२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

स्याफ्रुबेंसी–रसुवागढी बाटोमा चिनियाँ सहयोग

बलराम घिमिरे

रसुवा — स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्ने काम सुरु हुने भएको छ । उक्त सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

स्याफ्रुबेंसी–रसुवागढी बाटोमा चिनियाँ सहयोग

सडक विभागले त्यसलाई स्वीकृत गरिसकेकाले स्तरोन्नति गर्न चीन सरकारले टेन्डर निकालेको हो ।


तियांजिन म्युनिसिपल इन्जिनियरिङ डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट चाइनाले सडक स्तरोन्नति गर्ने जिम्मा पाएको छ । अहिले सञ्चालनमा रहेको स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको लम्बाइ करिब १६ किलोमिटर रहेको छ । यो सिंगल लेनको कच्ची सडक हो । स्तरोन्नतिपछि उक्त सडक कालोपत्रेसहित डबल लेनको हुनेछ । चीन सरकारको पूर्ण सहयोगमा सडकको स्तरोन्नति हुन लागेको हो । उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।


अबको केही दिनमै सडक स्तरोन्नतिको काम सुरु हुने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख केशवकुमार शर्माले बताए । सडक दायाँबायाँ रहेको विद्युतको पोल सार्न, रुख काट्न, घर–टहरा हटाउन र कामदार बस्नका लागि जग्गा उपलब्ध गराउन निर्माण कम्पनीले सडक विभागलाई पत्राचार गरिसकेको छ ।


सडक विभागले उक्त काम तत्काल गर्न गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनालाई पत्राचार गरेको छ । ‘यो काम सकिएलगत्तै निर्माण कम्पनीले सडक स्तरोन्नति काम सुरु गर्नेछ,’ उनले भने । अहिले सञ्चालनमा रहेको स्याफ्रुबेंसी–रसुवागढी सडक चीन सरकारले नै निर्माण गरेको हो । स्तरोन्नति सुरु गरेको तीन वर्षमा सम्पन्न गर्ने चिनियाँ पक्षले बताएको छ ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक यही नै हो ।


सिंगल लेनको साँघुरो सडक हुँदा रसुवागढीबाट सामान लिएर आउने चालकहरूले अनेकौं समस्या झेल्नुपरेको छ । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्राप्त हुनासाथ पहिला फिल्ड भेरिफिकेसन गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताए । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण गर्ने काम भइरहेको छ ।


पहिलो खण्ड गल्छी–त्रिशूली–मैलुङ निर्माणको चरणमा रहेको छ । अहिले उक्त खण्डमा टेवापर्खाल, नाली निर्माण, ग्राभेल र सडक चौडा गर्ने काम धमाधम भइरहेको छ । करिब ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजनाले बताएको छ । नेपाली सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड दोस्रो हो । उक्त खण्डको पनि स्तरोन्नति गर्ने काम सुरु भएको छ । अहिले पहिरोले अवरुद्ध पारेको उक्त सडक खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ ।


मैलुङ–स्याफ्रुबेंसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने काम पनि सकिएको छ । पहिरोले सडकमा थप क्षति गरेपछि गत असारमा तयार पारिएको डीपीआर संशोधन गरिएको हो । मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड स्तरोन्नति गर्न छिटै टेन्डर हुने देवकोटाले बताए । चीन सरकारले निर्माण गर्न लागेको स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड तेस्रो हो ।


गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण सम्पन्न भएपछि काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग हुनेछ । काठमाडौंबाट गल्छी, त्रिशूली, बेत्रावती मैलुङ स्याफ्रुबेंसी हुँदै रसुवागढी सजिलै पुग्न सकिन्छ । सडक निर्माण सम्पन्न भएपछि रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी करिब ८४ किलोमिटरको हुनेछ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर रहेको छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर पार गर्नुपर्छ ।


बेत्रावती–मैलुङ–स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुनेछ । पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने हुन्छ । बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुसम्म पुग्न गाडीलाई कुनै पनि घुम्ती पार गर्नु पर्दैन ।


काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामा पुग्न सकिनेछ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक दक्षिण एसिया जोड्ने लाइफलाइनको रूपमा रहनेछ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली– बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी करिब दुई सय ३० किलोमिटर हुनेछ । रसुवागढी–केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ । तिब्बती रेलमार्ग सिगात्सेसम्म आइपुगिसकेको छ ।


सन् २०२०–२२ सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने उसको दाबी रहेको छ । चीन सरकारले रसुवागढी नाकालाई पहिलो प्राथमितामा राखेको छ । त्यसैले आफ्नो भूभागतर्फ तीव्र रूपमा भौतिक विकास गरिरहेको छ ।


पारिपट्टि चिनियाँ भूभागमा आधुनिक भवन र केरुङ पुग्न दुई लेनको कालोपत्रे सडक बनिसकेको छ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट हुँदै आएको छ ।


प्रकाशित : माघ २५, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?