभित्र आत्महत्या भनिएको विषयप्रति आशंका व्यक्त गरे। मिडियाले कारागारभित्रको निरीक्षण गरेर यथार्थ बाहिर ल्याउन उनले आग्रह गरेका छन्।

प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले च्याङाको आत्महत्या खबर पाउने बित्तिकै सञ्चारकर्मी र उनका परिवारलाई जानकारी दिएका थिए। छिरिङ सहितको उपस्थितिमा मुचुल्का गरी च्याङाको शव चरिकोट अस्पतालस्थित शवगृहमा लगिएको छ।

प्रकाशित : माघ १६, २०७५ १८:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हजारे अनशनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकपाल नियुक्तिको माग राख्दै भारतका सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि अनशन सुरु गरेका छन् । उनले महाराष्ट्रस्थित आफ्नो गाउँ रालेगण सिद्धिमा बुधबार बिहानबाट अनशन सुरु गरेका हुन् ।

तस्बरः एएनआई

लोकपालसँग भ्रष्टाचारको मामिलासम्बन्धी जोसुकैलाई उजुरी सुनुवाइ गर्ने अधिकार दिइएको छ।लोकपाल विधेयक पारित भएको ५ वर्ष बितिसक्दा पनि मोदी सरकारले लोकपाल नियुक्ति नगरेपछि हजारे सरकारसँग रुष्ट छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा पटकपटक चिठ्ठी लेखे पनि कुनै सुनुवाइ नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यस्तै, महाराष्ट्र राज्यमा लोकायुक्त विधेयकपारित हुनुपर्ने मागसमेत हजारेले राखेका छन्।

आफ्नो अनशन देश र जनताको पक्षमा रहेको हजारेको दाबी छ । माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान हजारेको रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित : माघ १६, २०७५ १६:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT