१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विश्वरूपाअघि कंक्रिट तुरुन्त रोक्नू

दामोदर न्यौपाने

काठमाडौँ — ‘पुरातत्त्व विभागको सहमति लिनुभयो ?’ उपमेयर हरिप्रभा खड्गीले श्लेष्मान्तक वनमाझ रहेको विश्वरूपा मन्दिर वरपर ठड्याउन खोजिएका कंक्रिटका पिलर देखाउँदै सोधिन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले ‘अस्थायी संरचना भएकाले’ सिफारिस नलिएको जनाए । 

विश्वरूपाअघि कंक्रिट तुरुन्त रोक्नू

‘यो विश्व सम्पदा हो । यहाँ थोरै खोस्रँदा पनि अनुमति लिनुपर्छ । यहाँको प्राचीनता बिग्रन्छ,’ उनले भनिन्, ‘यो काम तुरुन्त रोक्नुस् । यो स्थानीय सरकारको निर्देशन हो ।’ सर्वोच्च अदालतको आदेशविपरीत पशुपति क्षेत्रमा कंक्रिट राख्ने काम जारी रहेपछि काठमाडौंकी उपप्रमुख खड्गी

बिहीबार पशुपतिक्षेत्र पुगेकी थिइन् । स्मारक क्षेत्रमा लागू हुने कुनै पनि ऐनविपरीत काम नगर्नू भनेर सर्वाेच्चले अन्तिरम आदेश दिए पनि पशुपति क्षेत्र विकास कोषले विश्वरूपा वरिपरि कंक्रिटका पिलर राख्न थालेको थियो ।


गैरकानुनी निर्माण रोकेर विश्व सम्पदा क्षेत्र सुरक्षित राख्न माग गर्दै सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी, प्रदेशसभा सांसद लगायत निर्माणस्थल पुगेका थिए । कोषका योजना महाशाखा प्रमुख भरत मरासैनीका अनुसार विश्वरूपा मन्दिरको पर्खाल जोगाउन खनिएका १२ वटा खाडलमा कंक्रिटको पिलर उठाउन लागिएको छ । ‘फलामको ट्रस्ट राखेर मन्दिर संरक्षण गर्न यो बनाउन लागिएको हो,’ उनले भने, ‘मन्दिर बनेपछि यो झिक्छौं ।’


पशुपतिका भण्डारी केदारमान भण्डारीले कोषले सधैं स्थानीयवासीलाई पेलेरै जाने नीति बनाएको, विकास निर्माणका काममा समेत जानकारी नदिई मनोमानी गरेको गुनासो गरे । ‘यहाँका पर्व/पूजा समेत कोषकै कारण नास भएका छन्,’ उनले भने, ‘मन्दिर भत्किएका छन् । कुण्ड क्षतविक्षत भएका छन् । ढुंगेधारा सुकेका छन् । यतातिर ध्यानै गएको छैन कोषको ।’


स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेका उममेयरका चार काममध्ये अनुगमन एक हो । विश्वसम्पदा क्षेत्रमा गैरकानुनी निर्माण भएको सूचना पाएको आधारमा आफू अनुगमन गर्न आएको खड्गीले बताइन् । ‘म यसअघि पनि अनुगमन गर्न आएकी थिएँ,’ खड्गीले भनिन्, ‘विश्वरूपालाई छोपेर राख्न भनेकी थिएँ । अझै छोपिएको रहेनछ ।’


सम्पदा संरक्षणमा कोष संवेदनशील नभएको प्रतिक्रिया दिँदै उनले कोषबाट गर्न नसकिने हो भने स्थानीय सरकारले संरक्षण पहल गर्ने बताइन् । विश्वरूपा बन्न केही वर्ष लाग्ने भएकाले त्यसको गाह्रो जोगाउन ट्रस्ट राख्न लागिएको जिकीर गर्दै सदस्य सचिव ढकालले भने, ‘यसरी झकझक्याउँदा अब सचेत हुन्छौं ।’


पहिला पनि सचेत गराउँदा गराउँदै निर्माण जारी राखेको भन्दै प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्यले आपत्ति जनाए । ‘विशेष ऐन ल्याएर पशुपति विकास कोष बनाइएको हो । पहिला संरक्षक राजा हुन्थे, अहिले पनि कोषको मनोविज्ञान अरूलाई रैती ठान्ने खालको छ,’ उनले भने, ‘कोषले स्थानीय सरकारको कुरा सुन्दैन, संघीय सरकारको कुरा पनि सुन्दैन । प्राचीन स्मारक संरक्षण ऐन पल्टाउँदैन । सर्वाेच्चको आदेश समेत सुन्न छाड्यो ।’


गुरुयोजना बन्दै गरेको अवस्थामा धमाधम काम बढाउनुले कोषको नियतमा वैद्यले शंका गरे ।

महानगर वडा ६ का अध्यक्ष अध्यक्ष दिनेश डंगोलका अनुसार कंक्रिट झिकेर सच्याउन पत्राचार गर्दा पनि कोषले श्लेष्मान्तकमा कंक्रिटको बाटो बनाएकामा आपत्ति जनाए । श्लेष्मान्तक जंगलमाझको विश्वरूपा मन्दिरअगाडि बालुवा, गिटी, सिमेन्टको ‘वाक वे’ बनाइएको छ । करीव तीन करोड रुपैयाँ खर्चेर बनाएको ‘मृगस्थलीमा पर्यटक घुम्ने बाटो’लाई कसरी सच्याउने भनेर सोचिराखेको ढकालले दाबी गरे ।


प्रकाशित : माघ २५, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?