भरतपुरमा सूचना प्रविधि मेला

कान्तिपुर संवाददाता

चितवन — कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ, चितवन जिल्ला शाखाको आयोजनामा भरतपुरमा शुक्रबारदेखि सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेक सुरु भएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलामा ८० वटा स्टलहरू रहेका छन् ।

मेला मंगलबारसम्म चल्नेछ । मेलाको उद्घाटन प्रदेश–३ का कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले गरे ।

Citizen

क्यान चितवनका अध्यक्ष तथा मूल समिति संयोजक भानु शर्माका अनुसार मेलामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङका सामानहरू, सफ्टेयरहरू, सुरक्षासँग सम्बन्धित सामग्रीहरू, मोबाइल, स्मार्ट टीभीका स्टलहरू छन् । उच्च शिक्षा दिने कलेजहरू र परामर्शदाताका स्टल पनि मेलामा छन् । सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न ‘आइडिया हन्ट’ कार्यक्रम पनि हुनेछ ।

उत्कृष्ट आइडिया पेस गर्नेले ‘इनोभेसन आइडिया अवार्ड’ पाउने शर्माले जानकारी दिए । ‘डिजिटल नेपाल’ प्रोजेक्ट प्रदर्शनीतथा प्रतियोगिता, वेबसाइड निर्माण प्रतियोगिता, कलेजस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि मेला अवधिमा सञ्चालन हुनेछन् । सूचना प्रविधि पढ्दै गरेका युवाहरूलाई नेपालमा नै केही गर्न सक्ने वातावरण बनाउन आइडिया हन्ट गर्न लागेको शर्माको भनाइ छ ।

आईटीमा रुचि राख्ने तथा पोख्त पुस्तालाई मात्रै नभएर मेला स्थानीय सर्वसाधारणलाई पनि लाभदायक हुने उनले बताए ।

‘मेलामा टोल विकास संस्थासँग समन्वय गरेर सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने योजना पनि छ,’ अध्यक्ष शर्माले भने । सूचना प्रविधिले मान्छेको दैनिक क्रियाकलापमा ल्याउने सहजता, सामाजिक सञ्जालको सदुपयोग र साइबर अपराधका विषयमा समुदायलाई जानकारी दिनेउनले बताए ।

प्रकाशित : माघ २६, २०७५ ०८:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एउटै विद्यालयमा १३ जोडी बालविवाह

प्रदेश ३ को नुवाकोटमा ६२ प्रतिशत बालविवाह
मकवानपुरमा ५९ प्रतिशत
प्रताप विष्ट

हेटौंडा — राक्सिराङ गाउँपालिकाको सरीखेत पलासेस्थित सूर्योदय माविमा ६ कक्षामा पढ्ने १३ वर्षीया सुनीता चेपाङले मदन चेपाङसँग विवाह गरिन् । चेपाङ र मदनको घर एक घण्टाको दूरीमा पर्छ । मदन स्कुलमा पढ्दैनथे ।

सुनीता गत मंसिर ८ गतेसम्म स्कुलमा पढ्न आएकी थिइन् । उनी छात्रावासमा बसेर पढ्ने गर्थिन् । ‘शुक्रबार घर जान्छु भनेर गएकी थिइन्, विवाह गरेर पढ्न नै आइनन्,’ उक्त माविका प्रधानाध्यापक काजीराम मोक्तानले भने ।

सुनीतामात्र होइन, ८ कक्षामा अध्ययन गर्ने १६ वर्षीया शर्मिला चेपाङ पनि गाउँकै केटासँग विवाह गरेपछि पढ्न आएकी छैनन् । सुनीता र शर्मिलामात्र होइन, उक्त विद्यालयका ६ देखि ९ कक्षासम्म अध्ययन गर्ने ११ छात्रा र २ छात्रले यही शैक्षिक सत्रमा पढाइ छाडेर विवाह गरे प्रधानाध्यापक मोक्तानले भने । सूर्योदय माविमा मात्र होइन, राक्सिराङ गाउँपालिकाको काँकडा सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पनि यही शैक्षिक सत्रमा ६ जना छात्राले विवाह गरेर पढाइ छाडेका छन् । मंसिरदेखि फागुनको अन्तिमसम्म चेपाङ समुदायले बिहे गर्ने गर्छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले चेपाङ महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हालै गरेको अध्ययन प्रतिवेदनअनुसार पश्चिमी क्षेत्रमा पर्ने साबिकका गाविसहरूमा ४५ प्रतिशतदेखि ८६ प्रतिशत किशोरीको १२ देखि १५ वर्षसम्म विवाह हुने गरेको छ । अधिकांश किशोरीले १३ वर्षदेखि नै बच्चा जन्माउन सुरु गर्छन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा पर्ने साबिकका काँकडा, भार्ता, सरिखेत, कालिकाटार, खैराङ, डाँडाखर्कलगायत गाविसहरूमा बालविवाह प्रथा कायमै छ ।

कानुनले तोकेको निश्चित उमेर नपुग्दै र कुनै एउटा किशोर वा किशोरी शारीरिक, मानसिक वा भावनात्मक रूपले विवाह गर्न योग्य नहुँदै गरिने विवाह नै बालविवाह हो । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिले गर्ने महत्त्वपूर्ण निर्णय र नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणबाट आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्र तय गर्ने हरेक नागरिकको हकअधिकार सुनिश्चित रहेको छ । यसका लागि प्राय: सबै मुलुकले विवाहका लागि न्यूनतम उमेर तोकेका हुन्छन् । नेपाली समाजमा मात्र होइन, बालविवाह दक्षिण एसियाली मुलुकमा पनि व्याप्त छ । विभिन्न अध्ययनले देखाएअनुसार बंगलादेश र भारतपछि बालविवाह हुने देशमा नेपाल पर्दछ ।

आ–आफ्ना मुलुकले विवाह गर्न योग्य उमेर भनेर कानुनी रूपमा तोकेका हुन्छन् । नेपालको मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ भने २० वर्ष नपुगी गरिएका यस्ता विवाह स्वत: खारेज हुने व्यवस्था गरेको छ । यति हुँदाहुँदै पनि मकवानपुरको एउटै विद्यालयबाट चालु शैक्षिक सत्रको १० महिनामा १३ जना किशोर/किशोरीको विवाह भएको छ ।‘उमेर नपुगीकन विवाह गर्नु हुँदैन भनेर अभिभावकलाई सम्झाउँदा पनि लुकीलुकी विवाह गराउँछन्,’ राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘अशिक्षाका कारण चेपाङ समुदायमा बालविवाह प्रथा अझै कायमै छ ।’

‘छोराको चाँडै विवाह गर्‍यो भने बुहारीको काम खान पाइने र छोरालाई मजदुरी गराउन अन्यत्र पठाउन पाउने भएकाले चाँडै विवाह गर्ने गरिएको हो,’ कैलाश गाउँपालिका ४ का ५५ वर्षीय सन्नतराम चेपाङले भने, ‘घर नजिकको केटा उम्केला भनेर छोरीको चाँडै बिहे गर्ने चलन छ ।’ ४/५ कक्षामा पढ्दापढ्दै विवाह गर्ने चलन यहाँ व्याप्त छ,’ खैराङस्थित अठारे माविका प्रअ दीपेन्द्र झाले भने, चेपाङ समुदायमा बालविवाह गर्ने पुरानैरफ्तार छ, नियन्त्रण हुन सकेको छैन । विवाह गरेपछि उनीहरू पढ्न स्कुल आउँदैनन् ।’२० वर्ष नपुगी विवाह गर्नुहुँदैन भन्ने कानुनबारे चेपाङ समुदायलाई जानकारी पनि छैन ।

मकवानपुरका स्थानीय तहले बालविवाह प्रथालाई पूर्णरूपमा विस्थापित गर्ने योजना बनाएका छन् तर प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकेका छैनन् । ‘बालविवाहलाई आफ्नो गाउँपालिकामा निषेध गर्ने निर्णय गरिएको छ,’ कैलाश गापाका अध्यक्ष टंक मोक्तानले भने, ‘प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन सकिएको छैन, प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन प्रयत्न भइरहेको छ ।’

सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । तर प्रदेश ३ को सरकारले आफ्नो प्रदेशबाट तीन वर्षभित्र अर्थात् २०७८ सालसम्म बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश सरकारको नीतिलाई पछ्याउँदै यहाँका स्थानीय तहले बालविवाहविरुद्ध कार्यक्रम ल्याएका छन् ।

‘प्रदेश ३ लाई तीन वर्षभित्र बालविवाह मुक्त प्रदेशका रूपमा परिणत गरिछाड्ने छांै,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘बालविवाह प्रदेश ३ का निम्ति लज्जाको विषय हो ।’ प्रदेश सरकारले बालविवाह अन्त्य गर्ने नीति लिएको छ । बालविवाहको प्रवृत्ति अहिले बदलिएको छ । अहिले मोबाइलका कारण किशोर/किशोरीले भागी विवाह गर्न थालेका छन् । यसैले बालविवाह गर्ने महिला र उनीबाट जन्मने सन्तान थप जोखिममा पर्ने गरेका छन् । अधिकांश बालविवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेका छन् ।

‘बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ,’ केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले भने, बालविवाह अन्त्य गर्ने प्रदेश ३ सरकारले गरेको अठोटलाई सबैले सहयोग गर्नुपर्छ ।’बालविवाह विशेषगरी परम्परागत चिन्तन, अशिक्षा, गरिबी र धार्मिक कारणले हुने गरेको छ ।

बालविवाहलाई नियन्त्रण गर्न कानुन निर्माण भएको छ तर प्रभावकारी ढंगले कार्यान्वयन नभएकाले बालविवाह नियन्त्रण हुन नसकेको जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताए । स्थानीय तहका जनप्रतिनिधि र स्थानीय क्षेत्रमा रहेका प्रहरीहरूले बालविवाह गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने भरपूर प्रयास गर्नुपर्छ उनले भने । प्रदेश ३ का १३ वटा जिल्लामध्ये सबैभन्दा बढी बालविवाह नुवाकोट जिल्लामा ६२ दशमलव ५८ प्रतिशत रहेको छ भने धादिङमा ६२ दशमलव ९ प्रतिशत र सिन्धुलीमा ६२ दशमलव ५ प्रतिशतले हुने गरेको छ ।

यसैगरी सिन्धुपाल्चोकमा ६० दशमलव ९२ प्रतिशत र मकवानपुरमा ५९ दशमलव ७ प्रतिशत बालविवाह हुने गरेको प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस प्रदेशमा सबैभन्दा कम बालविवाह काठमाडौं जिल्लामा ३९ दशमलव ११ प्रतिशत हुने गरेको छ । आदिवासी जनजातिको बाहुल्य रहेको क्षेत्रमा बालविवाह हुने गरेको छ । बालविवाह परम्परागत रूपमा चल्दै आएको हानिकारक अभ्यास र दासताको एउटा स्वरूप पनि हो ।

बालविवाहले बालिकाहरूको आधारभूत मानव अधिकार र उनीहरूको स्वतन्त्रतामा बन्देज लगाउने गरेको बालबालिका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सिविन हेल्पलाइनका प्रमुख झविन्द्र ज्ञवालीले बताए ।

१९१० सालको मुलुकी ऐनमा विवाहका लागि कन्याको न्यूनतम उमेर पाँच वर्ष तोकिएको थियो । समयको परिवर्तनसँगै २०२० सालको मुलुकी ऐनले अभिभावकको अनुमतिमा महिलाको १८ र पुरुषको २० वर्ष कायम गरिएकोमा केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन, २०७२ ले २० वर्ष नपुगी बिहेबारी गर्न रोक लगाएको थियो । यसैगरी मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ भने २० वर्ष नपुगी गरिएका यस्ता विवाह स्वत: खारेज हुने व्यवस्था गरेको छ ।

प्रकाशित : माघ २६, २०७५ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT