२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

धरापमा ग्यास उद्योग : सुरक्षा सतर्कता अनुगमन हुँदैन, सिलिन्डरमा रंगरोगन मात्र 

हरिहरसिंह राठौर

जुगेखोला (धादिङ) — पृथ्वीराजमार्ग का स्थानीय बजारसँगै सञ्चालनमा रहेका अधिकांश ग्यास उद्योगहरूमा मापदण्डअनुसारको सरक्षा सतर्कता अपनाइएको पाइँदैन । सरोकारवाला निकायहरूको सुरक्षा सतर्कता अनुगमन नहुने भएपछि नौबिसेदेखि मुग्लिनसम्म राजमार्गसँगै जोडिएका २५ वटा ग्यास रिफिलिङ सेन्टरहरू दुर्घटनाको धरापमा छन् । 

धरापमा ग्यास उद्योग : सुरक्षा सतर्कता अनुगमन हुँदैन, सिलिन्डरमा रंगरोगन मात्र 

भारतीय नाकाबन्दीका बेला तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनले थाक्रेको सिद्धार्थ ग्यासलगायत उद्योगहरू अनुगमन गरेयता कुनै पनि अनुगमन गरिएको छैन । अनुगमनका क्रममा पुनले चालिसेस्थित सिद्धार्थ ग्यास उद्योगमा हाइड्रोलिक परीक्षण नगरी पुराना सिलिन्डर रंगरोगन गरी बजार पठाउन तयारी गरेका ८ सय सिलिन्डरमा रोक लगाएका थिए ।


त्यतिबेला अनुगमनमा गएका वाणिज्य विभाग, नापतौल तथा गुणस्तर विभागका अधिकारहरूले सबै सिलिन्डर सिलबन्दी गरेका थिए । उक्त उद्योगमा पुराना सिलिन्डरमा लेदो सफा गर्ने हाइड्रोलिक उपकरण जडान नगरिएकोले उक्त उपकरण तत्काल जडान गर्न निर्देशनसमेत दिइएको थियो ।


नौबिसेस्थित ग्यास उद्योग व्यवसायी संघका अध्यक्ष शिव घिमिरेको सुगम ग्यास उद्योग

निरीक्षण गर्दा सिलिन्डरमा गडबडी देखिएको थियो । उक्त उद्योगको एउटा सिलिन्डरमा पिंध सुगम कम्पनीको र मास्तिरको भाग अर्कै कम्पनीको छाप भएको फेला पारी नियन्त्रणमा लिइएको थियो । एचपी ग्यास उद्योगमा सिलिन्डर सफा गर्ने उपकरण जडान गरिएको भए पनि प्रयोग गर्ने नगरिएको फेला परेको थियो ।


साल्ट ट्ेरडिङ लिमिटेडद्वारा थाक्रे जुगेखोलामा सञ्चालित मेट्रो काठमाडौं ग्यासका म्याद सकिएका सिलिन्डरहरू नष्ट गर्ने क्रममा आइपुगेका राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालका अधिकांश ग्यास उद्योगहरूमा ठूलो सुरक्षा चुनौती रहेको बताए ।


मेट्रो ग्यासको २ सय ५० सिलिन्डरहरू नष्ट गर्ने क्रममा आएका अध्यक्ष महर्जनले हरेक सिलिन्डरको म्याद ७ वर्ष मात्र हुने र त्यसपछि लेदो सफा गरी हाइड्रोलिक परीक्षण गरी बढीमा २० वर्षभन्दा बढी प्रयोगमा ल्याउन नहुने बताए । नेपालमा दर्ता गरिएका ८४ ग्यास उद्योगहरूमध्ये ५४ वटा मात्रै सञ्चालनमा रहेको र यी उद्योगहरूले ८४ लाख सिलिन्डर बजारमा पठाएको जानकारी उनले दिए ।


‘उद्योगहरूले इजाजतपत्र लिने बेला न्यूनतम सुरक्षा सतर्कता र मापदण्ड पूरा नगरी दिइएको छ । हामीले आयल निगमलाई बारम्बार प्रतिवेदन दिए पनि बेवास्ता भएको छ,’ अध्यक्ष महर्जन बताउँछन् ।


मेट्रो काठमाडौं ग्यासका प्रमुख व्यवस्थापक महेन्द्र भुसालले नेपालमा स्वचालित ग्यास उद्योगहरूमा काम गर्ने दक्ष जनशक्ति नभएको र सिकेर पनि वैदशिक रोजगारमा गइहाल्ने प्रवृत्तिले धेरै कुरा सुधार्न नसकिएको बताए ।


प्रकाशित : माघ २३, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?