२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बन्द हुनै लागेको विद्यालय बन्यो नमुना 

प्रताप विष्ट

हेटौंडा — ४ वर्ष अघि विद्यार्थी नभएपछि बन्द हुने सूचीमा थियो दिव्यज्योति आधारभूत विद्यालय । व्यवस्थापन लथालिंग थियो । पढाइ राम्रो थिएन । विद्यार्थी घट्दै गई २० जना मात्र बाँकी रहेपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयले गाभ्ने सूचीमा राख्यो । 

बन्द हुनै लागेको विद्यालय बन्यो नमुना 

हेटौंडा उपमहानगरपालिका—९ वेदखोल्सीस्थित यो विद्यालयको अवस्था अहिले फेरिएको छ । पढाइको गुणस्तर राम्रो हुँदै गएको छ । व्यवस्थापनपनि सुध्रिएपछि अभिभावकहरू पनि ढुक्कैले छोराछोरीलाई विद्यालय पठाउन थालेका छन् ।


‘पहिला स्कुलमा पढाइ राम्रो नभएकाले नातिनीलाई अर्को विद्यालयमा भर्ना गरेको थिएँ,’ स्थानीयवासी चन्द्रबहादुर योन्जनले भने, ‘अहिले वातावरण राम्रो भएको सुनेर यो शैक्षिक सत्रदेखि यही स्कुलमा भर्ना गरेका छौं ।’ उनले मात्र होइन अन्य अभिभावकले पनि दिव्यज्योतिमा नै बालबालिकालाई भर्ना गरेका छन् । विद्यालयमा अहिले नर्सरी कक्षामा मात्र ७० विद्यार्थी छन् ।


५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा १ सय ५० जना बालबालिका अध्ययनरत छन् । व्यवस्थापन समिति, स्थानीय अभिभावक र शिक्षकहरूको सामूहिक प्रयत्नबाट नगरमा नमुना विद्यालयका रूपमा उभिन सफल भएको स्थानीय बताउँछन् ।


‘विद्यार्थी संख्या बढ्नुमा विद्यालयको शैक्षिक वातावरण परिवर्तन आउनुका साथै स्थानीय रूटमा चल्ने म्याजिक भ्यानसँग गरेको सहकार्यले पनि योगदान पुर्‍याएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भण्डारीले भने, ‘टाढा/टाढाबाट आउने स्कुलका विद्यार्थीलाई स्थानीय रुटमा चल्ने म्याजिक भ्यानले ल्याउने र लैजाने वातावरण मिलाएकाले विद्यालयका विद्यार्थी संख्या वृद्धि भएको हो ।’ चार वर्षदेखि उक्त भ्यानले विद्यार्थीलाई स्कुल ल्याउने, लैजाने गर्दै आएको छ ।


विद्यालयमा समयानुकूल शिक्षा र अभिभावकको चाहनाबमोजिम अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । विद्यालयको भौतिक संरचनामा पनि व्यापक परिवर्तन आएको छ । ‘उज्याला कक्षा–कोठा, सफा र फराकिलो खेलमैदान, छात्र र छात्राका लागि सफा शौचालय, शिक्षक–शिक्षिकाबाट हुने नियमित पठनपाठन । विद्यालय र समुदायबीचको आत्मीयताले विद्यालयको स्वरूपमा नै परिवर्तन आएको हो,’ व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले भने । अंग्रेजी माध्यमका साथै अनिवार्य कम्प्युटर शिक्षाको समेत व्यवस्था भएपछि विद्यालयमा अहिले भर्नाको चाप बर्सेनि बढ्दो छ । कति विद्यार्थीलाई भर्ना लिन पनि सकेनौं, विद्यालयका शिक्षक पुरुषोत्तम आचार्यले भने ।


विद्यालयका भित्ताहरूमा विभिन्न चित्र तथा भित्तेलेखन, हरेक कक्षामा प्रशस्त शैक्षिक सामग्री, व्यवस्थित पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ । विद्यालय परिसरमा रहेका फलफूलका बिरुवा, व्यवस्थित खेलमैदानले विद्यार्थीलाई विद्यालयमै रहन आकर्षित गरिरहेको छ । आकर्षक भवन, उज्याला र ठूला कक्षा कोठाहरू, प्रशस्त खेलमैदान, क्रियाकलापमा आधारित शिक्षण विधि, विद्यार्थीमा देखाइने असल व्यवहार विद्यालयको विशेषता रहेको छ । विद्यार्थीहरू नियमित विद्यालय आउँछन् ।


समुदायमा आएको शैक्षिक जागरण, विद्यालयले अभिभावक र समुदायको माग बमोजिमको पठनपाठन, शैक्षिकस्तरमा सुधार अनि शिक्षक–शिक्षिकाले नियमित पठनपाठन गराउन थालेपछि विद्यालयको स्तरोन्नति भएको हेटौंडा उपमहानगरपालिका—९ का वडा अध्यक्षसमेत रहेका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताए ।


विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जागरुक स्थानीय समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक–शिक्षिकामा सकारात्मक शैक्षिक जागरणले गर्दा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुँदै आएको विद्यालयकी प्रधानाध्यापक सुशीला रिजालले बताइन् । कुनै पनि सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन, शिक्षक–शिक्षिका र समुदायको त्रिकोणात्मक समन्वय रहने हो भने त्यसले उन्नति गर्न सक्ने उनको बुझाइ छ । ‘नगरभित्रकै विद्यालय भएका कारण प्रतिस्पर्धा गर्नु आफैंमा चुनौती रहेको छ,’ उनले भनिन् ।


२०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले प्रारम्भिक बालविकास कक्षा सञ्चालनका लागि शिक्षकको अभाव, खानेपानीको अभाव, विद्यार्थीका लागि गाडी सञ्चालनमा ल्याइए पनि त्यसलाई निरन्तरता दिन चुनौती छ । गत वर्ष च्यारिटी सो सञ्चालन गरेर संकलित रकमबाट विद्यालयमा भौतिक पूर्वाधारका कामहरू गरिएको थियो ।

प्रकाशित : माघ २४, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?