कामीरिता २३ औं पटक सगरमाथा चढ्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सोलुखुम्बुका कामीरिता शेर्पा आउँदो वसन्तकालमा फेरि आरोहणमा जाने भएका छन् ।

शेर्पाले फागुनपछि सुरु हुने वसन्तकालीन सिजनमा आफू सगरमाथाको २३ औं आरोहण गर्न तयार रहेको बताए । ‘यसपालि २३ औं पल्ट सगरमाथा चढदै छु,’ उनले भने, ‘सबै तयारी करिब–करिब सकिइसकेको छ । मार्च अप्रिलमासगरमाथातिर लाग्छु होला ।’

गत वर्ष जेठमा २२ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका शेर्पाले आफू काठमाडौंस्थित सेभेन समिट ट्रेक्स कम्पनीसँग अनुबन्धित भएको बताए । ‘सेभेन समिटले मलाई वार्षिक ३० हजार डलरमा अनुबन्ध गरेको छ,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘यो रकममध्ये २० हजार डलर सगरमाथाका लागि हो भने १० हजार डलर मनास्लु हिमाल आरोहणका लागि हो । सेभन समिटसँग कामीरिताको दुई वर्षको अनुबन्ध छ । यो सम्झौता अबको हिउँद याममा सकिनेछ ।

सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढ्नेछन् । कामीरिता यसअघि अमेरिकन कम्पनी अल्पाइन एसेन्टमा थिए । सेभेन समिट ट्रेक्सले ३० हजार डलरको अफर गरेपछि उनले कम्पनी बदलेका हुन् ।

आरोहण गराउने ट्रेकिङ कम्पनीहरू शेर्पाहरूलाई ७ लाखदेखि माथि अफर गर्छन् । केही वर्ष अघिसम्म शेर्पाहरूले एउटा आरोहणका लागि २/३ लाख रुपैयाँ मात्रै कमाउँथे । ‘सगरमाथा चढेर फर्केपछि अमेरिका जाने कार्यक्रम छ,’ कामीरिताले भने, ‘तलतिर (अमेरिका) को नागरिकता लिन मन छैन तर भिजिट भिसामा हरेक वर्ष गइरहन्छु होला ।’ ४९ वर्षीय कामीरिताले आफू नेपाल छाडेर बिदेसिने मुडमा नभएको बताए । गत वर्ष २२ औं पटक सगरमाथा आरोहणपछि उनी एक महिना अमेरिकाघुमेर फर्केका थिए ।

गत वर्षसम्मको सरकारी तथ्यांकअनुसार ५ हजार हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन् । पछिल्ला वर्ष ४ सय हाराहारी आरोही सगरमाथा उक्लिन्छन् । २०७३ सम्म २१ औं पटक सगरमाथा आरोहण गर्नेमा आप्पा शेर्पा र फुर्बा तासी शेर्पा थिए । सबैभन्दा पहिले आप्पा शेर्पाले २०६८ मा र फुर्बा तासीले २०७० मा २१ औं पटक आरोहणको रेकर्ड बनाएका थिए ।

यी दुईकै हाराहारीमा कामीरिताले ०७४ मा २१ औं पटकको रेकर्ड राखेका थिए भने ०७५ जेठमा आफ्नै गाउँका दाजुभाइ आप्पा र फुर्बा तासीको रेकर्ड ब्रेक गर्दै उनी विश्वकै अग्लो चुचुरोमा सर्वाधिक पुग्ने आरोही बनेका थिए । २४ वर्षको उमेरमा २०५१ देखि हिमाल उक्लिन थालेका उनले पाकिस्तान र भारतको सीमामा रहेको केटु हिमाल पनि आरोहण गरिसकेका छन् ।

उनले ल्होत्से एक पटक, मनास्लु २ पटक र छोयु ८ पटक आरोहण गरिसकेका छन् । उनी दुई सन्तान, पत्नीसहित काठमाडौंको चाबहिलस्थित भृकुटीचोकमा डेरामा बस्दै आएका छन् ।

प्रकाशित : माघ २४, २०७५ ०७:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युरोप लैजाने भन्दै लिबियामा अलपत्र

होम कार्की

काठमाडौँ — लिबिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले संगठित मानव तस्करले नेपाली युवालाई युरोप लैजाने भन्दै लिबिया पुर्‍याएर अलपत्र पार्ने काम गरिरहेको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

लिबियामा अस्थिर सरकार रहेकाले मानव तस्करले युरोप प्रवेश गर्ने हब बनाएका हुन् । अफ्रिकी र दक्षिण एसियाका नागरिक यो नाका प्रयोग गर्छन् ।

‘यो नाका निकै जोखिमयुक्त छ, लिबियाबाट इटली जान गुणस्तरहीन डुंगा प्रयोग गर्छन्, दलालले युरोपको सपना देख्नेहरूलाई यसबारे जानकारी दिएका हुँदैनन्,’ इजिप्टस्थित नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीले भने, ‘नेपाली दाजुभाइ लिबिया पुगेर फसिरहेका छन् । तिनको उद्धार गर्न कठिनाइ भइरहेको छ ।’ सन् २०१८ मा मात्रै इटली प्रवेश गर्न खोज्ने २ हजार २ सय ७५ जना आप्रवासीको समुद्रमा डुंगा डुबेर ज्यान गयो ।

दूतावासले लिबिया पुगेर अलपत्र भएपछि मात्रै सूचना पाउने गरेको छ । ‘लिबिया नाका कति जोखिमयुक्त छ भनेर सूचना दिन जरुरी छ, दलालले युरोपको शरणार्थी बन्न उत्प्रेरित गर्दा जोखिमयुक्त बाटोबारे जानकारी दिँदैनन्,’ बिडारीले भने, ‘समुद्रमा कोही नेपाली परे/नपरेको बारे पनि कसैलाई थाहा हुँदैन ।’

दूतावासले लिबियन प्रहरीले पक्राउ गरी डिपोर्टेसन सेन्टरमा रहेका नेपालीलाई ट्राभल डकुमेन्ट जारी गरेर स्वदेश पठाउन सहजीकरण गरिरहेको छ । बिडारीका अनुसार पछिल्लो समय अवैध ढंगले युरोप जान खोज्नेलाई लिबिया प्रहरीले समुद्रको बीचभागमै पुगेर फर्काउन थालेको छ । सडकमार्गको जाँच हुन थालेको छ । ‘पक्राउ परेकालाई डिपोर्टेसन सेन्टरमा ल्याएर राख्छन्,’ उनले भने, ‘राहदानी भएकाको सिधै डिपोर्ट हुन्छ, नभएकाहरूको मात्रै दूतावासमा खबर आइपुग्छ ।’

पर्वतका रञ्जित केसी, म्याग्दीका दिरश थापा र अमन लोजा हतियारधारीकै नियन्त्रणमा छन् । उनीहरूलाई पोखराका जितकाजी गुरुङ र झापाका सन्तोष पराजुलीले पठाएका थिए । जितकाजी र सन्तोषलाई प्रहरीले पक्रेको छ । ‘तीन जनालाई राखिएको स्थान पहिचान हुन सकेको छैन, लिबियामा रहेका नेपाली शान्ति सेना आफैं फिल्डमा खटिरहेका छन्,’ बिडारीले भने, ‘आईओएम र लिबियन सरकारी अधिकारी पनि उद्धारका लागि जुटिरहेका छन् ।’

प्रकाशित : माघ २४, २०७५ ०७:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT